Skip to content


भखैरै कवि बासु शशीको ७५ औँ जन्मजयन्ती मनाइयो र केही साहित्यकारहरूलाई पुरस्कृत-सम्मानित गरियो । शशीको निधनपछि स्थापित ‘बासु शशी स्मृति प्रतिष्ठान’ले वाषिर्करूपमा यो कार्यक्रम गर्दै आएको छ । देशमा अनगन्ती साहित्यकारहरू दिवङ्गत भए र प्रायः तिनका नामको सम्झनामा यसरी नै स्मृति दिवसहरू मनाइन्छन् र कुनै न कुनै स्रष्टा प्रतिवर्ष पुरस्कृत-सम्मानित हुने गर्छन् । दिवङ्गत सर्जकको नामको केही न केही स्मृतिग्रन्थ प्रकाशित गरिन्छ । अर्थात् वर्षमा एकपल्ट सम्झना गरिन्छ ।

तर, बासु शशी वर्षमा एकपल्ट सम्झना मात्र गरिने सर्जक थिएनन् । किनभने उनको स्नेहको न्यानो तापेर आजका प्रख्यात धेरै साहित्यकारहरू जन्मिएका छन् । समारोहमा बासु शशीबारे बोल्नुपर्‍यो भने उनीहरू सानोतिनो गीता नै बोलिदिन सक्छन् तर उनको मान्यता र आग्रहलाई जोगाउने नातेदार प्रद्युम्न जोशी मात्र बाँकी छन् आज ।

यस पुस्ताले सायद बासु शशीलाई नचिन्ला । चाकडी र पहुँचका भरमा पाठ्यक्रम बनिने हाम्रोजस्तो देशमा अचेल शशीका कविता र नाटकहरू पनि पढाइँदैनन् सायद । तर उनी भविष्य द्रष्टा थिए । उनी आफ्ना मस्तिष्कमा झोलाभरिभरि सपनाहरूको बीउ बोकेर पछिल्लो पुस्तालाई छर्दै हिँड्थे । तिनै सपनाहरूका बीउ उमारेर आजका धेरै पुस्ताहरू सिर्जनाको प्रसिद्धिमा उभिएका छन् तर शशी स्वयम् भने आफ्ना ती सपनाजस्तै बाँचिरहेका छन्, वर्षमा एकपल्ट स्मृति दिवसमा ।

ओशो अर्थात् तत्कालीन भगवान् रजनीशले विश्व सीमाहीन हुनुपर्छ र मानिस-मानिसबीचको राष्ट्रगत मान्यताबाट फड्को मार्नुपर्छ भनेका थिए । शशीले रजनीशले भन्दा झन्डै एकजुगअघि नै आफ्नो कवितामा भनेका थिए, ‘सीमामाथि बम खसाल, मानिसमाथि होइन ।’ अर्थात्, मानिसमानिसबीचको भौगोलिक सीमा समाप्त हुनुपर्छ, मानिस-मानिसबीचको भावना ज्यूँदो राखेर । विश्वभरिका मानिस एक हुनुपर्छ, सीमाहीन मान्यतामा । उनले कविताको एक हरफमा भनेका थिए । त्यो एक हरफ कविताले मानवजीवन र सभ्यताको शाश्वत सत्यलाई अभिव्यक्त गर्छ । मानिस कहिल्यै सीमारेखामा टेकेर जन्मेन, न त मानवसभ्यताको ढुङ्गेयुगमा भौगोलिक सीमा थिए । यो मानिस आफैँले कोरेको सङ्कुचित सीमा हो । जसलाई बासु शशीले त्यही बेला बम खसालेर मेट्नुपर्छ भने । पछि रजनीशले पनि सारा विश्व एउटै भूगोलको परिधिभित्र आवद्ध हुनपर्छ भने ।

