Skip to content

बाबुकी आमालाई चिठ्ठी


बाबुकी आमा
ठेकीको पिधमा होला-अलिकति नूनको ढिका
अनिकाललाई साँचेको मकैको झुत्ता
रसिलो स्वाद हुने अमिलो सिङ्की
आगनको डिलमा फलेको गोलभेडा

टाढा नजानू
जसोतसो छाक टार्नू
बाबुको ख्याल राख्नू

बिदा मागेर कोरोनासँग
आउँदै छु म छिट्टै
मेरो पिर नगर्नु l

हामीसँग हार्यो –सार्स
हार्यो हामीसँग –बर्ड फ्लु
टुक्रा-टुक्रा भएर हराएकै हो –इबोला

कोभीड त के
तिम्रो र मेरो प्रेमको ताकतले
परास्त गर्नेछ-
प्रारव्धका सबै असाध्य रोगहरू
अस्तित्वका सबै दु:ख अनि पीडाहरू l

बस!
नआत्तिनू

त्यो माटोमा उर्जा हुन्छ –हिड्नू
घुट्क्याउनू –बुलबुल निस्केको त्यो मुलको पानी
हाँस्न नछोड्नु सधैं झैं-आकाश हेरेर
नबिर्सनू,
त्यही हो तागत भनेको-एक स्पर्श हावा
अगेनोलाई चुलो नबनाउनू l

बाबुकी आमा
मेरो खबर नखोज्नू

इटलीको रोम शहर
कोरोना हस्पिटलको २५ नम्बर बेडमा
तिमीलाई सम्झेर,
स्तुति गरिरहेछु पसुपतिनाथलाई
म छिट्टै आउनेछु
निको भएर l

– प्रभात रावत
कलंकी काठमाडौं
चैत्र १८, २०७६

2011-08-21 13:24:29 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *