Skip to content


बिहान ४ बजेको ट्रेन थियो । एसीवाला डिब्बा, पैसा अनुसार जनरलको भन्दा सुविधा सम्पन्न हुदोरहेछ । खाना पनि राम्रो दिँदोरहेछ । रेलको भात र बोकेको कट्याङकुटुङ खाँदै रमाइलोसँग १० बजे बिहान मनमाड पुग्यौँ । मिनिटाटा लिएर शिरिडी हुइँकियौँ । शिरिडीशिरिडी भन्दै तीन महिना अघिदेखि पागल भएको मेरो मन पागल प्रेमीले प्रेमिकालाई भेट्न जाँदा बढेको धड्कनझैँ भइरहेथ्यो । मान्छेलाई जति नै माया र विश्वास गरे पनि कहिले पुग्दैन, सधँै कम हुन्छ र औँलो दिँदा हातै निल्न खोज्छन् । मान्छेका लागि पागल हुनुभन्दा भगवान्का लागि पागल हँुदा एक किसिमको शान्ति हँुदोरहेछ । मान्छेजस्तो भगवान्ले हेप्दैनन् र मानभाउ पुगेन पनि भन्दैनन् ।

यही टे्रन भेट्ने गरी समय मिलाएर महिलाहरूको महान् चाड तीजको दर खाने दिन सबै मिलेर दर खायौँ । भोलिपल्ट ब्रतको दिन ९ बजे कलङ्कीबाट बस छुट्यो । अगाडि सिटमा सरिता र शान्ति आन्टी थिए । सँगैको सिटमा एउटी केटी थिइन् । गफ गर्दै जाँदा नेपाल मेडिकल कलेजकी डाक्टर रहिछिन् । बाँडेर खाने बानीअनुसार खानेकुरा दिएँ तर उनको ब्रत रहेछ । मधेसी मूलकी महिलाले तीजको ब्रत त्यो पनि पानीसमेत नखाई । रमाइलो र खुसी लाग्यो मलाई । मधेसी र पहाडेबीचको द्वन्द्व चलेको बेला उनको ब्रतले केही भए पनि यी दुई समूहबीच सेतुको काम गर्नेछ जस्तो आभास भयो मलाई उसो त उनकी एक भाउजू पनि पहाडी मूलकी बाहुनी रहिछन् । प्रेमलाई कसले कैद गर्न सक्ने ! जातिपाती, भाषाभेष, देश, सीमा केही भन्दैन रहेछ प्रेमले । फलस्वरूप सबैभन्दा माथि मायाप्रेमको नाता भनिँदोरहेछ । सरिता आन्टीको ब्रत थियो, शान्ति आन्टी र मैले एकएक थाल भात ठटायौँ । ती मित्र दुई चार दिन छुट्टीमा भैरहवा घर गएकी रहिछिन् । ४ बजे सुनौली पुग्यौँ, बोर्डर क्रस गरी टाटा सुमोमा चढ्यौँ । तिब्बतीयन मूलका दुइटी केटी र मङ्गोलीयन अनुहारका एक लाहुरे थिए पछाडिको सिटमा, हामीबीचमा थियौँ । देहव्यापार तीनै नाकाबाट ज्यादा हुने हुनाले सोधपुछका सङ्घसंस्थाहरू रहेछन् । त्यस्तै, एउटा संस्थाले रोकेर ती तीब्बतीयन र लाहुरेलाई बोलाए, केही बार्तालापपछि छाडिदिए । हामी तीन जनालाई बोलाइएन । स्वाइन फ्लुको माहामारी फैलिएकाले ती तीनैले माक्स लगाएका थिए । हामीले भने माक्स लगाएनाँै जे होला भगवान् भरोसा भन्दै हिँड्यौ । ती दुई दिदीबहिनी बैङ्गलोरमा पढ्न हिँडेका रहेछन । हामीलाई जता पनि सारो सताउँछन् । नेपाली भेट्दा आफ्नै आमा-बुबा भेटेजस्तो लाग्छ । बसमा पनि कम सताएनन् । यी लाहुरे अङ्कल भेट भएर राहत मिल्यो । त्यसमाथि तपाईंहरूसँग पनि भेट भयो । के गर्नु हामी तिब्बेतीयन मूलका भए पनि नेपालमै जन्मियौँ, नागरिकता छैन । अनागरिक जीवन सारै दुःखदायी हँुदोरहेछ । नागरिकता भएको भए काठमाडौँमै पढ्न हुन्थ्यो । बैङ्गलोरमा पढ्न सजिलै रहेछ, त्यसकारण यस्तो दुःख झेल्दै मन नलाग्दै पनि जानु पर्‍यो, भन्दै प्रभातको लालिझैँ चाँडै खुले हामीसँग । अगाडि इन्डियन केटाहरू गफिँदै थिए । काठमाडौँको क्यासिनोमा सबै पैसा हारेर आएका रहेछन् । टाटा सुमोको सय रुपियाँ आईसी भाडा थियो । एक पैसा पनि निक्लिएन त्यो ग्रुपबाट । गोरखपुर पुगेर दिन्छौ ड्राइभरसँग याचना गर्दै थिए । हेर्दा सरिफै लाग्ने केटाहरू सोतो अनुहार भित्रको कालो कर्तुत कति नमिठो लाग्दोरहेछ । एउटा गोरे केटोले हरियानाको क्रिकेटको क्याप्टेन हुँ भन्दै परिचय दियो आन्टीसँग । क्यासिनोमा हारेको सुन्नासाथ बिग्रेका केटा भन्ने लाग्यो मलाई । नामसाम वास्ता गरिनँ । गोरखपुरमा सरिता आन्टीका जेठाजु र उनका पञ्जाबी साथीले जक्सनभित्रै कोठा मिलाइदिए ।

फराकिला फाँट, सरर चिसो बतासले कङ्क्रिटको जङ्गलमा कठोर बनेका मेरा नयनका पुतली त्यो सौम्य शान्त वातावरणले नाच्न थाले । बारम्बार सपनामा देखेको शिरिडी साई र उनको दरबार स्पर्श गर्न आतुर आँखा र मन अघिअघि दौडिरहेछन् गाडीभन्दा तीब्र गतिमा । मन्दिर परिसरमै सँगै बाथरुम भएको सफा ठूलो कोठा बुक गराउनु भयो सरिता आन्टीले । नुवाइधुवाई सकाएर समाधि मन्दिर दौडियौँ दर्शन गर्न । फेरि ५ बजे लाइन बसी साँझको आरतीमा सामेल भयौँ । हजारौँको भीड अगाडि दुई साइड लाइनबद्ध उभिएका, पछाडिका जति बसेका । समाधि मन्दिरको त्यो अवर्णनीय सुन्दरता, साई बाबाको स्वर्ण प्रतिमाको झल्झलाकार । एक महिनाअघि सपनामा देखेको मन्दिरको त्यही शैली र रङ्गरोगन ! आश्चर्य लाग्यो र खुसीका आँसु बर्से आँखाबाट ।

खानाका लागि सत्तरी हजार मान्छे एकैचोटि अट्ने सुन्दर भवन । जहाँ प्रसाद गृह लेखिएको ठूलो बसमा लाने-ल्याउने व्यवस्था रहेछ । अटाइनअटाई बसभरि बिहान ११ बजे र साँझ दुई टाइम पिकनिक गएझैँ लाग्थ्यो । प्रसाद गृहको अगाडि शिरिडी बाबाको ठूलो भाँडोमा हातले खाना चलाइरहेको ढलौटको मझौला कदको मूर्ति छ, जो आकर्षणको केन्द्र छ । सफा भान्सा र डाइनिङ हल, जहाँ सबै भक्तहरू खाना खाइरहेछन् । ६ रुपियाँमा पेटभरि खाना, डेढ रुपियाँ कप चिया, नास्ताको चार रुपियाँ । विश्व खाद्य सङ्कटले चुलिएको महँगीमा यति सस्तो खाना हुन्छ । बाहिर भने महँगीले छुनै नसकिने ।

तीन बजे राति उठ्यौँ नुहाइधुवाई गरी हतारमा मन्दिर गयौँ र लाइन बसी आरतीमा सामेल भयौँ । बिहान, मध्याहृन १२ बजे र साँझमा गरी दिनको तीन पल्ट आरती हुँदो रहेछ । तीन रात शिरिडीमा बस्यौँ । बिहीबार बढी नै भीडभाड हुँदोरहेछ । बिहानैदेखि ठाउँठाउँमा पाल्की सजाइएको दृश्य देखिन्थ्यो । साढे दुई बजे राति उठ्दा आँखाभरि निद्राको अटेसमटेस हुनुपर्नेमा छ्याङ्ग निद्राले छोडी चङ्गा हुने शरीर । मायालु भावमा बोलुँलाझैँ सुन्दर समाधि मन्दिर । मराठी भाषाको दुई घण्टा लामो आरती ! शिरिडीको विशेषता भनेकै आरती रहेछ । साई बाबाको विश्रामस्थल द्वारिका माई मन्दिर, अर्को विश्रामस्थल चावडी, बाबाले ध्यान गरेको निमवृक्ष सबै जीवन्त लाग्थे । शिरिडी साईलाई गुलियो मन पर्ने भएकोले मिश्री, पेडा, लड्डु, बर्फीका साथै चना चढाउँदारहेछन् । दाख, काजु र अम्बाका लागि प्रसिद्ध रहेछ शिरिडी । देख्छु सबै जना म जस्तै हतारमा काम पनि छैन फुर्सद पनि छैन ।

समाधि मन्दिरअघि सिङ्ग्नापुर सिङ्ग्नापुर भन्दै ड्राइभर कराइरहन्थे । सिँगापुर सुनेकी मैले । शनि मन्दिर सिङ्ग्नापुर रहेछ । पहिलोपल्ट सुन्ने जो कोही पनि मजस्तै झुक्किँदा रहेछन् । शनि मन्दिरको ठूलो महिमा रहेछ, पुरुषहरू नुहाएर पहेँलो धोती फेरि मुख्य मन्दिर पूजा गर्दारहेछन् । केटी मान्छेले छुनु हुन्न रहेछ । आफूले प्रयोग गरेको सामान छोड्नुपर्ने चलन अनुसार हामी तीनैले चप्पल छोड्यौँ । खाली खुट्टा सुमोमा शिरिडी पुगी चप्पल किनेर लगाएँ । बिहीबार बिहानको आरतीपछि समाधि मन्दिरमा फूल चढाउँदा फूलसँगै मेरो पर्स पनि झरेछ । त्यतिका भीडमा माया मारिसकेकी थिएँ, तै सेक्युरिटी अफिसमा ब्यागको र रकम भन्दा तुरुन्त भेटियो । भगवान्को दरबारमा केही हराउँदैन भन्दै एकै बचनमा दिए । साईस चरित्रमा साई बाबाका भक्तहरूलाई शिरिडी यात्रामा आइपरेको कठिनाईहरू बाबाले सहजै हटाउनुभएको पढेकी थिएँ, आफैँमा लागू भयो । शनि मन्दिर जाँदा विशाल हरिया फाँट । बयलमा काठको कोलले पेलेको उखुको जुस, नरिवल पानी बेच्नेको ताँती थियो । ग्राम पञ्चायतको बोर्ड देख्दा बीस वर्षअघिको नेपाली गाउँको झझल्को आउँथ्यो । खाली पिचमा तूफानले दौड्दा काठमाडौँको ट्राफिक जाम झल्झली आँखामा नाच्यो । समाधि मन्दिर केही पर आगन्तुक भक्तहरू बस्ने सुविधा सम्पन्न निवासस्थान छ । जसको नाम भक्ति निवास हो । मन्दिरबाट त्यहाँ जान-आउन भाडा लाग्दैन रहेछ । आन्टीहरू ज्ाानुभयो । मचाहिँ आरतीको लाइनमा सबैभन्दा पहिला पुगेँछु । अघिल्लो दिन लाइनमा पाइन्ट टिसर्टमा दुई हातको कुमसम्म चुरा सजाएकी केटी गोरेगोरे केटोसँग थिइन् । पाइन्टमा चुरा गजबले सुहाएको थियो । त्यो साँझ पनि मसँगै लाइनमा परिन् । कुर्ता- सुरुवालमा हिजोझैँ चुरा लगाएकै थिए । हामी दुवैको हेराहेर भयो । पहिलोपल्ट झट्ट बोलिहाल्ने बानी नभएकाले चुप थिएँ । मन्दिरमा पुगेपछि अगाडिपट्ट िपुरुष र नारी छुट्टँिदा रहेछन् आरतीको समयमा । आप अकेले, आपका दो आन्टीजी नहिँ आई ? भन्दै चुरीवाली बोलिन् । कुन प्रान्त भन्दै परिचय मागिन् । नेपालबाट भने, नेपाल छुट्टै देश नभएर इन्डियाकै कुनै प्रान्त भन्ने लागेको रहेछ उनीहरूलाई । पशुपतिनाथको मन्दिर चाहिँ थाहा रहेछ । भर्खरै विवाह गरी दिल्लीबाट आएका रहेछन् । उनीसँग भएको गोरे केटा उनका श्रीमान् रहेछन् । वैष्णवी मन्दिर गएर एक हप्ताका लागि शिरिडी आएका रहेछन् । इन्दु रहेछ नाम । श्रीमान् फ्रेन्चलगायत अन्य विविध भाषाभाषीको गुरु रहेछन् । नयाँ विवाहिता जोडी लाखौँ खर्चेर विदेशतिर हनिमुन जाने फेसनलाई तोड्दै भगवान्को आशीर्वाद लिई नयाँ जीवन सुरु गर्ने यिनीहरूको विचारलाई मेरो मनले सलाम ठोक्यो । बिहानैदेखि मसँग बोल्न मन लागेको थियो रे । आज आठ-नौ बजे पाल्कीको कार्यक्रम हुन्छ । ७ बजे नै आउनु सँगै हेरौँला भन्दै गला मिलाइन् । वैवाहिक जीवनको शुभकामना दिएँ, केटाकेटीको साथी भेटिएझैँ लाग्यो । मित्रताका लागि साँधसीमा नतोकिएझैँ समय पनि नलाग्ने रहेछ । साँच्चै मान्छे मनको दास रहेछ । बेलुका बाजागाजा, नाचगानको साथ धुमधामले द्वारिकामाईबाट पाल्की निक्लियो । १० बजे समाधि मन्दिर प्रवेश गरी पाल्कीको कार्यक्रम टुङ्गियो । भीडमा इन्दुसँग भेट भएन । बाबाले ध्यान गरेको निमवृक्षको पात टिप्न तँछाडमँछाड हुनेरहेछ । नीमको पात तीतो हुन्थ्यो, त्यो रूखको पात भने गुलियो रहेछ । वरिपरि घेरेको रूखमा बतास लाग्दा मात्र पात झथ्र्यो । बच्चाझैँ भीडमा आन्टीहरू र मैले पनि एक मुठ्ठी पात टिप्यौँ घण्टाँै लगाई । राजेश अङ्कलले सिँगापुरबाट फोन गरिरहनु हुन्थ्यो सरिता आन्टीलाई । ईश्वरी बहिनी छन् भन्दै हास्नुहुन्थ्यो । अङ्कल चाहिँ हुन्देउँन उनले पनि सिक्नुपर्छ भन्दै जोक चल्थ्यो फोनमा । बिहे गरेको दुई दशक काटिसक्यो, हुर्किसकेका छोराछोरी । उनीहरूको प्रेम देख्दा भने भर्खरै प्रेम बिहे भएर पहिलोपल्ट छुट्टएिको जोडीजस्तो लाग्थ्यो । सेवा र दर्शनमा जाँदा सैयौँ मिसकल आउँथे । त्यस्तो प्रेमीले जोडी पहिलोपल्ट देखेँ । श्रीमती नभएको मौकामा चौका हान्दै अरू ठिटीहरूसँग रलिने र मोजमस्तीमा झुम्ने पुरुषको जमातमा राजेश अङ्कल मेरा लागि आदर्शपुरुष सावित हुनुभयो । टिकट लिँदा भेटेकी थिए राजेश अङ्कलका जोडी र शान्ति आन्टीलाई । उच्च वर्गका भए पनि साधारण र असल थिएँ । शान्ति आन्टीका श्रीमान् शङ्कर राई प्लास्टिक सर्जन हुनुहुन्छ अन्तर्राष्ट्रिय मानसम्मान प्राप्त । शान्ति आन्टी पनि सरल र सहज हुनुहुन्थ्यो उनलाई पनि शङ्कर अङ्कलले फोन गरिरहनु हुन्थ्यो ।

भोलिपल्ट हामीलाई पुट्टापर्ती फर्किनु थियो । बिहानको आरतीमा सामेल भयौँ । पुना जाने बसको टिकट ९ बजेको थियो, बस्न मन हुँदाहुँदै सबै मन्दिर घुम्यौँ । जसरी विवाह गरेकी छोरी पहिलोपल्ट माइत आएर घर र्फकंदा गह्रौ मन हुन्छ, त्यस्तै मन लिएर फक्र्यौं । बस अहमदनगरहुँदै बत्तियो । हेरेर नसकिने फराकिला फाँटहरू नाङ्गा र चिल्ला पहाड महाराष्ट्रको एउटा कुनामा मात्र यत्रो फराकिलो जमिन छ भने पूरै इन्डियामा कति होलान् यस्ता फाँटहरू । ४ बजे पुना पुग्यो बस । आफ्नै सभ्यता, संस्कृति बोकेको पुना नेपाली चेली बेचिने प्रमुखस्थलको रूपमा प्रख्यात रहेछ । ठूलो सुविधा सम्पन्न जक्सनको सार्वजनिक प्रतीक्षालयमा २ बजे रातिसम्म बस्न पर्‍यो । बेतका कुर्सीमा कुशन बिछ्याएको देख्दा सफा आकर्षक नै लाग्थ्यो । खैलावैला मचायो उडुसले । भीआईपी लाग्ने इन्डियनहरू भने चुपचाप आराम गरेर बसेका । कोही च्यादर ओछ्याई भुइँमा सुतेकाले के भयो ? भन्दै हामीलाई सोधे ।

खटमरले टोक्यो भन्नु भयो अन्टीले । कहिले २ बज्ला र टे्रन चढ्न पाइएलाजस्तो भयो । साँझ ५ बजे प्रशान्ति निलयम पुग्यौँ । शिरिडी साई र सत्य साईको फोटोले मन तान्यो । अटो लिई पुट्टापर्ती पुग्दा ६ बज्यो । साईबाबा भजन गाउँदै हुनुहुदोरहेछ । सामानसहितै सुत्याँै । चैतन्य ज्योतिमा पन्ध्र दिने सेवाको अवसर यसबखत नेपाललाई मिलेको थियो । पाँच नारी पाँच पुरुष गरी जम्मा दस जना थियौँ । पहिला दुई पटक गएर पनि त्यहाँभित्रको बारे अनभिज्ञ नै थिए । पहिला ध्यान नदिएका विषयवस्तुहरूमा यो पटक ध्यान केदि्रत भयो । साईबाबाको विशाल ट्रस्ट सम्पूर्ण सेवाकार्यमा चलेको रहेछ । कुलवन्त हल, जनरल अस्पताल, प्रसिद्ध सुपरस्यालिटी अस्पताल, सपिङ सेन्टर, स्कुल, कलेज, शिवालय, मठमन्दिरलगायत त्यहाँका कफी सपहरूसमेत चलेको देख्दा अचम्म लाग्यो मलाई । त्यहाँ पर्मानेन्ट स्टाफ भनेको नगण्य रहेछन् ।

नेपाल र दार्जिलिङका गरी चालीस, पचास जना नेपाली स्वयम् सेवा, जागिर र व्यापार गरी वषौर्ंदेखि बस्दै आएका रहेछन् । नारायण चौर साई मन्दिरका गणेश साईरामका दाजुभाइ पनि स्थायी सेवा गरी वसेका रहेछन् । त्यहाँ नेपालीका धेरै घर र फ्ल्याट रहेछन् । दर्शनको हलमा पनि धेरै नेपाली भेटिन्थे । विविध जातजाति, भाषाभाषी, देशदेशान्तरका मान्छे सवै एउटै छानामुनि बसेर लगातार शान्तपूर्वक सेवाकार्य गरिरहने । सबै मिलेर मानव सब भाइवन्धुको राम्रो उदाहरण दिन्छ प्रशान्ति निलयमले ।

मानवता र आध्यात्मिकताको सूत्रमा आवद्ध मानिस सम्पूर्ण विभेदहरूभन्दा पृथक हुँदारहेछन् । म बस्ने कोठामा अमेरिका, श्रीलङ्का, जर्मनी, इजरायल र नेपालका मसहित ५ जना थियौँ । जुन फरक सांस्कृतिक पृष्ठभूमि, फरक भाषा, फरक जीवनशैलीका बाबजुद पनि हामीबीच अत्यन्तै आत्मीयता थियो । एउटै परिवारका सदश्यझँै भएका थियौँ हामी । बाबाले सर्वधर्म र भाइचारामा जोड दिनुभएजस्तै अनुभूत भयो ।

आस्था र विश्वासको एउटा ज्वलन्त उदाहरण देखेँ । एउटी काठमाडौँ वानेश्वर घर भई जापानमा बस्दै आएकी साई भक्त सुत्केरी हुन नेपाल नआई सीधैँ प्लेनबाट पुट्टपर्ती पुगेकी थिइन् । सुत्केरी स्याहार्न काठमाडौँबाट दिदी झिकाएकी रहिछिन् । पाँच छ महिना त्यही बस्ने रे । कत्रो आस्था र विश्वास ।

यट्याच बाथरुम भएको ठूलो कोठामा सिमेन्टको र्‍याकमा अमेरिकाकी डेना र श्रीलङ्काकी कान्दयाले भगवान्का तस्बिर र अन्य सजावटका सामान आकर्षक ढङ्गले सजाएका थिए । श्रीलङ्काकी अम्मा नियमित योग र ध्यान गरेर मात्र कुलवन्त हल दर्शनमा जान्थिन् । अरूसँगभन्दा मसँग बढी खुलिन् । उनी अविवाहित रहिछन् । साई बाबालाई नै सबथोक मानेर बसेकी रहिछन् । आमाबुबाको मृत्यु भइसक्यो, दाजुभाउजू र भाइबुहारीसँगै बस्छु । भन्दाभन्दै भक्कानिएर रोइन् । मेरा पनि आँखा रसाए ।

दुःखसुख, आत्मापरमात्माका कुरा भए । कोलम्बो पुगेर पनि फेरि अर्को प्लेनबाट जानुपर्छ रे उनको घर । प्रायः जसो बर्सेनि आउँछिन् रे । मैले ठट्टा गर्ने हिसाबले हनुमानको तस्बिर हेर्दै लङ्का रावणको देश होइन ? भनी नभ्याउँदै, हतपत राम्रोनराम्रो भन्ने कुरा जहाँ पनि हुन्छ नराम्रो भएरै राम्रो कुराको मूल्य मान्यता हुन्छ भनिन् उनले । हामी भन्दा अघि नै फर्किनु थियो उनलाई । साई बाबासँग छुट्टनिु पर्दाको पीडा पोखिन् । कसरी छोडेर जाउँ स्वामीलाई भन्दै धेरैबेर रोइन् । म पनि नरोई बसिरहन सकिनँ । साँच्चै मनको नाता कति बलियो र आत्मीय हँुदोरहेछ । उनी कहाँकी म कहाँकी, एकसाथ बसेर दुःख सुख बाँड्दै रोयौँ ।

पाँच महिला, पाँच पुरुष गरी दस जना नेपाली सेवाका लागि गएका थियौँ । १५ तारिखबाट सुरु हुने सेवा कार्य शिव साईरामहरूले पुगेकै भोलिपल्टदेखि गर्न थाल्नु भएछ । चन्दा, देवी, शिव, विनोद र सुरज साईरामहरूले १९ दिन सेवा गर्नुभयो । हामीले १५ दिन मात्र सेवा गर्ने अवसर पायौँ ।

