Skip to content


समय ! अचम्मको छ यो समय
होम्मिएको छ यो समय
भोलि हिजो हुन्छ आघौं यसपाली हुन्छ
पोहर परार हुन्छ
यसै गरी बतासिन्छ समय
सृजना, बिकास र विनाश गर्छ
पदार्थ, जीवको जन्म मृत्यु
जानी नसक्नुको भद्रगोल छ समय
पृथ्वीलाई घुमाउने पनि समय
तारालाई हिंडाउने पनि समय
धुम्रकेतु, पुच्छ्रेतार सिङ्गै ब्रम्हाण्डभित्र समाहित समय
कस्तो मैदानको घाँस खाएर हुर्किएका रहेछन्
यी बेलगाम घोडाहरू
हरेक क्षण बुर्कुसी मारेर उफ्रनलाई तयार
सेकेण्ड, मिनेट, घण्टा
दिन, महिना, साल
युगयुगान्तर सम्म उफ्रिरहने
जेट र रकेटलाई पनि उछिन्ने
प्रतिसेकेण्ड तीन लाख किलोमिटर दौडने
समयका बेलगाम घोडाहरू
शेक्सपियरलाई, शेलीलाई बाँकी नराख्ने
वर्डस्पर्थ र दाँतेलाई पनि बाँकी नराख्ने
सिकन्दरलाई पनि बाँकी नराख्ने यो समय
हेर्दा हेर्दै हामीलाई नै लैजाने
के आफन्त के पराई
सबैलाई गुजुल्टो पारेर लैजाने समय
जन्म, बचपन
जवानी, बुढेसकाल, मृत्यु ल्याईदिने
खुसी, हाँसो ल्याईदिने अनि
दु:ख, रोदन ल्याउने नि यही समय
मिलन र बिछोड गराउने यही समय
कल्पनालाई यथार्थ बनाउँछ
यथार्थलाई अतीत बनाउँछ
पहाडलाई समथर
मैदानलाई समुद्र बनाउने पनि यही समय
राम्रा र अनमोल बस्तुहरू खोस्दै
भागिरहेको छ बेलगाम समय
यसैगरि ईतिहास बनाउँछ समय
समय सर्वशक्तिमान भएको छ
त्यसैले यो संसार समयको रहेछ

बिना तामाङ
काठमाण्डौं

2 thoughts on “समय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *