२०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जीविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा राजाको शासन हटाउन भनेर लागेको पार्टी थियो त्यो । त्यो पार्टीले राजाको शासनकालमा १३ सिट ल्याएर सदनमा विजय प्राप्त गर्यो । रामलाई भने काठमाण्डौं उपत्यकाको इञ्चार्ज बनाइएको थियो । त्यत्ति बेला राम असनमा एउटा कोठा लिएर बसेको थियो । वालकैमा काठमाण्डौंमा हुर्केको हुनाले रामको जिम्मामा काठमाण्डौं उपत्यका थियो ।

जब २०५२ साल फागुण महिना आयो रामको पार्टीले आफ्नो १३ सिट लत्याएर सदनबाट राजतन्त्र नहट्ने ठहर गर्दै भूमिगत आन्दोलनको उद्घोष गर्‍यो । रामको पार्टीको अफिस सर्‍यो । यत्तिबेला राममा पार्टीप्रति धैरै जिम्मेवारी थियो त्यसैले रामले उक्त पसलबाटै पार्टीका क्रियाकलापहरू जारी राख्यो । प्रहरी, सैनिक कसैले पनि सुइँको सम्म पनि पाएनन् । पार्टीमा अलिअलि बेइमान कार्यकर्ता पनि देखा पर्न थाले त्यसैले गर्दा रामले आफ्नो पसल छोड्ने निर्णय गर्यो ।

पार्टीको गोप्यता राख्ने निर्णय बमोजिम रामले पार्टीमा लागेको कुरा आफ्नो परिवारको कुनैपनि सदस्यलाई बताएको थिएन । त्यसैले रामले आफ्नो पसल त्यत्ति नचलेकाले आफ्नो बुबासँग सल्लाह गरेर छोड्ने निर्णय गर्यो । रामले आफ्नो कोठालाई कालिमाटीमा सार्यो । राम एक्लैले भूमिगत रुपमा सहजतासँग काठमाण्डौं उपत्यकाको इञ्चार्जको कार्य गरिरहेको थियो ।

रामको परिवारमा दुई जना भाइ थिए दुई जना बहिनी थिए र आमा बुबा पनि हुनुहुन्थ्यो । काकाहरू भक्तपुरमा बसोबास गर्नुहुन्थ्यो हजुरबुबा वितिसक्नु भएको थियो भने हजुरआमासँगै काकाहरू बस्नुहुन्थ्यो । दशैमां नछुट्टिए पनि तिहारमा चाहिँ छुट्टिने भनेर रामको बुबा र काकाहरू बीच निधो भयो । तर रामको मष्तिष्कले यो स्वीकृति दिएन ऊ यो कुरा मिलाउन तिहारमा आफ्नो काकाहरू बसेको कुल घरमा गयो । वहाँहरूले दशैंमा मात्र आइज भनेर भन्नुहुन्थ्यो । रामलाई साह्रै नमज्जा लाग्थ्यो । रामसँग त्यत्तिबेला त्यत्ति आय श्रोत पनि थिएन त्यसैले ऊ चप्पल लगाएर लुरुलुरु १३ कि.मी. टाढा आफ्नो कोठामा फर्क्यो ।

पछि रामले एकदुई ठाउँमा सानोतिनो जागिर पनि खायो । एकातिर पार्टीका कार्यकर्ताहरूलाई राज्यले धमाधम बेपत्ता पार्दै मार्न थालिसकेको थियो । त्यसैले रामले पार्टीका कार्यकर्ताहरूलाई मोबाइल प्रयोग नगर्न आग्रह गरिरहन्थ्यो जुन पनि काम हुन्छ इमेल बाटै गर्न आग्रह गर्दथ्यो । पार्टीका क्रान्तिकारी लेखहरू लेख्ने कार्यकर्ताहरूलाई पनि छद्म नामबाट लेखहरू लेख्न र प्रकाशन गृहमा पारिश्रमिक लिन नजान सल्लाह दिइरहन्थ्यो । यसको बेवास्ता गर्ने एक हजार जति कार्यकर्ताहरूलाई शाही सैनिकहरूलै गोली हानी मारिसकेको थियो ।

कार्यकर्ताहरू मारिएकाले गर्दा रामको मनमा त्रास थियो तर जसरी भएपनि राजतन्त्र समाप्त पारी छाड्ने अठोट थियो राममा । राजाले आफ्नो परिवारहरू कानूनभन्दा माथि बसेर जनता लुटेर जनतालाई दुःख दिएकोले पनि रामले राजतन्त्र फाली छाड्ने अठोट लिएको थियो । रामले त्यसकारण मोबाइल प्रयोग गरेको थिएन । त्यसैले राम र रामको अनुसरण गर्नेहरू बचिरहे ।

क्रान्तिकारी लेखहरू पत्रिकाहरूमा बिश्वबन्धु नेपाली, आदर्शवादी पुरुष, क्रान्ति श्रेष्ठ जस्ता अनेकौं छद्म नाममा लेखहरू लेखेर देशमा राजतन्त्रको आवश्यकता छैन भनेर र्छलङ्ग पार्ने लेखहरू रामले लेखिरहेको थियो तर ऊ पारिश्रमिक लिन भनेर कहिल्यै पनि प्रकाशन गृहहरूमा गएन ।

एकदिन रामले भक्तपुरमा काकाहरूसँग भेट्न मनलागेको कुरा आफ्नो बुबासँग गर्यो तर रामको बुबाले रामको बुबा र रामको बुबाभन्दा ६महिना कान्छो अत्यन्तै मिल्ने रामको बुबाको कान्छो मामा मिलेर रामलाई भक्तपुरका काकाहरूले तिमीलाई हर्ैर्दैन भक्तपुरमा जाने बिचार गर्दै नगर भन्न थाल्नुभयो । जुन सल्लाह दिने रामको मामबाजे आफै आफ्नो दाजुसँग लडेर छुट्टिएर बस्नुभएको थियो । त्यस्तो छुल्याहा व्यक्तिको सल्लाह बमोजिम रामको दिमाग ठीक नभएको ठहर गरियो । रामलाई जेभन्दा पनि सम्झाउनै सकेनन् अनि उनीहरूले जबर्जस्ती रामलाई पागलखानामा भर्ना गर्ने भनेर लिएर गए ।

रामलाई पागलखाना लगेकोमा भक्तपुरको परिवार पनि दङ्ग थियो । कालिमाटीको परिवार पनि दङ्ग थियो । किनकि छुट्टिन पाइने भयो भनेर । रामलाई आफू पागल होइन भन्नेमा विश्वस्त थियो त्यसैले ऊ पागल खाना जान डराएन । तर पागलखानामा उसलाई मानसिक अस्पतालकाहरूले पागल ठहर गरे । पागलखानामा आफ्ना कार्यकर्ताहरूलाई जबर्जस्ती पागल बनाएर ल्याएको पनि उनले प्रत्यक्षै देखे ।

तर पनि ऊ दिनको एक पटक साइबरमा पुग्थ्यो नेटबाट आफ्नो पार्टी सञ्चालन गरिरहन्थ्यो । पार्टीका कार्यकर्ताहरूले रामलाई पागल बनाएर यातना दिएकोमा रामको भक्तपुरको र काठमाण्डौंको परिवारलाई हत्याकाण्ड गरेर सखाप पार्ने योजना बनाए । तर रामले मेरो दिमाग अलि ठीक छैन । बरु आफू पागल भएरै पार्टीको सेवागर्ने निधो गर्यो । राज्यपक्षले हतियारको राजनीति गरेपनि हाम्रो पार्टीले हतियारको राजनीति नगरौं भनिरह्यो । एक न एकदिन आफ्नो परिवार पग्लनेमा राम विश्वस्त थियो ।

रामले आफ्नो नाम रामजस्तै पागलखानाको बनवास जानुपरेकोमा, भगवान रामलेजस्तै संघर्ष गर्ने निधो गरिसकेको थियो । डक्टरले शरिर सबै थर्काउने औषधी दिन्थ्यो । सरिर थर्काउने इन्जेक्सन दिन्थ्यो । राम एकदमै सहेर बस्थ्यो । डक्टरले औषधी दिने समयमा यिनीहरूलाई रक्सी खुवाउनु हुन्न खुवाएमा औषधीले असर गर्दैन भनेको सुनेको थियो । त्यसैले रामले सधैं आफ्नो पार्टीको रक्सी निषेधको नियम तोडेर रक्सी पिउँथ्यो । यसले गर्दा पार्टीमा राम बदनाम भयो । तर भेद बताएमा आफ्नै परिवारमाथि पार्टीले हत्याकाण्ड गर्न सक्थ्यो त्यसर्थ राम आफू बदनाम भइरह्यो ।

त्यसर्थ रामले मेरो दिमागको उपचार मेरो दिमाग ठीक नभएरै गरेको हो भनेर भनिरह्यो । राम सधैं साइबर जान्थ्यो । सधैं रक्सी खान्थ्यो । सधैं क्रान्तिकारी लेखहरू लेख्थ्यो । यसरी रामको दिनचर्या वितिरहेको थियो । रामको यस्तो ताल देखेर रामको भाइवहिनीहरूले पनि रामलाई आदर गर्न छोडिसकेका थिए ।

परिवारले रामलाई सुधार गृहमा लगे । रामले दिएको औषधीहरू पनि खान्थ्यो । किनकि औषधी खाएन भने धेरै यातना दिइन्थ्यो त्यसैले त्यहाँ पनि रामले लुकीछिपी रक्सी खान छोडेनन् । साइबर जान पनि छोडेनन् । यसरी पार्टीको संगठनको काम पनि गरिरह्यो ।

सुधार गृहमा रामलाई बस्न मुस्किल हुन्थ्यो कारण के भने सुधार गृह नशाखोरीहरूको अड्डा थियो । चुरोट एउटासम्म नखाने रामलाई चुराटै चुरोटको धुवाँले साह्रै विरामी बनाउँथ्यो । सुधार गृहले लागू पदार्थ खुवाएर विस्तारै विस्तारै घटाउँदै लाने नीति लिएको थियो तर नशाखोरीहरूले ठीक उल्टो गर्थे ।

जब देशमा लोकतन्त्र आयो त्यत्तिबेला पार्टीलाई रामले राजालाई त्यत्तिक्कै सम्पत्ति कुम्ल्याउन दिनुहुन्न, अल्टिमेटम दिनुहुन्न भनेर जोड दिएको थियो तर सबै पार्टीले राजालाई गद्दी छौड्न अल्टिमेटम दिए । राजाले भए भरका खरबौंका सम्पत्ति ओसारिसेपछि गद्दी छोडे ।

रामको दिमाग ठीक नभएकोले दिमाग ठीक पार्न अपरेसन गर्नुपर्ने सल्लाह गरे डक्टरहरूले । अनि अप्रेसन गरिसकेपछि पनि घाँटीको पछाडि सानो बोतल घाँटीमा औषधी जाने गरी मिलाइ राख्न छोड्न नहुने बताए । अनि रामलाई साह्रै रिस उठ्यो । अनि त्यत्रो संघर्ष गरेको पार्टीले राजालाई सम्पत्ति कुम्ल्याउन दिएको झोँकमा उनले पार्टीनै छोडिदिए ।

अब उसले आफ्नो भेद पनि खोले पागल खाना लगेको कुराको उसले पार्टी छोडिसकेको र सो पार्टीले हतियार क्यान्टोन्मेन्टमा बुझाइसकेकोले गर्दा रामको परिवार माथि हुने हत्याकाण्ड टरिसकेको थियो । त्यत्तिबेलासम्ममा रामको शरीरले ९ वर्षम्मको पागलखानाको कठोर बनवासको यातना खपिसकेको थियो । त्यस्तै ऊ पार्टीमा लागेको पनि १४ वर्षभैसकेको थियो ।

रामले पार्टीको जुन पनि काम गर्थ्यो एउटा रजिष्टरमा माइन्युट पास गरेर काम गर्दथ्यो त्यसैले रामसँग आफूपार्टीको वरिष्ठ कार्यकर्ता भएको प्रमाण थियो । अहिले रामको पार्टी देशको सबैभन्दा ठूलो पार्टी भएको छ । त्यहाँ उच्च तप्का तथा तहमा रामजस्ता योद्धाहरू पुग्न सकिरहेका छैनन् । त्यसैले पनि पार्टी सही बाटोमा आउन नसकेको हो भन्ने रामको ठहर छ ।

लोकतन्त्र आइसकेपछि रामको घरमा तीन पटक चोरी भयो । एक पटक रामको कोठाको उत्तर पट्टीको भित्तामा चोरी भयो । अर्को पटक दक्षिण पट्टीको भित्तामा चोरी भयो । तेस्रो पटक पूर्व पट्टीको भित्तामा चोरी भयो । पश्चिमपट्टीको भित्तामा त केही सामानै थिएन ।

पहिलो पटक चोरी हुँदा रामले प्रहरी समक्ष उजुरी गरेको थियो तर पार्टीको माइन्युट बूक पनि छ भनेर उजुरीमा राखेनन् किनकि पार्टीको गोप्यताको सवाल थियो । दोस्रो पटक चोरी हुँदा पहिले उजुरी लिएका प्रहरी हरूको सरुवा भएको थियो । तेेस्रो पटक सामान हराएको उजुरी निवेदन गर्दा दोस्रो चोटी उजुरी लिएका प्रहरी हरूको सरुवा भएको थियो । यसरी रामले ज्यान जोखिम पारेर गरेका सबै सबुद प्रमाणहरू सबै चोरी भयो । यो कसले चोरेको हो भन्नेकुरो आजसम्म पत्ता लागेको छैन । उसले पहिले आफूले छद्मनाममा लेखेका लेखहरूको सिडी पनि चोरी भइसकेको थियो ।

रामको लेख लेख्ने वानी भएकोले गर्दा उसले आफू पागल नभएको कुर। लेखहरू लेखेर सावित गर्यो । अहिले राम लेखक तथा साहित्यकार भएको छ । गैर साहित्यकार माझ साहित्यकार भएको छ । साहित्यकारको माझ साहित्य नजान्ने भएको छ । लेख लेख्न नजान्नेहरूका माझ लेखक भएका छन् लेखकहरूका माझ लेख लेख्न नजान्ने व्यक्ति भएको छ । यतिबेलासम्ममा रामले रक्सी चटक्कै छोडिसकेको छ ।

रामको सबै संघर्षका कथा सुनेर ४ दिनसम्म रोएर पग्लिएकी नारी जो रामको वेदनालाई शान्त पार्न जीवनसाथी भएर सीताझैं उभिएकीछे उनी पनि रामले मैले जति संघर्ष कसैले गरेको छैन होला भनेर भनेपछि तपाइँको मुखमा संघर्ष संघर्ष संघर्ष खाली संघर्ष भनेर रामलाई गाली गर्न थालेकी छे ।

आज २०६८ साल हो । आज राम ४१ वर्षपुगिसकेको छ । आज रामसँग आफ्नो शरीरभरि जिउ थर्काउन कठोर यातना गरी दिएको दिएको औषधीको प्रभावले उठेका फोकाहरू छन् । देशमा राजाको संपत्ति जनतालाई नबाँडिए पनि कसैसँग हजूर सरकार, मौसुफगरेर बोल्ने चलन भने हटिसकेको छ । हो राम ! तिमी र तिमी जस्ता शहीदहरूको योगदानको केही न केही त उपलब्धी भएको छ । हे राम ! तिमीलाई देखेपछि म यत्तिमात्र भन्न चाहन्छु तिमीले गरेको संघर्ष जनतालाई मात्र थाहा छ । त्रेतायुगमा अग्नी परिक्षा लिएर सीतालाई अनुत्तीर्ण बनाएको थियो रामले तर कलियुगमा सीतालेनै परिक्षा लिएर खाली संषर्षभन्दै रामलाई पनि वास्ता नगरी परिक्षामा अनुत्तीर्ण बनाइ । तिम्रो एकदिन अवश्य मुल्याङ्कन हुनेछ राम ! तिम्रो आगामी निर्वाचनमा जनताले, देशले अवश्य मुल्याङ्कन गर्नेछ । तिमी पार्टीमा आऊ देश चलाऊ देशलाई रामराज्य बनाऊ । तिमीलाई ! हो तिमीलाई मात्र पर्खिरहेकाछन् जनताले ! हे राम ! तिमी आऊ देशबचाऊ नेपाललाई रामराज्य बनाऊ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौ

[email protected]

www.bijusubedibijay.blogspot.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “राम”

  1. Tika Kharel Subedi

    कथा सरल छ ।
    कथा सरल छ । प्रस्तुती सत्य कथा जस्तो छ । पढ्दै जाँदा कथाभित्र मार्मिकता भेटेँ । यहाँलाइ साहित्यिक यात्राको लागि धेरै-धेरै शुभ-कामना ! धन्यवाद !! ……………टीका खरेल

  2. राम – बिजु सुवेदी
    धेरै नेपालीहरूको कथा बोकेको छ यस कथाले ।

  3. अति राम्रो छ , विजय सर हजू्को कथा ।
    अति राम्रो छ , विजय सर हजू्को कथा । खुशिलाग्यो विजय सर जनयुद्धको परिवेशमा रहेर यो कथा यहाँले अतिनै मर्मस्पर्शी किसिमले प्रस्तुत गर्नुभएकोमा । मेरो त आँखाबाट आँसु बग्नबाट रोक्न सकिन । कथा शक्तिशाली छ । अत्यन्तै भावुक र भाव विहृवल बनायो । यो सहीसमयमा लेखिएको सही कथा हो किनकी यो कथा गत दुइ दशकको हाम्रै आँगन छेउ घटित , घटना र भोग्नुपरेको पीडालाई नीक्कै चोटिलो तरिकाले प्रस्तुत भएको छ । कथाकार विजय सरलाई साहित्यिक यात्राको मुरी-मुरी शुभ-कामना !!!

    सरस्वती शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *