आचार्य प्रभा/ डेन्भर, कोलोराडो, अमेरिका ।
अगस्त २९, २०११
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित साहित्यिक कार्यक्रम “कोलोराडो साहित्य संगम”को अगस्त महिनाको कवि गोष्ठी कार्यक्रम कवि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको आतिथ्यमा सफलतापूर्वक सम्पन्न भयो ।
यस पटकको कार्यक्रममा रचना बाचन मात्र नभएर सांगीतिक बिधाका पूराना तथा महान हस्तीहरू गायक/लेखक/संगीतकार हिरण्य भोजपुरे, गायिकाद्वय उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र मनोज तुलाधारको पनि उपस्थिति थियो भने सोही कार्यक्रममा हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठज्यूले आफ्ना समयका सांगीतिक समूह लेकाली समूहको पनि केही पूराना स्मरणीय क्षणहरूको सम्झना गराउँदै उक्त समूहको गीत गाएर कविहरूलाई मन्त्रमुग्ध बनाउँनु भएको थियो ।
उक्त कार्यक्रममा सधैं झैं बरिष्ठ कवि तथा गजलकार मनु ब्राजाकी, साहित्यकार शैलेन्द्र साकार र अनेसास केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालको पनि उपस्थिति थियो । रचना बाचन गर्नेहरूमा हिरण्य भोजपुरे, शैलेन्द्र साकार, मनु ब्राजाकी, ज्ञानेन्द्र गदाल, भिष्मजीत प्रधान, हरी अधिकारी, राजु सिटौला, आचार्य प्रभा, कुमार जंग कार्की, कपिल सुबेदी, पदम विश्वकर्मा हुनुहुन्थ्यो भने आगन्तुक कविता बसन्त श्रेष्ठको कविता पदम विश्वकर्माले बाचन गर्नु भएको थियो ।
रचना श्रवण गर्नुहुनेहरूमा शिरिष भोजपुरे, देबी आचार्य, नीती आचार्य, प्रीति आचार्य हुनुहुन्थ्यो । सधैंभन्दा अलिकति पृथक तथा सांगीतिक माहौलमा सम्पन्न भएको उक्त कवि गोष्ठी संगीतमय बनेर मनोरन्जनात्मक पनि थियो ।
अगस्त महिनाको यस् गोष्ठीलाई आयोजना गरिदिएर कवि कपिल सुबेदी र देबी आचार्यले कोलोराडो साहित्य संगम तथा कोलोराडो च्याप्टरलाई अनुग्रिहित बनाएको छ । यसरी नै कोलोराडोबासीहरूले साहित्यलाई माया गरेर यसरी आयोजना गर्न सहयोग गर्दै आइरहेकोले यो साहित्यिक माहौल अझै फस्टाउँदै गई रहेको छ ।
कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित कवि गोष्ठी कार्यक्रम आयोजकद्वयलाई धन्यवाद ज्ञापन गर्दै निर्धारित समयमा नै सम्पन्न भएको थियो ।