चन्दा आन्टी र विनोद दाइ पहिलेदेखि नै मुख्य चेकिङमा हुनुहुन्थ्यो । म, एम. पी. की एक आन्टी र केटाहरू तीन जना गरी जम्मा छ जना थियौँ चेकिङमा । शिव अङ्कल चैतन्य ज्योति फिल्म हलको द्वारपाल हुनुहुन्थ्यो । शान्ति, सरिता र देवी आन्टीको भित्री ढोकामा ड्युटी थियो । बिहान २/३ बजे उठ्यो नुहाइधुवाई गर्‍यो । ॐकारम, नगरसङ्कीर्तनबाट फर्किएर चिया खाजा खाई ८ बजेदेखिको सेवामा गयौँ । १-२ दिन सारी लगाउन आन्टीहरूले सिकाउनु भयो । कहिले श्रीलङ्काकी अम्माले सिकाइन् । मैले पनि ५ मिनेटमै लगाउन जान्ने भएँ ।

चैतन्य ज्योतिका प्रमुख कणेल वोस, पाण्डे सर, कौशिक सर सम्झनाका पात्र हुनुहुन्छ । हामी नेपालीलाई धेरै माया र सम्मान गर्नुभयो । हामी विदेशी भएकाले विशेष प्राथमिकता दिनुहुन्थ्यो । हामीलाई सहुलियत दिए पनि एम. पी.का ६०/७० जना सेवादलले गर्नेजस्तै जानासाथ वडारकुडार गथ्र्याैं । सफा गर्ने ठाउँ भाग लगाएको थियो । हाम्रो भागमा कणेल बोसको अफिस कोठा परेको थियो । हामी परदेशीको कत्रो विश्वास, बारम्बार सबै सरको मुखमा नेपाल थियो । नेपाल जैसा भनेर उदाहरण दिइरहनुहुन्थ्यो । हरेक कुरामा हाम्रो तारिफ हुन्थ्यो । हुन पनि हामीले सकेसम्म त्यहाँको अनुशासन पालन गरेका थियौँ । हरेक कुराको नियम भएअनुसार सेवामा पनि पहिला ॐकारम, आध्यात्मिक चर्चा साईबाबासम्बन्धी कथा सुनाउनुहुन्थ्यो सरहरूले । समय रहेको बेला सबै सेवा दलले साईबाबामा प्रभावित हुनुको कारण बताउँदा लाग्थ्यो सबैको समस्यालाई साई बाबाले कुनै न कुनै रूपमा समाधान गरेकाले दुई, चार र छ महिनामा रोटेसन गर्दै सेवा गर्न आउँदारहेछन् । बिहान साढे आठ नौ बजेदेखि भिजिटरहरू आउन थाल्छन् १२ बजेसम्म । यात्रामा धेरै थरिका मान्छे भेटिँदा अनुभवको भण्डारण हुँदोरहेछ । कोहीको जीउ छँुदै झसङ्ग हुने, कडा थियो चेकिङको नियम । केटाकेटीको चेकिङको लाइन अलग्गै हुन्छ । मोबाइल, क्यामरा, क्याल्कुलेटरलगायत खैनी, सुपारी, फलफूल, नेलकटर चक्कु आदि सामान लैजान बर्जित थियो । भी.आई.पी. देखि आदिवासीहरूसम्म त्यहाँबाटै आउँथे । पूरा शरीर छाम्नु पर्ने । वेटा, गुडिया, लड्का भन्दै उल्टै मलाई नै जाँच्न खोज्थे । दिनमा हजारौँ आउँथे । ढ्वाक, पैसा, मनि, पर्स हे कुछो नहि थरिथरिको भाषा सुनिन्थ्यो । पत्रैपत्रको गजवको लामो ठूलो थैलोमा पत्र हेरेर नसकिने खैनी,

तमाखु, सुर्ती, सुपारीका कुडका, पान पराग हालेर ल्याउने पाँच मिनेटमा पनि हेरेर नभ्याउने । पान सुपारी खाँदै आए, बसाएर खान सकाई मुख कुल्ला गरेर मात्र भित्र पठाउने नियम थियो । त्यस्तो कडा चेकिङमा पनि एक दिन मोबाइल, अर्को दिन नयाँ चप्पल लुकाएर लगी प्रयोग गरेछन् । लान बर्जित सामानहरूको सूचना स्पष्ट टाँसेको हुँदाहँुदै पनि लाने । त्यसैले भन्छन् मान्छेजस्तो ज्याद्रो प्राणी अरू छैनन् । दर्शन हलमा झन् साह्रो पर्सको पनि साइज तोकिएको हुन्छ । धर्मको नाममा हिंसा, प्रतिहिंसा भएको अवस्थामा यहाँ भने धर्मको बन्देज छैन । सबैलाई स्वागत छ । एउटै सर्त छ केटीका लागि सारीचोलो अथवा कुर्ता सुरुवाल । सिलिपलेस लुगा वर्जित छ । शरीर ढाकेर बस्नुपर्ने नियम छ । केटाका लागि सकभर सेतो कमिज सुरुवाल नत्र सेतो पाइन्ट अनिवार्य छ । सेवादलमा प्रत्येक दलका ग्रुप लिडर हुन्छन् । उसकै निर्देशन अनुुसार सेवा गर्नुपर्छ ।

