एकातिर शङ्करले ब्रह्म र ईश्वरमा विभेद गरेका छन् भने अर्कोतिर आचार्य रामानुजले ब्रह्म ईश्वरलाई एउटै मानेका छन् । शङ्कर अनुसार ब्रह्म निर्गुण र ईश्वर सगुण हो तर रामानुज अनुसार ब्रह्म सगुण हो । ब्रह्ममा सत्य, ज्ञान एवं आनन्द आदि नित्य परमश्रेष्ठ गुणहरू विद्यमान छन् ।
रामकथाले समस्त हिन्दू संस्कृतिलाई मात्र जोड्ने काम गरेको छैन कि उत्तरी भारत, दक्षिण र पूर्वी एसियाली भूखण्ड तथा विश्वका अन्य भूभागहरूमा पनि मानवीय नैतिक मूल्य र मर्यादाप्रति सजगताको प्रवर्द्धन गरेको अनुमान गर्न सकिन्छ । सन्त तुलसीदासद्वारा पश्चिमी नेपालको सशक्त भाषा अवधीमा रचित रामचरित मानस एउटा यस्तो महाकाव्य हो जसले पश्चिमी मध्ये र पूर्वी मध्यलाई एक प्रदेश मात्र बताएको छैन कि दक्षिण अफ्रिका तथा वेस्ट इन्डिस द्विप समूहमा छाडिएका भारतीय मूलका बासिन्दाहरूलाई समेत एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।
यस महाकाव्यबाट सन्त तुलसीले बाल्मिकि रामायणका नायक पुरुषोत्तम रामलाई शङ्कराचार्यको सच्चिदानन्दको रूपमा ब्रह्मको रूपमा स्थापित गर्दा आचार्य रामानुनको ब्रह्म जो भगवान हो त्यसमा परिणत गरी लाखौँलाख हिन्दू धर्मावलम्बीहरूका लागि भगवान रामलाई आराध्यदेवको रूपमा स्थापित गर्ने एउटा दार्शनिक प्रयासको रूपमा रहेको अनुभूति हुन्छ । अर्को शब्दमा भनौँ, सगुण राम निगुण ब्रह्म कसरी हुन सक्दछन् भन्ने विषयको व्याख्या सन्तको प्रमुख उद्देश्य रहेको देखिन्छ । सन्त लेख्दछन्, “हरि अनन्त हरिकथा अनन्ता । कहहिं सुनहिं बहुविधि सब सन्त ! । भगवानका कथाहरू अनेक छन् जसलाई विभिन्न सन्तहरूले वाचन गर्छन् र सुन्दछन् । बालकाण्डमा कुंभज ऋषिबाट भगवान शङ्कर र जगतवासी सतीले राम कथा सुनेको प्रसङ्ग देखिन्छ ।
रामचरितमानसको आत्मा वेदान्त दर्शन हो र रामकथा त्यसको शरीर हो भन्ने उक्ति अतिशयोक्ति होइन । किनकि मानसको आरम्भदेखि अन्तसम्म रामलाई ब्रह्माको रूपमा निरूपण गर्ने प्रयास सन्तले बडो मार्मिक र सशक्त ढङ्गले गरेको देखिन्छ । महाकाव्यको मङ्गलाचरणमा “माया ब्रह्म जीव जगदीश’, ‘गई चेतन गुन दोषमय विश्व किहृन करतार’ जड चेतन जगजीवन्त सकता राममयजाति रसीय राममय सब जग जानी आदि भनाइहरूले निजको दर्शनलाई छर्लङ्ग गर्दछन् । यसै प्रसङ्गमा कवि भन्दछन् ।
दोक्ष सारप सेस महेश विधि अगमचित्र म पुरान
नेति नेति कहि जासु गुण करहिं निरन्तर गान’
यसै प्रसङ्गमा रामको अवतारको सन्दर्भमा कवि लेख्दछन्
‘एक अनीह अरूप अनामा । अज सच्चिदानन्द परधामा ।।
व्यापक विस्वरूप भगवान । तेहि धरि देह चरित कृत नाना’
जनकपुरमा रामको विवाह शिवधनुष भङ्गबाट सम्पन्न भएपछि आफ्नो जन्मभूमि अवधतिर फर्कन लाग्ने बेला राजा जनकले रामलाई ब्रह्मको रूपमा लिएको देखिन्छ । उनी भन्दछन्
‘व्यापक ब्रह्म अलख अविनासी । चिदानंदु वीरगुन गुनरासी ।
रामसमेत जेहि जान न बानी । तरकि न सकीह सकल अनुमानी ।।
अयोध्या काण्डमा गङ्गा तर्नुपूर्व राम, सीता र लक्ष्मणलाई भूमिमा सुतेको देखी निषदराजलाई चिन्ता लागी लक्ष्मण यसरी बुझाउँछन्, “राम ब्रह्म परमारथ रुपा । अविगत अलख अमादि अनूपा ।” वनवासको क्रममा तीनैको हिँडाइलाई सन्तले वेदान्त दर्शनको आधारमा निरुपण गर्दछन् ,”उगमबीच सिय सोहति कैसे । ब्रह्म जीव बीच माया जैसे । किस्किन्धा काण्डमा सीताको खोजीमा लागेका बाँदरहरू निराश हुँदा जाम्ववानअङ्गदलाई यसरी विश्वस्त पार्छन् तान राम कहं नर जनि मानहुँ निर्गुण ब्रह्म अगित अज जाग्छु ।’ लोकाकाण्डमा मान्यवंतले रावणलाई रामलाई ब्रह्मको रूपमा बुझ्ने सल्लाह दिन्छन्, त्यस्तै रावणको मृत्युपछि मन्दोदरीले पनि रामलाई ब्रह्मको रूपमा नमस्कार गर्छिन् । उत्तरकाण्डमा मुनि वशिष्टले रामलाई ब्रह्मको रूपमा मानी उनको चरणमा निरन्तर भक्तिका लागि प्रार्थना गर्दछन् । गरुप कागचुसुण्डी संवादमा पनि रामलाई ब्रह्मको रूपमा स्थापित गरेको पाइन्छ । यस किसिमले मानसको आदिदेखि अन्तसम्म राम ब्रह्मको रूपमा स्थापित छन् ।
ब्रह्मको विचार उपनिषद्हरूको चिन्तनको केन्द्रमा रहँदै आएको छ । तर ब्रह्मको स्वरूपको सम्बन्धमा वेदान्तिक विभाजित छन् । जसले गर्दा वादनारायणको ब्रह्म रूपको भास्यसनको आधारमा अद्वैत, द्वेता द्वैतपूर्व, विशिष्ट द्वैत र शुद्ध छैन जस्ता सिद्धान्त परिपादित भए ।
बलदेव उपाध्याय अनुसार (भारतीय दर्शन, पृ.७५-७६, तृतीय निष्कटप, १९४८ ई) कुनै पनि वस्तुमा दुईवटा गुजारा रहन्छन् सकारात्मक नकारात्मक वस्तुमा जुन विद्यमान रहन्छ त्यो सकारात्मक गुणहीर जसको अभाव रहन्छ त्यो नकारात्मक गुण हो । उपनिषद्हरूमा ब्रह्मका दुवै गुणहरू, विशेष वा सगुणरूप तथा निर्विशेष वा निर्गुण रूपको वर्णन छ । विद्वानहरूले यी दुवै भावहरूलाई प्रस्ट गर्न निर्विशेष भावलाई ‘परब्रह्म’ र सविशेष भावलाई ‘अपरब्रह्म’को संज्ञा दिएका छन् । निर्विशेष ब्रह्म त्यो हो जसलाई कुनै विशेष गुण वा लक्षणसित युक्त गर्न सकिन्न । यसलाई कुनै चिन्हको माध्यमबाट मस्तिष्कमा धारण गर्न सकिन्न । ब्रह्मलाई यस्ता गुणहरूसित जोड्न सकिँदैन जसलाई बुद्धिले ग्रहण गर्न सकोस् । यसै निर्विशेष भावलाई निर्गुण, निरुपाधि एवं निविर्कल्प आदि भनिन्छ । यसको विपरीत हो सविशेष भाव, गुण, चिन्ह, लक्षण र विशेषताहरूको अस्तित्व रहन्छ जसबाट त्यसको स्वरूप हृदय एवं मस्तिष्कमा ग्राह्य हुन्छ ।
आचार्य शङ्करले निर्गुण ब्रह्म मात्र परमतत्व मानेका छन् जसलाई सच्चिदानन्द भनिन्छ । परमतत्व शुद्धसत्ता, शुद्ध चेतना र शुद्ध आनन्द हो । मायाद्वारा आवृत ब्रह्म नै ईश्वर हो । विश्वमा देखिएको अनेकत्व ब्रह्मको विर्वत हो । ब्रह्म निवैमाद्रिक हो । यो नै शङ्करको पारमार्थिक दृष्टिकोण हो । तर व्यावहारिक दृष्टिमा ईश्वर यस विश्वका स्रष्टा, पालनकर्ता र संहारकर्ता हो । त्यो सर्वज्ञ र सर्वशक्ति सम्पन्न हो । यस रूपमा त्यो सगुण ब्रह्म र उपास्य हो । उसले जीवलाई कर्मअनुसार फल पनि प्रदान गर्दछ । ब्रह्मानुभूतिबाट जीवनमुक्ति प्राप्त हुन्छ जसमा ब्रह्म जीवात्मा एकात्म्य हुन्छन् ।
एकातिर शङ्करले ब्रह्म र ईश्वरमा विभेद गरेका छन् भने अर्कोतिर आचार्य रामानुजले ब्रह्म ईश्वरलाई एउटै मानेका छन् । शङ्कर अनुसार ब्रह्म निर्गुण र ईश्वर सगुण हो तर रामानुज अनुसार ब्रह्म सगुण हो । ब्रह्ममा सत्य, ज्ञान एवं आनन्द आदि नित्य परमश्रेष्ठ गुणहरू विद्यमान छन् । रामानुजको ब्रह्म निगुण पनि हो किनकि ब्रह्म प्रकृतिजन्य अशुद्ध गुणहरू विहीन पनि हो । रामानुज अनुसार परमतत्व ब्रह्म एउटै हो तर त्यो चेतन र अचेतन दुवै तत्वले विशिष्ट वा युक्त हो । ईश्वर अंशी तथा जीव अंश हो । रामानुज अनुसार मोक्ष प्राप्ति पनि ब्रह्म जीवमा भेद कायम रहन्छ । मुक्त आत्मा शुद्ध चेतनायुक्त तथा अन्य अपूर्ण गुणहरूबाट अप्रभावित रही ईश्वर समान बन्छ र तीनको सामान्य प्रकृतिले गर्दा ब्रह्म र जीवमा एकात्मक वा ऐक्य मानिन्छ । रामानुज अनुसार जीवनमुक्ति सम्भव छैन, मात्र विदेह मुक्ति नै सम्भव छ । वैकुण्ठमा भगवानको दास वा सेवक बन्नु वा दासत्व नै परममुक्ति हो ।
रामचरित मानसको आदिमा नै तुलसीले आफ्नो वन्दनाको क्रममा रामलाई सच्चिदानन्द मानेका छन्, व्यापक एक, ब्रह्म अविनासी । भूठेउ सत्य जाहि बिनु जोन । जिमी भुनंग विनु रजु पहिचाने जेहि जाने जत्र जाई हेराई । जागे गया सपन भ्रम जाई ।’
अर्थात् राम ब्रह्म हो जसको यथार्थ इसबाट यस जगतको अस्तित्व त्यसै रूपमा भेटिन्छ जसरूपमा निद्राबाट ब्युँझेपछि सपना रूप भ्रम मेटिन्छ । तुलसी शङ्करको अनुशरण गर्दै भनेका छन् कि ब्रह्मको एकमात्र सत्ता हो र अज्ञान वा अविधाले गर्दा जीवले अनेक तलाउ सत्य ठान्दछ । शङ्करको अद्वैतलाई स्वीकार्दै उनी भन्छन्- ब्रह्मको स्वरूपलाई माया वा अविधाता हाँक्न सकिँदैन जसरी बादलले सूर्यलाई । उनी भन्छन्, जथा गगन धन पटल निहारी । झापेड भानु कहहिं कुविचारी । माया वा अविधाले गर्दा ब्रह्म एउटै देखिँदैन जसरी आँखा अगाडि आफ्नो आगुल गावर चन्द्रमालाई देख्यौ भन्ने चन्द्रमा दुईवटा देखिन्छ, ‘चितव जो लोचन अंगुलि लाए । प्रगत जुगल ससि तेहिने भाएं,’
शङ्कर र रामानुजका मायासम्बन्धी विचारहरूलाई समन्वय गरी तुलसीले मायालाई दुई किसिमको मानेका छन् अविधा र विधारा ।
अविधा दुष्ट एवं दुःखरूपी जसको प्रभावले जीवसंसाररूपी काँधमा खस्दछ र विधा यस संसारको रचना आफ्नो तीनवटा गुणहरू सत्व, रज र तमासबाट गर्दछ । विद्यालाई आफ्नो शक्ति हुँदैन र यो भगवानको प्रेरणाले सृष्टि गर्दछ । तुलसीदासले ईश्वर र जीवमा भेदको चारवटा आधार प्रस्तुत गरेका छन् । प्रथमतः ईश्वर अखण्ड ज्ञान स्वरूप हो जबकि जीवमा यो छैन । दोस्रो मायाबाट वशीभूत भएर जीव अभिमानी हुन्छ जबकि निगुण माया ईश्वरको अधीनमा रहन्छ । तेस्रो जीव पटतन्य हो भने ईश्वर स्वतन्त्र हो । चौथो, जीव अनेक छन् जबकि भगवान् एउटै मात्र ।
तुलसी अनुसार जीव ईश्वरको अंश भएकोले अविनाशी, चेतन, निर्भर सुख हो तर मायाको प्रभावले त्यो सूत्रा वा बाँदरजस्तो बाँधिन्छ, माया र चेतनाबीच जुन गाँठो परेको छ त्यो मिथ्या हो तर सहजै खुल्दैन र खुलेपछि जीव सुखी हुन्छ । रामचरित मानसको निष्कर्ष हो संसार वा बन्धन वा दुःखबाट मुक्तिको एउटै बाटो हो त्यो हो ईश्वर भक्ति । उत्तर काण्डमा काकभुभुण्डी गुरुरसितको आफ्नो संवाद अन्त गर्दै भन्दछन्, “बिनुहरि भजन न जाहिं कतोसा, रै विनु हरि भजन न भवभय नासा’ । मोटामोटी रूपमा भक्ति र ज्ञानमा कुनै खास विभेद छैन किनकि दुवैले जीवलाई सांसारिक बन्धनहरूबाट मुक्ति दिन्छन् तर भद्रिको मार्ग सरल र सजिलो हो । उत्तर काण्डमा सन्तले स्वयं रामको मुखबाट यस कुरालाई राम्ररी राखेका छन् ।
सन्त तुलसीको सबभन्दा महत्त्वपूर्ण काम निगुण र सगुण ब्रह्मको बीचको विवादमा सदियौसम्म चलेको थियो त्यसलाई खतम पार्नमा केन्द्रित रहेको देखिन्छ । जुन उहाँले बडो विचारपूर्ण ढङ्गले गरेका छन्
सगुनहिं अगुनहिं नहिं कछु भेदा ।
गावहिं मुनि पुरान बुचवेदा
अगुण अरुप अभाव अज जोइ ।
भगत प्रेमबस सगुन सोहोई
जो गुनरहित सगुनसोहई कैसे ।
जलुहिम उपल बिलगनहिं जैसे
अर्को प्रसङ्गमा उनी लेख्दछन्, “अगुन अलेप अमात एक रस तम सगुन भए भगत प्रेमवस’ त्यस्तै अयोध्याकाण्डमा सन्त लेख्दछन् ‘सगुन खीरु अवगुण जलुताता । मिलाई रचई परपञ्च विधाता,’ अर्थात् सगुण र निर्गुण स्वरूपहरूबाट भगवानबाट जगतको सृष्टि हुन्छ जसरी खीर (पायस) मा पानी मिसिन्छ । यस किसिमले सन्तले आचार्य रामानुजको ईश्वरवादलाई पूर्णरूपमा स्वीकारेको देखिन्छ । भक्तको लागि उपास्य चाहिएको थियो जुन निर्गुण ब्रह्मबाट सम्भव थिएन । जबसम्म नाम र स्वरूप विशेष ब्रह्म हुँदैन तबसम्म उसको उपासना कसैले गर्दैन । ईश्वरका एक रूप हो अवतार र यसैबाट भगवान् भक्तहरूको उपास्य बन्दै आएका छन् ।
रामप्रतिको आफ्नो भावना भरतले चित्रकूटमा यस किसिमले गरेका थिए -“अरथ न धरम न काम रुचि गति न चढउ भिरवान । जनम जनमरति राम पद चह वरदान न आन”, त्यस्तै उत्तरकाण्डमा मुनि वशिष्ठ रामसित पदकमलको भक्ति माग्दछन्, “नाथ एकवर मागउं राम कृपा करिदेउ । जन्म जन्म प्रभु पदकमलकवहुं कटै जनिनेहा” अन्तमा तुलसीले स्वयं निम्न विनय गरेका छन्
“दो मो सम दीन न दीन हित तुम्हसमान टहवीर ।
अस विचारि रघुवंस मनि हटहु विषम भवभीर”
यस किसिमले रामचरितमानसको रचनाको मुख्य उद्देश्य सन्तले दार्शनिक चिन्ता नै राखेको देखिन्छ किनकि संसार वा दुःखबाट मुक्ति प्राप्त गर्नु नै मानव जीवनको चरम उद्देश्य हो र भक्तिमार्गमा अनुशरणले त्यो मात्र सम्भव छ जसमा भगवानको चरणमा पूर्ण समर्पण मात्र सम्भव हुन्छ ।
शनिबार, गोरखापत्र
