द्वारहरूको मुण्डमाला
अब दृश्य भएर आएका छन्
सडकमा भीर खसेको जस्तो लाग्छ
त्यसैले
भीडसँग भेट नहोस् भनेर
गल्लीतिर पसेको नेताको नियति
वास्तविक दृश्यहरू बनेर झल्किरहेका छन्
किञ्चित निराश भएर सोचँे
किन लस्कर बन्दैन भीड
किन मञ्च नबन्दै भत्कन्छ भीड
कहाँ कसको बर्कतले
यो असार दृश्य देखिएको हो ?
हार्न नसक्ने
मान्छेहरूले हार लगाएका छन्
हारिसकेकाहरूले कुर्चा खाएका छन्
जो हारिरहेका र हराइरहेका मान्छन्
ती सबै
हिजोको गीत गाएर ब्यूँझिएका छन्
हार लगाएर हाँसिरहेका
तिनीहरूले
मुण्डमाला पो पहिरिरहेको
अँगूलीमाललाई पनि
माथ गरेका पो रहेछन् ।
नेपाल साप्ताहिक
अंक १६९