हामीसँग सेवा गर्ने एम.पी. ग्रुपकी एउटी खैरिनी थिइन् । कागको हूलमा बकुल्लोझैँ लाग्ने उनी एम. पी.कै रहिछन् । सानैमा अनुहारभरि टाटेपाटे दूवी आएको रहेछ । पहिलेदेखि पुट्टपर्ती आउने गर्दी रहिछन् । कि पूरै सेतो बनाइदेउ कि निर्मूल वनाई देउ यो टाटेपाटेबाट छुटकारा देउ भन्दै भक्तिभावले प्रार्थना गरिछन् । त्यही बेलादेखि पूरै सेतो भएको रे । यो सब स्वामीको कृपा भन्दै खुसीका आँसु झारिन् । आन्टीहरूले गरेको छोरीको व्यवहार र त्यहाँको व्यस्तताले घरमा फोन गर्न समेत भुलिछँु । वर्षौंदेखि त्यहीँ बसेजस्तो घर नफर्कियौँ जस्तो भयो । मान्छे त्यही भएर जोगी बन्दा रहेछन् । घरव्यवहार यावत किसिमका कचिङ्गल भन्दा यस्तै जीवन सुखद हँुदोरहेछ र पो मान्छेले गृह त्याग्दा रहेछन् । जोगी बन्नुको रहस्य वोध भयो र घरको मोह भङ्ग भयो । छ रूपियाँ कुपनले खाना साउथ क्यान्टिनमा खायौँ । नर्थको पञ्जावी क्यान्टिनमा डाडुको हिसाबले पैसा तिरी खाँदा स्वाद फेरिन्थ्यो । ओएस्टन क्यान्टिनको फेन्च, इटालियन खाना पनि चाखियो । बाहिरको नेपाली खाना पनि खान भ्यायौँ ।

चैतन्य ज्योतिमा बिहान ८ बजेदेखि १२ बजेसम्म र, १.३० देखि ५ बजेसम्म सेवा हुन्थ्यो । भित्र चैतन्य मन्दिरमा आधा घण्टा सेवा गरी कुलवन्त हलमा बाबाको दर्शन गर्न दौड्यौँ । साँझमा दसैै जना सेवादल चउरमा जम्मा भई आइसक्रिम केक, फुरनदाना, अचार खादा सारै आनन्द आउँथ्यो । हरियो चौरमा दुनियाँ भुलेर घर व्यवहारदेखि उन्मुtm भई फूलको सुगन्धित वातावरणमा सुस्ताउनेको जमात देखिन्थ्यो । बाबाको जन्मस्थान मन्दिरभन्दा केही पर पर्छ । बिहान हस्याङफस्याङ गर्दै गए । एम.पी.का सेवादल रहेछन् । नरिवल गुलाबको फूल राखिदिएँ मुख्य पुजारी आइपुगेका थिएनन् । सेवादल साईरामले वेटा साँझ आरतीमा आउनु भन्नु भयो । आरती ६ः३० मा हँुदोरहेछ । आरतीपछि ११ कक्षा पढ्दै गरेको छोरालाई साथी पठाउनुभयो । अकेला मत जा वेटा भन्दै । केहीसमय भए पनि झन् नातावन्धनबाट मुक्त हुन गएकी झन् नाता गाँस्न आउनेको जमातै भेटिए । व्रत थियो मेरो नरिवल पानी र शिवजीलाई चढाएको दही दिनुभयो । गुडिया फोन नम्बर देऊ, पशुपतिनाथ आउँदा गर्छु भनेर फोन नम्बर लिनुभयो । इन्डियनहरू नेपाललाई शिर र पवित्रभूमि मान्दारहेछन् । हुन पनि यहाँबाटै बगेर गएका छन् नदीहरू । शिरिडीको बुक स्टलमा पनि मलाई प्रान्त सोधे नेपालभन्दा विश्वास गरेनन् । आन्टीले भनेपछि मात्र विश्वास गरे ।

मान्छे जहाँका पनि एकै न हुन्, काट्दा रगत रातै आउँछ । नेपालको स्कार्फ लगेको थिएनँ । त्यहाँको स्कार्फमा देश छुटट्याउने कुरै भएन । बिहानको कलिलो घाममा रङ्गशालाको पारि लामवद्ध नरिवलका रूख, स-साना चिटिक्क परेका पहाड मानाँै बादलले बिट मारेर आकाशको अन्त्य त्यहीँ भएको होस् । कमलको फूलमाथि पृथ्वीलाई एक औँलामा अड्याएको ठूलो स्तम्भ । सिँडीको मुनि छानो पानीघट्टाको शैलीमा कृत्रिम झर्नाको झरझर आवाज रङ्गीचङ्गी माछा, चाइनिज शैलीको भवनमा ईश्वरी र वैज्ञानिक शक्तिको समीक्षा जीवन्त लाग्थ्यो । त्यस्तो सुन्दर ठाउँको ड्युटीमा थाहै नपाई बिते पन्ध्र दिन ।

नातिनातिना भएकी डेना वषौर्ंदेखि साईभक्त भई ध्यानयोग सिकाउँथिइन् । श्रीमान्को मृत्यु भएपछि त झनै देश विदेश गएर सिकाउदिरहिछन् । हामी बस्दाबस्दै श्रीलङ्का गइन् तीन दिनका लागि । बिहानीपख कहिलेकाही हामीलाई पनि ध्यान सिकाउँथिइन् । जीवनजगत् बुझेकी उनी मिलनसार थिइन् । एक दिन बिहान सेवामा जाँदा सबै सामु कौशिक सरले सबै आप किसका साथ घुमरहिथि ? भन्दा झसङ्ग भएँ । बिहान डेनासँग गणेश, गायत्री र लक्ष्मी मन्दिर गएकी थिएँ ।

त्यहाँभित्रको नियम र अनुशासनको उदाहरण हो एउटा । शिरिडीको आरतीमा अघिल्तिरको लाइनमा बाहेक अन्यत्र केटाकेटी छुट्टिँदैन तर पुट्टपर्तीमा भने मन्दिरमा दर्शन, खाना, स्टलदेखि हरेक ठाउँमा केटाकेटी छुट्टन्िछन् । क्यान्टिनमा लाइन, सपिङ सेन्टरमा लाइन, चैतन्यज्योतिमा लाइन, प्रत्येक काम कुरामा नियम र अनुशासन हुन्छ ।

यात्राअघिको त्यो जिज्ञासा, कौतूहल कति चाँडै समाप्त भयो । एक महिना बितेको पत्तै भएन ।

आफन्तका यादहरू, आमाको ममताको आँचल, बाडुली सम्पूण भुलेछु । छुटेका रेलका डिब्बाझैँ मान्छेसँगको मिलन-विछोड । मान्छेलाई किन दियो कोमल मन । कणेल बोसलगायत सरहरूले हामीलाई नेपाल भनेर बोलाउनु हुन्थ्यो । सेवा सकिनासाथ हामीलाई एम.पी. ग्रुपभन्दा पहिले नेपाल जाउ भन्नुहुन्थ्यो । अभिसे आपने हमको नेपाल भेजदिया हामारा सेवा तो अभि बाँकी हैं आन्टीले भन्दा अभि दर्शनमें जाना भन्दै हाँस्नु हुन्थ्यो । नेपालको यति तारिफ यति धेरै माया सम्झदा पनि आनन्द आउँछ । बिदाइको दिन कणेल बोस, पाण्डे सर, कौशिक सरका भरिएका आँखा रुवाइको आवाज अझै ठोक्किन आउँछ मेरो कानमा ।

चन्दा आन्टीहरूको त्यहीको टिकट हुँदा एक रात बढी बस्नुभयो । हामी भने बिहानै सुमो रिजर्ब गरी महिसुर गयौँ । २-३ बजेतिर श्रीरङ्गपटानम पुग्यौँ । चिटिक्क परेको भवनको एउटा ठूलो हलमा साईबाबा सिरिडी बाबाका विभिन्न स्वरूपका तस्बिर, मूर्ति, आशन सजधजका साथ राखेको रहेछ । श्रीरङ्गपटानमा जहाँ हरिअप्पा गुरुले दर्शनार्थीको हातमा शिवलिङ्ग राख्दिनेरहेछन् । उक्त शिवलिङ्गबाट “अमृत” महजस्तो गुलियो पदार्थ आउँदोरहेछ ।

यो मन्दिरको विशेषता भनेको यही अमृत रहेछ । यी हरिअप्पा पहिला नामुद डाँकु रहेछन् । सत्य साइबाबाको आर्शीवादले उनको जीवनमा परिर्वतन आएछ र साईबाबाबाट शिवलिङ्ग प्राप्त गरी कावेरी नदीको तीरमा मन्दिर निर्माण गरी बसेका रहेछन् । साईबाबाका तस्बिरबाट आएको विभूति, अमृत सबैलाई बाँडेर बाल आश्रम बनाइ बसेका रहेछन् । पशुपतिनाथ मन्दिरको पूर्वी ढोकाबाट बागमती गएझैँ । मन्दिरबाट पश्चिम ठूलो ढोका खोल्दा सफा कञ्चन बगेको कावेरीले मनै हर्ने रहेछ ।

यसन्तपुरबाट बिहान ३ बजेकै टे्रनको टिकट भएकाले एकडेढ घण्टा बसी सोही गाडीमा यसवन्तपुर हुइँकियौँ विकासले फड्को मारेको बेङ्गलोर सहर निहाल्दै । दसैँ आइसकेको भएर रेलमा आधाभन्दा बढी नेपाली थिए । अध्ययनका लागि गएका, रोजगारीका लागि गएकाहरू दसैँ मान्न आ-आफ्नो घर फर्किंदा गाएर, नाचेर रमाइरहेका थिए । प्रशान्ति निलयमवाट देवी आन्टीहरू चढ्नु भयो । काठमाडौँमा कहिल्यै नभेटिएका मान्छेसँग पनि भेटियो । यात्रालाई रमाइलो बनाउँदै फूलपातीको अघिल्लो दिन घर फर्किएथ्यौँ ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *