शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा गाविस र विद्यालयको सिफारिश सहित छोराको नागरिकता बनाउन दुई दिनको बाटो हिँडेर ऊ सदरमुकामको कार्यालयमा पुग्यो-छोरो लिएर । आवश्यक कागजातहरू रुजु गरेर हाकिमले निवेदनमा तोक लगाए ।

त्यसै दिन काम बन्ने उज्यालो आशामा तोक-आदेशसहितको निवेदन बोकेर ऊ फाँटवालाको टेबुलमा पुग्यो । ओल्टाई-पल्टाई कागजहरू हेरेर फाँटवाला बोल्यो-‘तपाईको छोराको नागरिकता बनाउन कागज नै पुगेन, जानुस् वडासर्जमीन मुचुल्का बनाएर लिएर आउनुस् !’

सचिवलाई भेटेर पाँचजना मानिसहरूको रोहवरमा वडासर्जमीन मुचुल्का बनाएर छोरालाई डोर्याउँदै ऊ दोस्रोपटक सदरमुकाम पुगेर फाँटवालालाई बिन्ती बिसायो । सरसर्ती कागजहरू हेरेर फाँटवालाले आदेश दियो- ‘जानुस् स्थानीय प्रहरीचौकीमा गएर प्रहरी-मुचुल्का बनाएर ल्याउनुस् !’ खुइ—या गर्दै गाउँको प्रहरी चौकीमा पुगेर प्रहरी-मुचुल्का बनाएर उही फाँटवालाको टेबुलमा राखिदियो ।

‘अझै पुगेन तपाईको किटानी प्रमाणको कागजात !’

अमिलो मनको हतोत्साही अनुहारमा उसले दुबै हात जोड्यो- ‘अव कुन कागज पुगेन हजुर ?’ कागजातको बिटो ऊतिर फाल्दै फाँटवाला बम्कियो- ‘के पुगेन भन्ने कुरा अब तपाई आफैँ बुझ्नुस्’ मैले कति भन्ने ?

किंकर्तव्यविमूढ मनस्थितिमा कागज बोकेर छोरोसहित बाहिर निस्केको उसको कानैमा मुख राखेर एउटा लेखनदास नामको सूत्रधार बोल्यो- ‘अब बाँकी अन्तिम कागज तपाईको गोजी अथवा पर्समा छ । त्यहाँ पनि नभए तपाईको घरको बाकसमा त्यो कागज हुनु पर्दछ ।’

त्यस्तो अमूक कागजको भेउ पाउन उसले सकेन र छोरालाई लिएर त्यत्तिकै घर फर्क्यो ।

फाक्टाङ-२, खोटाङ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “कागजको भेउ”

  1. खुबै मन पर्यो
    रामविक्रम जी, लेख लघु कथा भन्दा पनि बास्तबिकता बोकेर प्रस्तुत भएछ खुबै मन पर्यो नेपाल मा यो प्राय जसो सबै गाउँले, बिकट ठाउं बाट सदरमुकाम धुने ले खेपेको कहानी पनि हो बधाई छ यहाँ लाई |

  2. कागजको भेउ – रामविक्रम थापा
    ‘साहित्य समाजको दर्पण हो ।’ यो तथ्यलाई एकदम सरल तथा सहज ढंगले प्रस्तुत गरिएको छ, यस कथामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *