Skip to content

मुग्लानएको मान्छे


मनमा धोकोहरू बोकेर
रहरका पोकोहरू बोकेर
कल्पनाको विशालतामा मख्खिँदै
बर्तमानको भोगाईमा पिल्सिएको
एउटा मान्छे
भविष्यको सपना बुनेर
जीवनलाई अंकमा गुनेर
जब मुग्लानिन्छ
लडाईको मोर्चाको विजयी योद्धा झै
सपनालाई साकार भएको देख्न थाल्छ
कल्पना आकारमा गएको देख्न थाल्छ
खुसीका असंख्य छालहरूमा तैरिरहदा
ढुकढुकीसँगै समानान्तर समयले
नयां दिन, महिना र बर्ष बोलाईरहन्छ
कुम्हालेको चक्र जस्तै
ऋतुहरू दोहोरिरहँदा
उ बारम्वारको एउटै भोगाईसँगै
दाईँको गोरु झै
लखतरान भएको छ
जीवनको अमूल्यता
सपनासँग साटिरहेको छ
ईच्छासँग काटिरहेको छ
आवश्यकतालाई कुनामा फ्याकेर
खै किन हो
आफैलाई ढाटेर बाँचिरहेको छ
अग्लो घर
चिल्लो वाटो
सफा गल्ली
सफा चोक
नामी चित्रकारले बनाएको चित्र झै
कृत्रिम देख्दछ उ
अपनत्व नभएको
केही हुनु र नहुनुको
भिन्नता नै के रहेछ र?

जीवन नाटक कहां हो र
तथास्थुले जीवन वदलीयोस
संघर्षका कथाहरू
पसिना वगाएर
मन कुडाउदै
तीतो भावुकतामा
लेखिरहदा
खेर गएको पसिनाको मुल्य आफैलाई सोध्छ
पराय माटोमा
पसिनासंग पैसा साटेर
भोगिएको निरस जीवन
बिताएको एकाकीं पल
यसको मूल्य त्यो पैसाले टाल्ला र?
ऊ स्तभ्द हुन्छ
जीवन संघर्ष मात्र हैन, सृजना पनि हो
जीवन दुख मात्र हैन, आनन्द पनि हो
जब ऊ जीवन सम्झन्छ
सल्वलाउछन पीडाहरू
अनि जब
देश सम्झन्छ
परिवार सम्झन्छ
पग्लन्छ उस्को मन
जबाफ बनेर
रसाउछन आँखाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *