Skip to content

म जान्छु सुनौलाटार


म जान्छु सुनौलाटार
मेरो उमेरको बैस लिएर
होला नहोला सपना साकार
मर्नेछु मात्रै केही दिएर

एकजोर हलो काँधलाई साथी
ज्ञानको पुँजी छ शिरमाथि
यो शहर मेरो गर्दछ खिस्सी
चुनौती जित्छु म कम्मर कसी

निगालो बुन्छु, तरुल खन्छु
रेडियोसँगै म कोइली सुन्छु
न्याउलीलाई प्रेमजालले छोपी
कसम खुवाई नरुन है भन्छु

रातो छ सिम्रिक रातो छ चुरा
रातो छ रगत तिखो छ छुरा
आगोको भुंग्रो, माघको मैना
भत्भती पोल्छ तर मनको चैन

सिमाना कोरे कर्म है गर्न
पुर्खाले जोरेनन पछाडी सर्न
डाँडामा जन्मेर भिरमा हुर्के
सुबिधा खोजेर म व्यर्थै फुर्के

धमिलो छैन यो मेरो बिचार
त्यस्तै बनाउछु पवित्र आचार
न नाम न दाम मेरो चाहना
निस्काम कर्म, बाच्ने बहाना

म जान्छु सुनौलाटार
मेरो उमेरको बैस लिएर
होला नहोला सपना साकार
मर्नेछु मात्रै केही दिएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *