Skip to content

“प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।” बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफँैले आफैँलाई राहत दिनु र उद्धार पुर्‍याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्‍यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेर िमेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।

उसलाई अब कहाँ जाने र के खाने भन्ने सवाल त्यति ठूलो थिएन । उसले अमेरकिालाई राम्रैसँग चिनेको थियो । धेरै नेपाली साथीहरू पनि बनाइसकेको थियो । केही अमेरकिीहरू पनि चिनिसकेको थियो तर मेरीजस्तो व्यावहारकि र माया गर्ने साथी उसले भेट्न सकेको थिएन । यद्यपि, उसले सुरुमा ग्रीनकार्ड प्राप्त गर्ने लालसाले मेरीसँग दुईवर्षे ‘कन्ट्याक्ट म्यारजि’ गरेको थियो । तर, जब ऊ मेरीको घरमा बस्न थाल्यो, उसले सबै सम्झौताहरू भुलेर मेरीलाई साँच्चिकै माया गर्न थालेको थियो । उसले मेरीलाई एउटा श्रीमान्ले दिने सम्पूर्ण माया दियो, गर्नुपर्ने सबै सहयोग गर्‍यो । उसले सोच्यो मान्छेमान्छेबीच मायाको विषयमा सम्झौता कसरी हुनसक्छ ? यत्रो समय एउटैजस्तो भएर बसेकी मेरीले उसलाई अचानक डिभोर्स गरी चटक्कै बिर्सन सक्लिन् ? के मेरीलाई उसको माया नलाग्ला ? घरमा पालेको कुकुरलाई त यति धेरै माया गर्ने स्वास्नीमान्छेले उसलाई माया नगर्ने त कुरै आउँदैन । जे भए पनि यो दुई वर्षमा मेरीसँग उसले धेरै दुःखसुख साटेको छ । धेरै सम्झनाहरू सँगालेको छ ।

यति कोमल र मायालु मेरीले उसलाई घरबाट निस्कने आग्रह कसरी गर्न सकिन् ? आजसम्म मेरीले उसलाई गरेको माया मात्र सम्झौता थियो या मेरीको मनबाटै निस्केको थियो ? यी प्रश्नले उसलाई काममा जान पनि मन लागेन । ऊ दिनभर घरमा नै बसेर झोक्राइरह्यो । के गरुँ, कसो गरुँ भयो । मनमा अनेकौँ तर्कनाहरू खेल्न थाल्यो । के मेरी पनि एक्लै खुसी रहन सक्लिन् ? के मेरीलाई उसको याद कहिल्यै नआउला ?

उसले दिनभर केही खाएन, साँझ मेरीले उसलाई मनपर्ने केक लिएर आइन् । कामबाट र्फकंदा मेरीले सधैँजसो यसरी नै उसलाई मनपर्ने केक ल्याउन भुल्दिनथिन् । उसले पनि मेरीलाई मनपर्ने पिजा या बर्गर बोकेर ल्याएकै हुन्थ्यो । तर, आज मेरीले स्नेहपूर्वक ल्याएको केक उसले खुसीखुसी खान सकेन । चुपचाप मेरीको अनुहार हेरेर टोलाइरह्यो । मेरी डाइनिङ्मा केक राखी कोठातर्फ लागिन् ।

मेरी कोठबाट लुगा फेरी तल झर्दा पनि ऊ जहाँको तहीँ यथावत् बसिरहेको देखेर मेरी जिल्ल परनि् ।

“मेरी ! के तिमीलाई मेरो माया लाग्छ ?” उसले हठात् मेरीलाई प्रश्न गर्‍यो ।

“लाग्छ नि, किन नलाग्नु ?” उनले सहजै उत्तर दिइन् ।

“उसोभए तिमीले बिहान भनेको डिभोर्सको कुरा सत्य हो ?”

“हो, त्यो सत्य हो ।”

“मेरी ! माया गर्ने मान्छेसँग पनि डिभोर्स गरन्िछ र ?” उसले आश्चर्यमिश्रति प्रश्न गर्‍यो ।

“प्रभात ! जीवन नै एउटा सम्झौता हो । तिम्रो र मेरो दुई वर्षका लागि मात्र सम्झौता विवाह भएको हो । जहाँसम्म मलाई लाग्छ, यी दुई वर्षमा मैले तिमीलाई एउटी श्रीमतीले दिने हर सुख दिने प्रयत्न गरेँ । तिमीप्रति र सम्झौताप्रति इमानदार रहेँ र तिमीलाई माया गरेँ । आफूले गरेको सम्झौताप्रति इमानदार हुनुपर्छ प्रभात ।” लाग्थ्यो मेरीलाई प्रभातको प्रश्नले खासै प्रभाव पारेको छैन ।

“मेरी यदि तिमी मलाई साँच्चै माया गर्छौ भने यस सम्झौतालाई जीवनभरका लागि लम्ब्याउन सकिन्न र ? माया गर्ने मान्छेलाई सम्झौताको समयसीमाले के फरक पर्छ र ! मेरी म तिमीसँग बस्न चाहन्छु र तिमीसँगै जीवन बिताउन चाहन्छु । उसले अनुनय नै गर्‍यो ।

