अमृत भन्दै जहर पिलायौ र जलेँ
मेरै लागि चिता मिलायौ र जलेँ
रोप्छु भन्थ्यौ कमल फूल ओईलियो
जथाभावी मनको खेत हिलायौ र जलेँ
आउँछु भन्थ्यौ चाँडै फर्कि जुनी बित्यो
कुर्दा कुर्दै थाकिसकेँ ढिला आयौ र जलेँ
हसाँउछु भन्थ्यौ जुनीभरि रुलायौ
हाँसो भन्दै आँसु दिलायौ र जलेँ
रोकिन्छु भन्थ्यौ पग्लिन क्षीण भो
म शिखा तिमी मैन बिलायौ र जलेँ