ओशोका पछि लाग्ने कयौँ नेपालीले आज यही वाक्यलाई दोहोर्‍याइदोहोर्‍याई आफ्नो दुनो सोझ्याइरहेछन् तर हाम्रा महान् कवि-साहित्यकारहरू शशीका यी वाणीलाई वर्षमा एकपल्ट पनि स्मरण गर्दैनन् । यसपल्ट उनको जन्मजयन्ती मनाउँदा प्राज्ञ-कवि वैरागी काइँलाले यस कविताको चर्चा गर्दा पनि त्यहाँ उपस्थित साहित्यिक जमातले यसको अर्थ सायद बुझेन । हामीले बोल्न नसक्ता बुद्ध आज भारतीय हुन लागेका छन् । भारतीयहरूले सिनेमा बनाउँछन् र भन्छन्, “बुद्ध हमारा हैँ, उनका जनम भारत मे हुवा था ।” हामी नेपालीहरू ती सिनेमा हेरेर भ्रममा पर्छौं । र, पछिल्लो पुस्ताले त झन् हिन्दी फिल्म हेर्दाहेर्दा बुद्धको नागरिकता भारततिरै सारिदिइसकेको छ । यस्तो देश, यस्ता सरकार जो नामले मात्र देश बाँचिरहेको छ, नामले मात्र सरकार भइटोपलेको छ । त्यस्ताका लागि बुद्धको के चिन्ता ? धेरै कुर्लियो भने भारतले उसको कुर्सी नै खोसिदिन्छ । विचरा गायक उदितनारायण झालाई त नियतिले नेपालमा आउँदा मात्र नेपाली हुने अवस्थामा पुर्‍यायो । भारतमा उनी झा पनि रहेनन्, नारायण मात्र हुनपुगे । जात-थरै नारायण !

देश ठूलो होला, त्यसैले उसको हल्ला पनि अनुपातमा ठूलै ठहरिएला तर सत्य बोल्नलाई त देश जति नै ठूलो भए पनि हाम्रा मुखमा दही जमाउन सक्तैन नि तर हाम्रा मुखमा यतिखेर दही जमेको छ । बासु शशीले कवितामा भने, “सिमानाहरूमा बम खसालिनु पर्छ ।” र, रजनीशले भने, “विश्वको देशीय सीमा मेटिनुपर्छ ।” कुरा एउटै हो । शशी र रजनीशको मत्यैकता संयोग मात्र हुन सक्छ तर उताकाले बुद्ध हाम्रो, उदितनारायण हाम्रो भनेर ठूलठूलो स्वरमा कुर्लिरहँदा ‘सीमान्तको विचार हाम्रो हो’ खै कसले भन्न सके त ? प्रसङ्ग यो मात्र होइन, बासु शशीलाई कोट्याउनुको ।

बासु शशी कवि मात्र थिएनन् । एक युगद्रष्टा पनि थिए । २०४६ सालको परिवर्तनपछिका एकदिन उनी नेपाल प्रज्ञा-प्रतिष्ठानमा भेटिए । मानिसहरू रानोको पछाडि मौरी भन्किए झैँ उनका पछाडि लागे । प्रज्ञा-प्रतिष्ठानमा लामो समयदेखि चाकडी गरेर टिकेका ‘टिके’ हरूलाई पनि अनुमान थियो, यसपालिको प्राज्ञ चयनमा बासु शशीजस्तो मूर्धन्य सर्जकले पनि अवसर पाउने छ तर एउटा कोठामा बसेर टिपिएको पञ्चायत शैलीकै टिपोटका आधारमा निर्धारित लिस्टमा शशीको नाम पर्न सकेन । उनी त्यस भवनभित्र अँटेनन् । र, हिजो उनका अघिपछि भन्किनेहरू अर्कै प्राज्ञ खोज्दै हिँडे तर शशीको उचाइ र छविमा कुनै अवरोह आएन । उनी त्यत्तिकै पूजनीय र प्रतिष्ठित भएर बाँचे । उनी मञ्चमा उभिएर बोल्दा ती कुनै कथित प्राज्ञले भन्दा विचारपूर्ण कुरा बोल्थे र त्यस्ता ‘टिके’को जमातमा उनी फेरि पनि आफ्नो उचाइ नछोटाइ प्रस्ट देखिन्थे । भीडमा बेग्लै एउटा अलग्ग र अग्लो प्रतिभाशाली देखिन्थे उनी । उनी निष्काम सेवा गर्थे । साहित्य उनको सेवा क्षेत्र थियो । उनी नाटक पनि लेख्थे, चलचित्रका संवाद पनि लेख्थे । र, जोसँग बस्थे उसको सम्पूर्ण भएर बस्थे । उनी कविका अघि सिद्धान्तनिष्ठ जीवन्त काव्य-व्याख्याता मानिन्थे । ‘काव्यलाई उचाइ टेकाउन वर्षमा एउटै कविता प्रशस्त छ, दर्जनौँ कविता लेखिरहनु पर्दैन’ उनी भन्थे । नभन्दै अहिले धेरै कविहरू एउटै कविताले बाँचिरहेका छन् । उनी चलचित्रकर्मी, नाट्यकर्मी या नयाँपुस्ताका सर्जकका अघि त्यति नै विज्ञ व्यक्तित्व मानिन्थे । वास्तवमा बासु शशी आफ्नो पछिल्लो नाम शशि अर्थात् चन्द्रमाजस्तै भूमण्डललाई उज्यालो पार्ने र शीतलता छर्ने अलौकिक प्रतिभा थिए । जीवन र जगतका, भाषा, साहित्य र ज्ञानका सारा कुराहरू उनी जान्दथे तर कसैलाई नचिनाई सुटुक्क एउटा कुनोमा बसेर आफैँमा आत्मलीन हुन्थे ।

