Skip to content
PrakeshShindhuliya-02


आज
मन मरेको दिन …
म कहाँ छु थाहा छैन ।

मेरो जन्मदेखि आजसम्म
    जत्तिकै धुइँपत्ताल खोजौँ,
    जत्तिकै साक्षीलाई सोधौँ,
    जत्तिकै घमण्डमा उफ्रौँ,
मेरो अस्तित्व बताउने
एक वाक्य पनि पूरा भएको छैन ।
त्यही अपूरो वाक्य च्यापेर
व्याकरण सिक्न भौँतारिएको छु म यताउता ।

आज मन मरेको दोस्रो दिन
म काठमाडौँमा छु ।

म उभिएको धरातल
मैले देखेको परिवेश
मेरो नजिक … तर विराना छन् ।
मैले खोजेको आकाश मलाई जिस्क्याइरहेको छ कतैबाट ।
चोर–पुलिस या लुकामारीजस्तो
म खोज्दै छु, ऊ लुक्दै छ ।
    त्यही कान्लो – जहाँबाट मैले हामफाल्न सिकेँ,
    त्यही चउर – जहाँ मैले दौडन सिकेँ,
    त्यही खोला – जहाँ मैले पौडन सिकेँ,
मेरो असफलतामा हाँसिरहेका छन्,
मलाई गिज्याइरहेका छन् ।

आज मन मरेको तेस्रो दिन
म विराना टारहरूमा छु ।

मेरो मस्तिष्कभरि
कुहिरीमण्डल धुवाँ छाएको छ
नशानशामा पारो चढ्दै छ
शरीरभरि कम्पन उम्रँदै छ
मेरो तीव्र स्वासले
हावामा वेग थपिरहेको छ ।
यतिबेला संसारभरका सारा कष्टहरू मभित्र छन्
चिरा परेका सारा जमिन मेरो छातिभित्र छन्
म भुत्भुताउँदै चिच्याउन खोजिरहेको छु ।

आज मन मरेको चौथो दिन
म मनबाहिर छु ।


sindhuliya_prakesh@yahoo.com
sindhuliya.prakesh@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *