भोटोको तुना चुस्दै
म र मेरा दौडन्थ्यौ
दुधे गोडाले खिल टेक्दै
कतै पंक्षी भुत्ला त खसेनन ?
भुत्ला त भेट्थ्यौ तर
चोक्टा कहिल्यै भेटेनौ
आमैका गाली मिश्रित ममता र
काँडा बिझेका दुखाइहरूमा
अल्झिन नपाउदै
काजि साहेबहरूका अट्टाहास र
पर उँडिरहेका धुँवाहरू माझ
सिस्नेघारी अन्तरे दाइलाई
रुन्चे आँखाहरू खोजिहाल्दथे
एउटा सम्मोहन
हरेक केटा केटी हृदयको
हो, सोह्र सत्रका ती हाम्रा अन्तरेदाइ
एउटा भोटो र कछाड अनि
अनि हातमा गुलेली,
कम्मरमा बाँसुरी
मैले कत्ति पटक याद गरेको
उनको अनुहारको त्यो दाग
अनि मरेको त्यो बाघ
र प्रत्यक शनिबारको रमझम
उही काजी साहेबहरूका अट्टाहास
र पर उडिरहेका धुँवाहरू माझ
उभिएका ती हाम्रा आदर्श
अनि अनि स्वार्थी अवाज
सिस्नेघारी अन्तरेको वाह! वाह!
सिस्नेघारी अन्तरेको वाह! वाह!