त्यो वासु शशी दिवङ्गत भएको झन्डै दुई दशकयता, वर्षमा एक दिन केही मानिसलाई पुरस्कार बाँडेर मात्र उनलाई सम्झन थालियो । भर्खरै पनि उनको सम्झनामा जन्मजयन्ती मनाइयो र केही सर्जकहरूलाई पुरस्कार बाँडियो । अबका एक वर्ष फेरि उनको सम्झना कतैबाट हुँदैन, यो निश्चित छ । एक्लो प्रद्युम्न जोशीले आफ्ना गुरुका लागि योभन्दा बढी गुरुभेटी के पो दिन सक्छन् र ? तर नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाली साहित्य क्षेत्र या कुनै लेखक, प्रकाशक कसैले त उनको गुणको कदर गर्नुपर्ने हो तर मानिस सत्ताको रापमा परेपछि आफ्ना सारा अग्रजहरूलाई भुल्न थाल्छ । ऊ आफूबाहेक सबैलाई भुसुनाजस्तो देख्न थाल्छ । यो एउटा तिक्ततापूर्ण नियति हो । त्यसैले हरेक शनिवार शशीको घरमा चियाचमेना खाएर उनको आदर्श र प्रभावबाट आफूलाई बनाएका आजका कहलिएका कवि-लेखकहरूले उनीबाट जुन कुरा सिके, त्यसको ठीक विपरीत कर्ममा लागे । अर्थात् ‘खोलो तर्‍यो, लौरो बिस्र्यो’ ।

उनले ‘बुद्ध’ नामक नाटक पनि लेखेका छन् । त्यसमा बुद्धको कति र आफ्नो कति चित्रण गरेका छन्, त्यो साहित्यसमालोचकले खुट्याउलान् तर जीवनका अन्तिम दिनहरूसम्म उनी आफ्नो त्यस पुस्तकका पात्रकै चरित्र बाँचे । साहित्यमा त्याग, आदर्श र सत्मार्गको तर उनका चेलाहरूले उनको त्यो त्याग, आदर्श र निष्काम कर्मलाई बुझ्न र आत्मसात गर्न सकेनन् । किनभने बासु शशी साहित्यकार मात्र थिएनन्, एक युग प्रवर्तक र द्रष्टा पनि थिए । उनी सिमानाहरूमा बम खसाउनु पर्छ भन्थे, उनका चेलाहरू नयाँनयाँ सीमारेखा कोर्न उद्धत छन् । कठै विचरा बासु शशी, बुद्धले मूर्ति पूजाको विरोध गरे तर आज संसारमा सबैभन्दा धेरै मूर्ति बुद्धकै छन् । बुद्ध र शशीको नियति यही हो ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *