‘मलाई ‘गुरु’ होइन, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो ।
उहाँ शिक्षण पेसामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शिरमा ढाकाटोपी सधैँ शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे र दाहिने हातमा धूवाँ निस्कँदै गरिरहेको चुरोट ! अनौठो मान्न सकिने उहाँको त्यही विशेषता थियो- उहाँ नेपाली विषयको शिक्षक आफूलाई गुरु भनेको मन पराउनुहुन्नथ्यो !
‘किन त्यस्तो होला ?’ हाम्रो सहज जिज्ञासा हुने नै भयो ।
उहाँ, हीरामणि शर्मा पौडेल, म क्याम्पस पढ्नेताका नेपाली विषय पढाउने उपप्राध्यापक हुनुहुन्थ्यो । उहाँ पहिले लामो समयसम्म त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा हुनुहुन्थ्यो । त्यहीँ बस्दा उहाँले बोटे र कुमाल भाषासम्बन्धी दुईवटा अनुसन्धानमूलक पुस्तक पनि प्रकाशित गराइसक्नुभएको थियो । पछि उहाँ राजधानीमै सरुवा हुनुभएको थियो । अध्यापन उहाँको जीवनवृत्ति थियो र समालोचना एवं भाषिक अनुसन्धानमूलक लेखन उहाँका प्रिय रूचि थिए । उहाँमा त्यही एउटा लत विकसित भएको थियो- निरन्तर चुरोटको धूवाँ उडाइरहनु पर्ने । अनि एक दिन त्यही लतले उहाँलाई असमयमै कालको गाँस बनायो, उहाँ क्यान्सर रोगले थला परेर लाइलाज अवस्थामा पुग्नुभयो र – त्यति शीघ्र इच्छा नहुँदानहुँदै पनि – यो संसार छाड्न विवश हुनुभयो । हरे ! विधिको यो लेखा, कसले के भन्न सक्छ र !
उहाँ किन आफूलाई ‘गुरु’ नभनेर ‘सर’ भन्न रूचाउनुहुन्थ्यो ? त्यसको बलियो कारण पनि उहाँसित थियो । उहाँँले नेपाली भाषामा एम.ए. गर्नुभएको थियो तर सायद उहाँसित संस्कृतको परम्परागत ‘गुरुकुलीय शिक्षा पद्धति’, वा ‘ऋषिकुल शिक्षा’ अथवा ‘देवकुल शिक्षा’ पद्धतिहरूको सैद्धान्तिक भए पनि यथेष्ट अनुभवजन्य ज्ञान भने थिएन । त्यसैले सायद, उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘अचेल ‘गुरु’ भन्ने शब्द एकदमै सस्तो भएको छ, जसले, जसलाई पनि गुरु भनेर बोलाउन सक्छ । अरू त अरू, बस र ट्रकका चालकहरू पनि गुरु र गुरुजी भइसकेका छन् । बस वा ट्रक चलाउने पनि गुरु, हामी आजीवन खटेर विद्यादान गर्ने पनि गुरु ! अनि कसरी यो कुरा एउटै हुन सक्छ ? यो बाहेक पनि, अरूअरू विषय पढाउने चाहिँ ‘सर र म्याम’, अनि हामी नेपाली विषय पढाउने चाहिँ ‘गुरु र गुरुमा’ ?’
उहाँ शरीरको अन्तरकुन्तरबाटै आजित भएर बोलेझैँ भान हुन्थ्यो । यसो भनिरहँदा उहाँ आक्रोशको मुद्रामा देखिनुहुन्थ्यो, कहिलेकाहीँ वादविवादमै ओर्लन भ्याउनुहुन्थ्यो तर धन्य कहिल्यै रौद्र मुद्रामा भने प्रकट हुनुभएन ! उहाँले भने जस्तै, के ‘गुरु’ शब्द यति दीनहीन र मूल्यवत्ताहीन भइसकेको हो त ? मेरो मनमस्तिष्कमा चेतनाको घण्टी निरन्तर बजिरहन्थ्यो र मलाई लागिरहन्थ्यो- के समयको प्रवाहसँगै ‘गुरु’ शब्दको अर्थ पनि पृथ्वी घुमेँझैँ घुम्न थालेको हो त !
सामाजिक जीवनका पाटाहरू नियाल्दा स्पष्ट देखिने तथ्य हो- शिक्षक, चालक र माझी एकसमान हुन्छन् । शिक्षकले सयौँ र हजाराँैं शिक्षार्थीलाई विद्याको बाटो हुँदै जीवन-डुङ्गा तारीदिने बलियो सहाराको रूपमा काम गर्छन्, चालक र माझीले चिनारू-अनचिनारू अनगन्ती यात्रुलाई मानव-जीवनभन्दा पनि लामालामा बाटा र अथाह जलप्रवाहहरूले भरिएका नदी तारी दिन्छन् । जीवनको नदी तर्नेहरू वा प्राकृतिक नदी तर्नेहरू कहाँबाट कहाँ पुगिसक्छन् तर शिक्षक, चालक र माझीहरू अक्सर उही आ-आफ्नै डुङ्गामा हुन्छन्- एक जना आफ्नो विद्यालयरूपी डुङ्गामा, त अर्का चाहिँ वाहनरूपी फलामे डुङ्गामा वा नदीको तटीय क्षेत्रमा खडा गरिराखिएको काठको डुङ्गामा ।
माझीलाई बोट चलाउने हुँदा बोटे पनि भन्छन् । चालकलाई कोही ड्राइभर भनी बोलाउँछन, त कोही ‘पाइलट’ र धेरैजसो त गुरु वा गुरुजी । शिक्षकलाई एक नामले होइन, अनेक नामले बोलाइन्छ, अनेक सम्बोधनहरूले पुकारिन्छ ।
अङ्ग्रेजीमा टिचर, प्रोफेसर, मिस, सर, म्याडम वा म्याम भने पुग्यो । हिन्दीमा पनि बहुधा टिचरजी वा मास्टरजी भने पुग्ने गरेको छ । चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन र अरूअरू भाषामा पनि यस्तै अनेक नाम हुँदा हुन् शिक्षकलाई सम्बोधन गर्ने । नेपालमा सर, मिस र म्याम भनेको त सुनिन्छ तर टिचर, टिचरजी या मास्टरजी भन्ने प्रचलन उस्तो देखिँदैन । शिक्षकजी भनेको त झनै कहीँ कतै सुनिँदैन । अँ, गुरु वा गुरुमा वा गुरुजी भन्ने त चलनचल्तीमै छ ।
त्यसो त, समय आफैँमा महान् शिक्षक हो, असल गुरु हो । उसलाई हामी कुनै पृथक नामले सम्बोधन गर्दैनौँ । सायद सिक्ने र सिकाउनेहरूको उस्तो नाम विशेष हुँदैन- फगत एउटा साइनो हुन्छ, गाँस्न सकेमा । गुरु शब्द आफैँमा ओजपूर्ण र गम्भीर पनि छ । त्यसैले कुनै पनि खास महìवको वा संवेदनशील प्रसङ्ग उठ्दा त्यसलाई ‘गुरु-गम्भीर’ भन्ने गरिन्छ । यसको अर्थ ‘गुरुजस्तो गम्भीर’ भन्ने पनि हुन्छ, जसको अर्थ हुन्छ- गुरु भन्ने पद आफैमा गम्भीर छ, दायित्वले भरिपूर्ण छ, जिम्मेवारीले भरिएको छ र कर्त्तव्यभावले सराबोर छ । मात्र दुई अक्षर ‘गु’ र ‘रु’ले बनेको भए पनि यसको सर्वव्यापी, सर्वमान्य र सर्वस्वीकार्य अतुलनीय छ, संस्तुत्य छ ।
अतीतमा, शिक्षा-दीक्षाको थालनीका दिनहरूमा र त्यसपछि पनि धेरै समयसम्म ‘गुरु’ वा ‘आचार्य’ भन्ने शब्दमा कति ओज थियो ! कति महिमामण्डित थियो यो शब्द ! कति चमक थियो ! कति मान र सम्मान थियो ! खासखास व्यक्तित्वका लागि आरक्षित गरिएर राखेको जस्तो ! तर समयक्रममा जसैजसै शिक्षाको विस्तार हुँदै गयो र शिक्षाको स्वरूप सेवाभन्दा पनि व्यावसायिक र संस्थागत बन्दै गयो, त्यससँगै ‘गुरु’ वा ‘आचार्य’ शब्दहरूमा विगतको त्यो महिमा र त्यो गरिमा रहेन ! ती सबैलाई अङ्ग्रेजीको एउटै शब्द ‘सर’ वा ‘मिस’ (अथवा म्याडम’) ले कति सहजै विस्थापित गरिदियो ! (अझ विस्थापित गर्दै जानेक्रम तीव्रत्तर हुँदै जाँदो छ) ।
शिक्षा मानिसको जन्मसिद्ध, मौलिक अधिकार हो । यथोचित शिक्षाले नै उसमा बुद्धिको समुचित विकास हुन्छ, स्वतन्त्र चिन्तन-मनन गर्ने शक्ति विकसित हुन्छ । त्यस्तो शिक्षाको ज्योति फैलाउनेहरू शिक्षक हुन् । शिक्षाकै अर्को नाम विद्या हो । शिक्षाको ज्योति फैलाएर गाउँ, समाज र राष्ट्रलाई आलोकित गर्ने उनै शिक्षक-शिक्षिकाहरू हुन् । शिक्षकहरू प्रायः सौम्य, सरल र विद्यानिष्ठ हुन्छन् (यस्तो आमधारणा हो, सबै सहमत हुन पनि सक्छन् र नहुन पनि) । उनीहरूमा शिष्यशिष्या वात्सल्य हुन्छ र हजारौँं शिष्यशिष्यालाई विद्यामृत पिलाएर पनि उनीहरू विद्या परम्परालाई अगाडि बढाइरहनुपर्ने कुरामा कहिल्यै थाक्दैनन्, विद्यादान-जुन आफैँमा एउटा कर्मयोग हो- मा सधैँ लागिरहन्छन् । बरू जीवन अनित्य तर शिक्षा (र, शिक्षादान पनि) नित्य छ, शाश्वत छ, र सार्वभौम पनि । ती मानिसहरू, जो विद्यादान गर्छन्, उनीहरूको जहिले जति प्रशंसा गरे पनि कम्ती नै हुन्छ । यद्यपि, असल विद्यार्थी नै पछि गएर पनि असल शिक्षक-शिक्षिका नै बन्छ भन्ने केही छैन । धेरै दृष्टान्तहरू छन्, जसले असल विद्यार्थी नै कालान्तरमा असल शिक्षक बनेको भन्ने सकारात्मक सन्देश दिँदैनन् तर सम्भवतः धेरैजसो शिक्षक चाहिँ निश्चय पनि असल विद्यार्थी रहेकै हुन्छन्, हुनुपर्छ । आखिर त्यसै त भनिएको छैन नि- सिक्ने र सिकाउने (यस मानेमा पढ्ने र पढाउने) प्रक्रिया जीवनमा कहिल्यै टुङ्गिदैन ।
त्यसकारण विद्यादान गर्नेहरू असल हुन् र महान पनि हुन् । उनीहरू विद्या सिक्न आउनेहरूलाई रुचाउँछन्, सकेको सिकाउँछन् र असल नागरिक बन्न एवं सफल जीवन यापन गर्न केही भए पनि सिकायौँ भनेर सन्तुष्टि लिन्छन् । यिनै शिक्षक-शिक्षिकाहरू नै त हुन् जसले एक पुस्ताले प्राप्त गरेको ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गरिदिन्छन्, एक पुस्ताबाट अर्को पुस्तामा ‘पास’ गर्छन् । के हुँदो हो यदि यस्ता शिक्षक-शिक्षिका वा गुरु-गुरुमा नभएको भए ! मानिसहरूले, जसले जे जसरी सक्छ, आ-आफैँ सिक्नुपर्ने हुन्थ्यो ! यदाकदा दुर्लभ प्रतिभाहरूले त धेरै सिक्न सक्थे होलान् तर संसार त अर्कै हुन्थ्यो होला ! परिवर्तित हुन्थ्यो होला ! किनभने अगिल्लो पुस्ताले हासिल गरेका ज्ञान, शीप, दक्षता, आदर्श, विचार आदि सबै कुराहरूबाट मानवता वञ्चित हुन पुग्थ्यो होला ! सम्भवतः त्यसैले, दुनियाँमा अहिले जति शिक्षण पेशामा मानिसहरू संलग्न छन्, अन्य कुनै एउटै पेसामा यति व्यक्तिहरू छैनन् ।
शिक्षा र अशिक्षा अनि ज्ञान र अज्ञान एक-अर्काका बैरी हुन्, जसरी घाम र छाँया अनि अँध्यारो र उज्यालो । अँध्यारो भनेकै अज्ञानता हो जुन डरलाग्दो हुन्छ, खतरनाक हुन्छ तर ज्ञानको वृद्धिसँगै यो हराउँदै जान्छ- उज्यालो देखेपछि अँध्यारो भागेजस्तै । त्यसैले त भनिएको होला नि – अँध्यारोबाट उज्यालोतिर लैजाऊ … तमसोमा ज्योतिर्गमय…।
न्ाोबेल पुरस्कार विजेता भारतीय बङ्गाली साहित्यकार रविन्द्रनाथ टैंगोरले लेखेका छन्- ताराहरूले भने, हामी प्रकाश दिन्छौं । अन्धकार हट्छ वा हट्दैन, त्यो भने हामीलाई थाहा छैन । हाम्रा गुरु-गुरुमाहरू अथवा मिस-म्याम-सरहरू पनि यस्तै हुन् । उनीहरूले हामीलाई शिक्षा दिँदा कसैलाई काखा र कसैलाई पाखा नगरी समान तवरले शिक्षा दिन्छन, दीक्षित गर्छन् । आफूभन्दा धेरै असल, आफूूभन्दा धेरै ज्ञानी र आफूभन्दा धेरै प्रभावशाली बनाउन प्रयास गर्छन् । कुन शिष्य र शिष्याले के कसरी त्यो शिक्षा ग्रहण गर्छन् भन्ने त स्वयं उनीहरूमाथि नै भर पर्छ, उनीहरूकै उत्सुकता, क्षमता र परिश्रममा भर पर्छ । गुरु/गुरुमाहरूले प्रकाश छर्छन्, त्यस आधारमा जीवन-अँध्यारो हटाउन दीप प्रज्ज्वलित गर्ने त स्वयं शिष्य-शिष्याहरू नै हो ।
सायद त्यसैले भनिएको होला- ईश्वर र भक्तपछिको दोस्रो सर्वाधिक पवित्र सम्बन्ध गुरु/गुरुमा र शिष्य/शिष्याको हुन्छ । यथा ः
गुरु ब्रहृमा, गुरु विष्णु, गुरुदेवो महेश्वरः ।
गुरु साक्षात् परंब्रहृम, तस्मै श्री गुरुवे नमः ।।
‘गुरु’ भन्ने शब्द कति ओजपूर्ण छ भन्ने त ‘गुरु-गम्भीर’, ‘गुरुत्तर दायित्व’ वा ‘गुरुìवाकर्षण’ पनि भन्ने गरिएबाटै थाहा पाउन सकिन्छ । आखिर चालकहरू पनि यस्तै गम्भीर प्रकृतिको उत्तरदायित्व वहन गरिरहेका हुन्छन्- कतै बहुमूल्य मालसामानको ढुवानी गरिरहेका हुन्छन् त कतै सयौँ मानिसलाई यता र उता गराइरहेका हुन्छन् ! तपाईं यात्रामा हुनुहुन्छ भने अरू दर्जनौं यात्रुसँगै तपाइँको आयु-रेखा चालकले कुनै पनि क्षण केर-मेट गरिदिन सक्छ ! हतार भइरहेको बेला अथवा कुनै अत्यावश्यक काम परेको बेला चालकले ठीक समयमा सकुशल ठीक ठाउँमा ल्याइपुर्याइदियो भने तपाईं स्वतः भन्नुहुन्छ- ‘गुरुजी, धेरैधेरै धन्यवाद !’ (यसरी भन्दा त्यो अनादर वा हेय भएर होइन, पूर्ण कृतज्ञ भावले भरिएको उद्गार हुन्छ) ।
तसर्थ पनि, मलाई लाग्छ, ‘गुरु’ भन्ने शब्द हेय होइन, हुन पनि सक्दैन । ‘गुरु’को मानमर्दन पनि हुन सक्दैन । गुरु भनेका सबैलाई स्नेह गर्ने, समानताको महान पाठ पढाउने र सद्भावको सन्देश प्रवाहित गर्ने व्यक्तिहरू हुन् ।
‘गुरु’- अर्थात्, जो बढी जान्ने छ र जसले अरूलाई केही सिकाउन वा डोर्याउन वा सहयोग पुर्याउन सक्छ । सिक्न र जान्न सक्ने हो भने जीवनमा जो पनि गुरु हुन सक्छ- समाजमा, शिक्षामा, खेलकुदमा, मनोरञ्जनमा, अर्थात् हरेक क्षेत्रमा । मन मिल्ने सङ्गी-साथी पनि गुरु हुन सक्छन् । प्रकृति, वनस्पति वा जनावर, आफैँ पनि गुरु बनेर उपस्थित हुन सक्छन् ! सकारात्मक वा नकारात्मक कसरी के कति ग्रहण गर्ने हो भन्ने चाहिं हामी आ-आफैँमा निर्भर रहन्छ ।
‘सर’ अङ्ग्रेजी भयो, त्यसमा सम्मान सूचकता बढी झल्किन्छ । ‘गुरु’ वा ‘गुरुमा’ स्नेहिल छ र अपनत्वपूर्ण छ । ‘गुरुजी’ आदरार्थी छ, सम्मानार्थी छ । त्यसो त अब ‘गुरु’ शब्द अङ्ग्रेजी भाषाले पनि अपनाइसकेको छ, जहाँ धेरै जान्ने र बुझ्ने मानिसलाई ‘गुरु’ (र, पण्डित पनि) भन्न थालिसकिएको छ । त्यसकारण समान काम गर्ने मानिसलाई जे भनेर बोलाए पनि केही फरक पर्दैन, अर्थात्, उही पुरानै उक्तिमा, शेक्सपियरको उद्गार- गुलाफलाई अन्य कुनै नामले बोलाउँदा के उसको सुन्दरतामा कुनै कमी आउँछ र ! त्यसैले, ‘सर’लाई ‘गुरु’ भनेर बोलाए पनि, अथवा ‘गुरु’लाई ‘सर’ भनेर बोलाए पनि उनीहरूको व्यक्तित्व वा मान-सम्मानमा कुनै कमी आउँछ होला र ? तर्कनाहरूको जालो बुन्ने हो भने भन्न सकिन्छ- विगत अज्ञात समयदेखि ‘गुरु पूणिर्मा’ मनाइँदै आएको अनुभव छ तर ‘सर पूणिर्मा’ मनाएको त, कुन्नि ।
हुँदैन बिर्सन पनि- गुलाफमा काँडा पनि हुन्छन् ! सबै ‘सर’, ‘म्याम’, वा ‘गुरु’ वा ‘गुरुजी’हरू एकसमान हुँदैनन् । लोकभाकामा गुञ्जिने स्वरलहरी… ‘लान्छ क्यारे घुमाउन झिल्के डाइभरले…’ भनिएजस्तै उनीहरूमध्ये कतिले गैर-पेसागत, अमर्यादित र भत्र्सनायोग्य कार्य गरेका उदाहरण पनि बग्रेल्ती नै पाइन्छन् । सायद उहाँ हीरामणि ‘सर’ लाई यी सब कुराको राम्रो हेक्का थियो, उहाँ त्यस्ता विशिष्ट ‘झिल्के गुरुहरू’को कोटिमा पर्नुहुन्नथियो । त्यसैले उहाँ हामीसित आफूलाई ‘गुरु’ नभन्न जोडदार आग्रह
गर्नुहुन्थ्यो ! यस्तोमा ‘सर’ नभएर ‘गुरु’ वा ‘गुरुजी’ नै निरन्तर सुनिरहनुपर्दा र त्यसरी नै सम्बोधित भइरहनुपर्दा के हुन्थ्यो होला ? हीरामणि ‘सर’मा पर्याप्त सहनशीलता र धैर्यता पनि थियो, किनभने उहाँ प्रायः हामीसितको बहसमा दार्शनिक कार्लमाक्र्सको यो उक्ति दोहोर्याउने गर्नुहुन्थ्यो- तिमी आफ्नो बाटो लाग्दै गर, जसले जे भन्छ भन्न देऊ ।
जतिजति बेला ती नेपाली विषय पढाउने ‘सर’ को सम्झना आउँछ, मलाई लाग्छ, उहाँको जीवनानुभवले हामीलाई भनिरहेछ, सबैभन्दा महìवपूर्ण हो- एकाग्रता, लक्ष्यमा पुग्ने दत्तचित्तता र लक्ष्यको प्राप्ति प्रतिको तन्मयता अन्यथा हावा-हुण्डरीहरू त जीवनमा सधैँ आइरहन्छन्, र गइरहन्छन् पनि । कतिपय आग्रहहरू पूरा नहुन सक्छन्, कति आग्रहहरू कालान्तरमा पूर्वाग्रहमा फेरिन सक्छन् तर एक्लै भए पनि हिँड्नु त छँदैछ नि ।
त्यसैले मलाई भन्न मन लागिरहन्छ- जाम्जाम् गुरुजी जीवनको त्यो चौतारीमा, जहाँ आग्रह र पूर्वाग्रहहरू शेष रहँदैनन्, अनि जहाँ मानव र मानवताले सहज मुस्कान छर्न पाउने स्वतन्त्र एवं निर्बन्ध परिवेश हुन्छ ।
मलाई गुरुहरूको शाश्वत उपस्थिति मन पर्छ ।
दर्लमडाँडा-१, पाल्पा
मधुपर्क २०६८ साउन
