मैले पहिलोपल्ट आँखा खोल्दा
पहिलो अनुहार उनैको थियो
त्यो बेला मलाई लाग्थ्यो
सन्सार देखाउने, चिनाउने
माया, ममता बाँड्ने
दुख, सुख बुझाउने
तिनै बोझिला हातहरू
जब मेरो स्पर्शमा आउँथे
मलाई कुनै डर वा भय हुँदैन ।
बिस्तारै जब म हिड्डुल गर्न थालें
आफूलाई असुरक्षित पाउथें
अनि म उनीसँग अंकमालमा हुन्थें
फेरि म सुरक्षित महसुस गर्दथें
अर्थात्
मेरो सुरक्षा कवच हुन्थिन उनी ।
समयको निरन्तरतामा
आज म सन्सार बुझ्ने / बुझाउने भएको छु
मलाई डर कुनै कुराको लाग्दैन
भय के हो मलाई थाहा छैन
तथापी म आफूलाई असुरक्षित पाउँछु
किनकि
मलाई अन्धकारमा दृष्टि दिने
अभावमा सृष्टि बुझाउने
मैले देखेका सपनाहरू अर्थ लगाइदिने
उनै मेरो बाल्यकालको सुरक्षा कवच
मबाट टाढा गइसकिन
कहिल्यै न भेट्ने गरी
तसर्थ
आजकाल मलाई डरले न सताए पनि
कता कता असुरक्षित पाउँछु
तिर्सनाले सताउँदा
म आफैसँग डराउँछु
फगत मातृवात्सल्यको अभाबमा
अनि म फेरि डराउँछु
बर्षौंदेखि शब्दकोषबाट
मेरा लागि “आमा” शब्द हराएकोमा
मेरो मुखबाट आमा हराएकोमा ।
(श्रद्धान्जली उनै “आमा” प्रति)
बिराटनगर – ४, नेपाल
