हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँछ भन्छन् पुरुषलाई । ठ्याक्कै दुई वर्षसम्मको प्रेम–चक्करपछि उनीहरूबीच निकट भविष्यमै बिवाह हुने कुरा पक्कापक्की भयो । कर्ताद्धय पुरुष र स्त्रीबाहेक अरु साक्षी कोही थिएनन्–मात्र प्रकृति ।
पुरुष हतारियो । स्त्रीले मौन स्वीकार गरी । उनीहरूबीच गोप्य कार्य भयो–सार्वजनिक स्वीकृतिपूर्व नै र यो कार्यको पनि साक्षी–प्रमाण हुने कुरै भएन–केवल नबोल्ने टहटह जून मात्र ।
अब हतारिने पालो स्त्रीको आयो । पुरुष भन्थ्यो: धैर्य गर । क्रमश: टाढा,टाढा हुदै गएर भेटघाट र बोलचाल नै बन्द भयो । नीलिमाले जिल्ला अदालतमा मुद्दा दायर गरी : “उमेशले मलाई बलात्कार गर्यो ।” धरती स्वयम् बोलेपछि साक्षी–प्रमाणको के आवश्यकता ? नीलिमाकै पक्षमा फैसला भयो ।
उमेशले इन्कार गर्दै क्षेत्रीय अदालतमा पुनरावेदन दियो । पुनरावेदन अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो । फेरि एकपटक जिती नीलिमाले र हार्यो उमेशले ।
सर्वोच्च अदालतको फैसलाको एकदिनपूर्व रातभरि निदाएन उमेश । घोर निराशामा सिङ्गै रात बितायो उसले । भोलिपल्ट बिहानै उठेर एकजना ख्यातनामा वकिलकोमा पुग्यो उमेश र आफ्नो मुद्दाको बेलीबिस्तार लगायो । उमेशको सबै कुरा सुनिसकेर कालो कोटभित्रको वकिलले उसलाई सुझ्यायो: ‘आज अदालतमा न्यायाधीशले जतिपटक जे–जे कुरा सोधे पनि चुपचाप बस्नू, एकशब्द पनि नबोल्नू ।’
अदालतमा बहस र सुनुवाइ सुरु भयो । ‘यसले मलाई बलात्कार गरेकै हो’ : पटक–पटक चिच्याउँदै नीलिमा बकिरही । ‘हो त उमेश ! के नीलिमाको कुरा सही हो ?’ पटक–पटक न्यायधीशले सोधिरहँदा पनि उमेश भने मूर्तिवत् चुपचाप रह्यो । ढुङ्गा बरु बोल्ला, उमेशले मुख खोलेन ।
उमेशको सल्लाहकार वकिलले धक फुकाएर हात हल्लाउँदै बहस गर्यो : ‘बलात्कारको समयमा नीलिमाले चिच्याएर कराएको आवाजले दुवै कान बन्द भएर उमेश बहिरो भयो, श्रीमान् ! आज हजुरको सोधनीलाई उमेशले सुन्नै सकेन र निरुत्तर भयो ।’
डराएकी नीलिमाले तुरुन्त प्रतिवाद गरी : ‘गलत श्रीमान् ! वकिल साहेवको कुरा सरासर झूटो हो । त्यो बेलामा चुपचाप थिएँ म, एक शब्द पनि बोलिन अनि कसरी मैले उसलाई बहिरो बनाएँ ?’
‘त्यसो भए उमेशले बलात्कार गरेको ठहर्दैन श्रीमान् ! के बिना प्रतिकारको यौनसम्पर्कलाई हाम्रो कानुनले बलात्कार भन्छ र ? विपक्षीकै बकाइका आधारमा यो मुद्दाको फैसला उमेशको पक्षमा हुनु पर्छ श्रीमान् !’
वकिलको ठोकुवा वकालत सुनिसकेपछि न्यायाधीशले फैसला सुनायो : ‘‘यो मुद्दामा उमेशले नीलिमालाई बलात्कार गरेको ठहर्दैन । त्यसैले जिल्ला र क्षेत्रीय अदालतको पूर्व फैसला आजका मितिबाट सर्वोच्चको इजलासबाट बदर !’’
कृष्णगर्त,खोटाङ
मो.नं. ९७५३००४३६०

रामविक्रम थापा सरको बलात्कार
नमस्कार !
अदालती कुरो र बलात्कार रोचक हुन्छनै, झन हजुर लेखकको कथा पस्काई स्वाट्टै पार्न मिल्ने खाल्को – मिठो ।
सर्वोच्च सम्म पुगेको कुरो चैं अलिक कसो कसो भो… मुलुकि ऐन हेरुँ भने जंगेको मात्रै छ – अब, नयाँमा पक्कै हेर्छु करणी च्याप्टर ।
गतिलो कथा पढ्ने मौका मिलेकोमा धन्यबाद !
शुभकामना !