मेरी एकैछिन किंकर्तव्यविमूढ बनिन् । र, विस्तारै उसलाई सम्झाउने प्रयत्न गरनि् ।

“प्रभात ! तिमी मेरो छैटौँ पति हौ ! तिमीलाई लाग्ला यस उमेरमा नै यो कसरी भयो । हेर ! जीवनमा कति पुरुषलाई मैले चाहँदाचाहँदै छाड्नुपर्‍यो भने कतिले मैले चाहँदाचाहँदै छाडिदिए । जीवनमा यस्ता तीतामीठा कुराहरू भइरहन्छन् । अब म एउटै पुरुषसँग खुम्चिएर जीवन बिताउनै चाहन्न । यद्यपि, तिमीसँग जस्तो न्यानो र आत्मीय सम्बन्ध अरूसँग रहेन । जीवनमा जति पुरुषहरू भोगेँ, सायद मनबाटै माया गर्ने तिमी नै हौ भन्ने लाग्छ मलाई । जुन कुराले मलाई सधैँ रोमाञ्चित गराइरहेनछ र तिम्रो सम्झना दिलाइरहनेछ । तर पनि तिमीले मलाई बुझ्ने प्रयत्न गर ।”

उसले नेपालीपनमै सोध्यो, “तिमीले मलाई मन पराउने भए मसँगको जीवनलाई निरन्तरता दिनमा तिमीलाई के आपत्ति हुन्छ ?”

“प्रभात मन पराउनु र जीवन बिताउनु फरकफरक कुराहरू हुन् । हरेक मनपरेको मान्छेसँग जीवन बिताउन पाइन्छ भन्ने छैन । मैले पनि आफूले चाहेको मान्छेसँग जीवन बिताउन कहाँ पाएँ र ?” उनी भन्दै गइन्, “जीवनमा आफूलाई जे प्राप्त हुन्छ, त्यसैमा रमाउने प्रयत्न गर्ने मान्छे नै जीवनमा खुसी रहन सक्छ बुझ्यौ ?” र, उठेर आफ्नो कोठातिर लागिन् ।

ऊ मेरीको कुरासँग सहमत हुन सकेन, झनै आन्दोलित भयो । विवाह पो नक्कली थियो तर माया त सक्कली नै थियो नि ! मेरी नै उसको प्रथम रोजाइ हो । अब ऊ मेरीसँग छुट्टएिर बस्नै नसक्ने भइसक्यो ।

उसले मेरीसँगको सुरुका दिनहरू सम्झ्यो । वास्तवमा ऊ मेरीकै कारण क्वीन्स आएको थियो । अमेरकिाको ४५ दिने भिजिट भिसा सकिन लागेकाले अमेरकिा बस्ने उपाय खोजी गर्ने क्रममा उसको मेरीसँग भेट भएको थियो । त्यतिखेर मेरीसँग कागजी विवाह गर्नु नै उसका लागि एक मात्र विकल्प थियो । विवाहपश्चात् मेरीले नै उसलाई सँगै बस्ने अफर गरेकीले मेरीसँग ऊ क्वीन्समा बस्न आएको हो । सुरुसुरुमा मेरीसँग बस्न उसलाई केही अप्ठ्यारो पनि लागेको थियो तर पछि मेरीको सरल व्यवहारले मेरीसँगको सम्बन्ध सहज बन्दै गयो । उसले कसरी अमेरकिामा स्थायी रूपमा बस्न सकिन्छ भन्ने कुराभन्दा अरू केही सोच्दै सोचेन । मेरीसँग बस्न थालेपछि पनि उसलाई मेरीसँग कुनै चासो थिएन । कागजपत्र मिलेपछि मेरीलाई छाड्ने र अर्कै विवाह गरी आनन्दसँग जीवन बिताउने सुरमा थियो ऊ । तर, समयसँगै मेरीसँगको सहकार्यले उसलाई विस्तारैविस्तारै मेरीको नजिक बनाउँदै लग्यो र यहाँसम्म आइपुग्दा ऊ लगभग मेरीप्रति निर्भर हुन थाल्यो । उसको जीवनमा सबै कुराहरूभन्दा मेरी महत्त्वपूर्ण हुनपुगिन् ।

यतिखेर यसको आँखामा एकाएक मेरीको घर छाड्दाको दृश्य नाच्यो । उसलाई आकाश खसेजस्तै, जमिन भासिएजस्तै भयो । मेरीसँग उसले कल्पना गरेको स्वणिर्म भविष्यको विम्ब तासको घरजस्तै ढल्यो । बाढीले बगाएको घरको छानोजस्तै आफ्नो सपना पानीमा तैरएिको देख्यो । टाढाटाढासम्म जीवनको किनारा खोज्यो तर भेटेन ।

ऊ मेरीको कोठातर्फ पस्यो । ढोकामा पुगेर उसले विस्तारै चिहायो । मेरी टेबुलमा बसेर केही लेख्दै थिइन् । उसको आगमनले मेरी कलम बिसाएर ऊतर्फ फर्किन् । उसले एकोहोरो मेरीको अनुहारमा हेररिह्यो ।

“प्रभात ! म देखिरहेकी छु, बिहानदेखि तिमी तनावग्रस्त छौ । तिमी सामान्य बन्ने प्रयास गर, जीवन भनेकै कसैसँग मिल्नु अनि छुट्टनिु हो, यसलाई तिमीले यति ठूलो रूपमा लिनु हुँदैन ।” मेरीले फेर िउसलाई सम्झाउने प्रयास गरनि् । तर, यसले उसको छातीमा एउटा ठूलो ढुङ्गाले थिचेजस्तो भयो ।

“मेरी हामी नेपालीहरू जीवनमा एकपटक बिहे गर्छौं र उसैसँग जीवन बिताउँछौँ र बुढेसकालमा एकअर्काका सहारा बन्छौँ । त्यसैले म पनि तिमीलाई जीवनको अन्तिम घडीसम्म साथ दिन चाहन्छु ! तिम्रो सहारा बन्न चाहन्छु ।”

मेरी उसको मन दुखाउन चाहन्नथिन् तर उसको प्रस्ताव स्वीकार्य थिएन । हो, उनी उसलाई माया गर्छिन् तर एउटा व्यक्तिसँग नानीहरू हुर्काउँदै आमजिन्दगी जीउने रहर बिलकुलै छैन । त्यसैले उसलाई अन्तिमपटक सम्झाउने प्रयासस्वरूप विस्तारै बोलिन् मेरी, “प्रभात ! जीवनको कुनै भरोसा छैन । हाम्रो देशमा बूढो भएपछि सरकारले हेर्छ । बूढाबूढी भएपछि एकअर्काको सहारा होइन, बोझ बन्नुपर्छ । यही हाम्रो संस्कृति पनि हो । त्यसैले म एक्लै बाँच्ने प्रयास गर्न चाहन्छु ।”

र, मेरीले टेबुलमा रहेको कागज उसको हातमा राखिदिइन् । उसले कागज हेर्‍यो, जहाँ उसको नाम र उसले त्यहाँ बस्दाखेर िकिनेका सामानको लामो लिस्ट थियो ।

ऊ फेर िअवाक् मेरीको अनुहारमा हेरहि्यो । उसलाई मेरीसँग कुनै दिन उसले यसरी छुट्टनिुपर्नेछ भन्ने यादै रहेन । उसले यी सामानहरूलाई आफ्नो हो भनेर कहिल्यै सोचेन । उसलाई बल्ल थाहा भयो अमेरकिामा मान्छेहरू आफ्ना लागि बाँच्दारहेछन् । छातीको बायाँ कुना दुखेर आयो । उसले घर सम्झ्यो । बाबुआमाको लामो साथ सम्झ्यो । अनि, एकाएक अमेरकिाका हरेक चीजप्रति घृणा लाग्न थाल्यो । मेरीप्रति वितृष्णा जाग्न थाल्यो ।

उसले फेर िआफ्नी आमालाई सम्झ्यो । बुबा, दाजु, बहिनी सबैलाई सम्झ्यो, जहाँ कुनै तेरो र मेरो छैन । केवल हाम्रो घर, हाम्रो परविार, जताततै हाम्रोभन्दा केही देखेन । अनायासै उसलाई मेरी, क्वीन्स र अमेरकिाप्रति मोहभङ्ग भयो । ऊ जुरुक्क उठेर स्टडी रूममा पस्यो र एउटा हातेझोला बोकेर निस्कियो । अनि, मेरीका सामु एउटा चिर्कटो राखेर बाईसम्म नभनी निस्क्यो । मेरी अवाक् ऊ गएको बाटोतर्फ हेररिहिन् र लामो निश्वास छाड्दै चिर्कटो पढ्न थालिन् ।

“पि्रय मेरी !

तिम्रो अमेरकिा तिमीलाई बधाई छ । मैले तिम्रो र मेरो भावनाको सिमाना मेट्न सकिनँ, जति नै आफ्नो ठाने पनि म तिम्रो र अमेरकिाको हुन सकिनँ । मलाई क्षमा गर ! – प्रभात ।”

अनायासै मेरीका आँखाबाट आँसु तप्प चुहियो ।

नेपाल साप्ताहिक
अंक २६५

1 thought on “गुडबाई मेरी”

  1. Hi Friend RAju BAbu
    Hi Friend RAju BAbu Shreshta.
    I am fien and hope so you are. I have a great chance to read your article that has impressed me to write some thing on literature. When I starts to write, I recall the sad demises of great writer, Laxmi Prasad Devkota, We find them died in critical condition. They start with bang and end their lives with gloomy mood.
    I know you are not in that condition.You are great and strong possition in this matter.You have strong possition.
    Your writng mostly concentrate only on reality some times it would look sound on imagination.
    Hope you will have successeed in the future.
    your

    krishna Rajbhandari
    krishnaraj67@gmail.com
    krishnaraj_67@hotmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *