तिम्रो आँखामा पोखिएको सपनाजस्तो
मसँग केही छैन
जीवनको उमङ्ग ।
छन् त
खालि यी नीला सागर छन्
जसमा सल्बलाइरहेछन् अनेक दुःखहरु
यो विरही क्षितिज छ
र केही उदास गीतहरु
जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ ।
अब
दोहोरिने छैन कहिल्यै यो पृथ्वीमा
एउटा यस्तो सत्य
तिम्रो आँखाजस्तै सुन्दर
तिम्रो मुस्कानजस्तै शालीनता !
हिँडेर कहिल्यै नसकिने यी बाटाहरुजस्तै
देखेर कहिल्यै नसकिने यी सपनाहरुजस्तै
एक्लै मुस्कुराइरहेकी तिमी
थाहा छ तिमीलाई ।
तर,
जीवनजस्तै छली तिम्रो मुस्कान मलाई औधी मन पर्छ ।
नेपाल साप्ताहिक
अंक २६५
