Skip to content

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सब कतार-२०११ मेरो नजरमा

  • by


चलचित्र भन्नाले मेरो बुझाइमा एउटा समय बर्बाद गर्ने खेल हो जहाँ केही पात्रहरू विभिन्न बहानामा नखरा पार्छन, मनोरन्जनको नाममा मुर्ख दर्शकलाई लुट्छन, संदेश मुलक र चेतना मुलक चलचित्रको नाममा विसंगति र अस्लिलाता देखाउछन । किनकि मैले १२, १५ वर्षसम्म हेरेको चलचित्रबाट त्यही सिकेको थिएँ र पाएको थिएँ र अझै पनि नेपाली चलचित्र त्योभन्दा माथि उठ्न सकेको छ जस्तो मलाई लाग्दैन पनि । तर यहाँनिर बडो गजबको कुरा र गर्वको कुरा मैले के पाएँ भने आदिवासी चलचित्र कुनै पनि बिदेशी चलचित्रभन्दा मैले कमको पाँईन । जुन मैले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सब कतार-२०११ बाट थाहा पाएँ । केही समय अघिसम्म साथीहरूको आग्रहलाई सिधै इन्कार गर्दै आफूलाई चलचित्र उति रुची नभएको बिषय हो भन्दै आएका थिएँ । तर अन्तमा जानै पर्ने बाध्यता पर्न आयो । एकदुई जना साथीको आग्रहलाई मैले इन्कार गर्नु उचित लागेन । त्यसो त महिनाको अन्तिम अवस्थामा हुनाले गोजीमा दामको खोजीमा घुन दौडिँदैको अवस्था पनि थियो । किनकि चलचित्र हेर्नका निम्ति एउटा टिकट बराबर ५० रियल (नेपाली १ हजार) चाहिन्थ्यो । त्यसो त ५० रियल जोहो गर्न नसक्ने मान्छे त म कहाँ हुँ र ? पहिल्यै देखि चलचित्र हेर्ने मनस्थिति नभए पछी सबै पैसो खर्च गरी भ्याइसकेको थिएँ । हुन त यसो साथि भाइलाई मागेको खण्डमा अफ्ठ्यारो पर्दा जसले पनि पत्याउनु त हुन्थ्यौ नै त्यसैले एक जना भाइलाई प्याच्च सोधी हाले ए भाई पैसो कति छ ? पैसो धेरै फोनमा खर्च हुनी पिरमा रन्थनेका भाईले मलाई तुरुन्त जवाफ दिई हाल्यो लु न हौ दाइ पैसा खतम भो झ्यामपुतलीलाई फोन गर्दा गर्दा .५०० बाँकी छ विस्वासिलो तपाई नै हो राखिदिनु पर्यो रे । के खोछेस कानो ?-आँखा भने झैं मैले नि हुन्छ नि हौ भाइ लु लेउ भनि गोजीमा हालें अनि रात भरिको निद्लाई मरुभूमिको घाममा सुकाएर लागे दोहा तिर जहाँ नेपाली आदिवासी चलचित्र महोत्वसब हुँदै थियो ।

एकैदिनमा ६ वटा जतिको चलचित्र हेर्नु थियो । घण्टौंसम्म तातो घाममा चिउडोको पसिना पुछ्दै रोडमा उभिँदै गाडी कुर्नु कतारको बिशेषता नै हो । लगभग ४० मिनेट जति कुरें न त बस आयो न त ट्याक्सी नै आयो । एउटा दुइटा गुड्ने निजि बंगाली र पठानेको ट्याक्सीवाला पनि गर्मीको फाइदा उठाउदै चाहिने भन्दा दोबर तेब्बर भाडा भन्दै आउने जाने गर्दा रहेछन् । गर्मि अति भए पछी एउटा ट्याक्सी समातेर लागे गन्तब्य आखिर गोजीमा छदैं थियो ५०० ड्राईभरले जति भन्छ त्यति नै तिर्नलाई । बल्ल बल्ल २० रियालमा कुरा मिल्यो भाडा र पुगें । गन्तब्य चलचित्र हल भएतापनि नेपालको जस्तै बाहिरी चहल पहल नहुदा एक छिन अन्योलमा परें । साथी रोशनलाई कल गरे नजिकै पुगेछु । सबै भित्र छिरी सकेका कारण एक्लै अलि मज्जा लागेन । श्यामजीलाई आफू आइपुगेको जानकारी गराएँ। उहाँ लिन आउनु भो अनि भेटे रोशन र मिलन जीलाई पनि उहाँहरू स्वयंसेवक हुनुभएकोले अलि ब्यस्त देखिनुहुन्थ्यो । त्यसैले श्यामजी र म लाग्यौं हल भित्र जहाँ लिम्बु चलचित्र शुरु भैसकेको थियो । प्राबिधिकरुपमा अलि खल्लो लागे पनि लिम्बु जातिको कला सस्कृति र परम्परा अनि रितिरिवाज लगायत सुन्दर काठको घरले मन लोभ्याउनसम्म लोभ्यायो । बाउ आमाको खुसीले हुर्की बढेका चेलीलाई बिहे गरी पठाउँदाको परिणाम के कस्तासम्म हुँदो रहेछ भन्ने देखाएका छन साथै आमा बुवाको जबर्जस्तीले एउटा जड्याँहालाई छोरी दिंदा, छोरी अर्कैसँग भाग्दाको क्षण, त्यो जड्याँहाले ससुरालीलाई सुकुम्बासी बनाई उठिबास गर्दाको त्यो दृष्यले कटक्क मुटु दुख्छ । त्यस्तै थारुजातिका चलचित्र ब्रुहान पनि आफ्नै मौलिकता झल्किनी खालको छ । जहाँ बिमारी पर्दा, मर्दा र बिबाह लगायत आफ्नो कला सस्कृति र परम्परा देखाउन खोजेका छन् साथै कुनै एकजना खस जमिन्दारको छल कपटका कारण सबै थारुहरू भूमिहिन हुँदै उठिबास भएको दुखद दृश्यलाई देखाएका छन् । त्यसै गरी गरिबीको चरम अवस्थामा दुख कष्टसँग मुकाबिला गर्दा गर्दै एक जोडी राईले ज्यान फाल्नु पर्दाको पीडा सहिसक्नुको छैन । राइ चलचित्र सिम्मामा एक दुइ पैसाको लागि खोटांग धारण गर्ने ती राइको मृत्यु पछी दुइ नाबालकको बिहालले छाती भासिन्छ ।

त्यसै गरी बाचा बन्धन पुरा गर्न कै निम्ति घर देश छाडेर प्रदेश लागेका लाहुरेको पर्खाइमा बसेकी ती मगर्नी चेलीको कथा व्यथा पनि कम्ताको त होइन । मगर चलचित्र आशेमा अन्य चलचित्रको समयमा मौन चपचाप दर्शकलाई यो मगर चलचित्रमा निकै ततायो, किनकि कथा बस्तु दुखद भए पनि बीच बिचमा कमेडी र गीत थियो । त्यस मध्ये दोश्रो अन्तिम तामांग चलचित्रले हल नै गुन्जायमान बनायो । प्राबिधिक र कथा बस्तुमा अलि कमि कमजोरी भएता पनि यो चलचित्र अरु चलचित्रको तुलनामा पृथक र प्रगतिसिल चलचित्र देखे मैले । चेतना मुलक फिलिम हुनाले फिलिमको सम्बादमा तालि पट्केको सुन्न पाइन्थ्यो पर.र..र..र..र अनि गीतमा उफ्री उफ्री दर्शक हरू नाचेको पनि देखें । मेरा साथि आदरणीय स्रस्टा सन्चु बोल्न (सकुला तामांग)को शब्दमा उनिएका गीतले शुरुदेखि फिल्मिको अन्त्यसम्म गुन्जिरहँदा उहाँलाई सम्झिरहन बाध्य तुल्याई रह्यो।

अशिक्षाको कारण र गरिबीको कारण भोग्दै आएका एक युबक गोठालोको कथा व्यथामा आधारित उक्त चलचित्रले तामांग जाति र उसको कला सस्कृति, रितिथिति देखाउन मात्रै खोजेको छैन, बिकृति र शोषक सामन्तीको बिरुद्दमा दरो आवाज उठाएकोछ । त्यसै गरी अन्तिम गुरुङ चलचित्रको पालोमा हाँसो र रुवाई बराबरी बनायो । सानी बालिकाले क्षणमा रुवाउने र क्षणमै हसाउँने गरिन्। गुरुङ जातिमा पनि अरु जातिमा झैं हुनी खाने र बाठोहरूले सोझा सिधा माथि गरिएका अन्याय र अत्याचारको बिषयमा दर्शाउन खोजेको छ । चलचित्र कृपामा केही लाहुरेहरूले दुइ पैसे महिलालाई दुइ जिउकी बनाए छाडी बोल्ने नसक्ने लाटो र सोझो गुरुङ लाई जबर्जस्ति भिडाईदिन्छन् र उक्त नानी (कृपा) जन्मे पछी चार महिना मै छाडेर श्रीसम्पती लिई अर्कैसंग पोईल जान्छिन् । अनि त्यो चार महिनाको बच्चीलाई हुर्काउन लाटोले मान्छेको दैलो दैलो कचौरा लिंदै दुध थापी हिडेको दृश्यले साँच्चै नै आमाहरूलाई प्रश्न गर्न मन लाग्छ, के आमाहरू यस्ता नि हुन्छन?त्यसै गरी एउटा अबला बिदुवा नारी माथि गाउँका जान्ने बुझ्ने झाँक्रीको आहारा हुन नमान्दा बोक्सीको आरोपमा, अनपढ सिधा गाउँका महिलाहरूलाई उचाली भुत्लाउँदै मलमुत्र समेत खुवाएको कारुणिक दृश्यले नारी कोमलता प्रति विश्वास भंग हुन्छ । किनकि नारीले आफै जस्ती नारीलाई त्यस्तो व्यवहार चलचित्रमा र वास्तविक जीवनमा पनि कतिपय ठाउँहरूमा त्यस्ता घटना भएको पाईन्छ। यी माथिका दृश्य हरू हेरी भ्याउँदा बाहिर साँझले आफ्नो साम्राज्य खडा गरिसकेको थियो। फिलिम पनि समाप्त भयो र सबै जम्मा भयौं । एकै ठाउमा तस्बिर लिनका निम्ति संघसंस्थाका पदाधिकारी लगायत आयोजक कमिटीका साथीहरू पनि, म नि पसे त्यो हुलमा अनि एकैछिन पछि रोशन जी र म बाहिर लाग्यौं । त्यसपछि लम्क्यौं दुइ चेलीलाई लि उहाँहरूलाई पुर्याउन । २० मिनेटको रफ्तार पछी चेलीहरू बासस्थल पुगें अनि हामी लाग्यौं बिहान देखिको भोकलाई हत्या गर्न त्यहाँ बाट निक्कै पर इन्डियनको होटेलमा कुखुराको साप्रा टोक्न । केही समयको खानपन संगै मरो ड्युटी समय हुने लागेका ले हामी त्यहाँ बाट लाग्यौं मेरो अफिसतिर र मलाई मेरो अफिस नजिकै छाडी आफ्नै गन्तब्य तिर रोशन जी जानु भो । पछी थाहा भयो उहाँ त्यो रात निक्कै ढिला पुग्नु भो रे आफ्नु बासस्थान, कारण म जस्तै अरु साथीहरूलाई सहयोग गर्नु पर्नाले हँसिलो चेहराका धनि रोशन जी सबैसँग मिल्न्ना सक्ने र सहयोगी भावनाको हुनुहुन्छ त्यसैले पनि उहा एकछिन आराम गर्न पाउनु हुन्न ।

अन्त्यमा: यो चलचित्र महोत्सब वास्तबमै एउटा सुबर्ण अवसर थियो राई, तामांग, लिम्बु, मगर र थारु जातिको बिषयमा जान्नका निम्ति म जस्तो युवा को निम्ति । म युवा वर्गलाई पनि यहि आग्रह गर्न चाहन्छु कि सबैले यस्तो चलचित्र हेर्ने गरौ र सबैले सबै जातिको कला, सस्कृति र परम्परा थाहा पाईराखौं । यी चलचित्रहरू अन्य चलचित्र भन्दा दश गुना राम्रो र मनोरञ्जन दिनुको साथै ज्ञानबर्दक, शिक्षामुलक चलचित्रहरू हुन्।

राजेश रुम्बा लामा “अतृप्त”
३१-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *