Skip to content


पश्चिमी संस्कृति भन्दा हाम्रो संस्कृति धेरै उत्कृष्ट छ । यसको उत्कृष्ट नमूनाको रुपमा हामीले दशैंमा दिने टीकाको आशीर्वाद पनि एक हो । यो आशीर्वाद निम्न प्रकारको छ ।

आयु द्रोणसुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

आयु द्रोणसुते
द्रोणाचार्यको छोराको जस्तो आयु
(द्रोणचार्यको छोरा अश्वत्थामा जो अष्ट चिरञ्जिवी मध्ये अश्वत्थामा, वली, ब्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय मध्ये एक हुन् । उनको जस्तो कहिल्यै मर्नुनपर्ने चिरञ्जिवी शरीर होस् भन्ने यसको अर्थ लाग्दछ ।)
श्रीयं दशरथे
दशरथ राजाको जस्तो सम्पत्ति
(ऋषिहरुले कवुलमा पारेर अथाह सम्पत्ति माग गर्दा होस् वा ठूलो यज्ञ गर्दा सम्पत्तिको आवश्यकता पर्दा होस् वा इत्यादि अन्य कुनै बखत अथाह सम्पत्ति चाहिँदा होस् हर समय कुवेरको मद्दत पाइरहने राजा भनेर अयोध्या नगरीका राजा दशरथलाई लिन सकिन्छ । यसको भावार्थ अथाह संपत्ति होस् भन्ने हुन्छ ।)
शत्रुक्षयं राघवे
रामले जस्तो शत्रु नास गर्न सक्ने
(त्रिलोक विजयी रावण जस्तो शत्रुलाई समेत रामले परास्त गरेका थिए । जस्तोपनि शत्रुलाई परास्त गर्न सक्ने होस् भन्ने यसको अर्थ हो भनेर बुझन सकिन्छ ।)
ऐर्श्वर्यं नहुषे
नहुष राजाको जस्तो ऐर्श्वर्य
(जुन नहुष राजाले र्स्वर्गका राजा इन्द्रलाई जितेर झुकाएका थिए, उक्त नहुष राजाको जस्तो सर्बोच्च शक्ति होस् भन्ने अर्थ बुझन सकिन्छ ।)
गतिश्च पवने
वायु देवताको जस्तो गति
(हनुमानका पिता पवन जसलाई वायु देवता भनेर चिनिन्छ । हनुमानको गतिको वारेमा रामायणकालमा तथा अन्य समयकालमा हनुमानको तेज गतिको बारेमा हामीलाई थाहा भएकै कुरा हो । यो हनुमानमा भएको गुण वायुदेवता पवन मार्फ आएको हो । तर्सथ यसको भावार्थ वायुदेवता पवनको जस्तो गति हो्स् भन्ने हुन्छ ।)
मानं च दुर्योधने
दुर्योधनको जस्तो मान
(दुर्योधनलाई गुरुहरु सबैले मान गर्दथे, कुलको ज्येष्ठ व्यक्तिहरु सबैले मान गर्दथे । तर्सथ यस्तो उच्च मान आजसम्म कसैले पनि पाएका छैनन् त्यस्तो प्रकारको सर्वोच्च मान प्राप्त होस् भन्ने भाव दर्शिन्छ ।)
सौर्यं सान्तनवे
सान्तनवेको जस्तो सौर्य
(सान्तनु भनेको भीष्मपितामह हो । उहाँको जस्तो सौर्य अर्थात पराक्रम अरु कसैको छैन । उनी कसैद्वारा पनि मारिन सक्ने खालका थिएनन् । उनलाई इच्छा मृत्युको वरदान प्राप्त थियो । तर्सथ यसको भावार्थ उहाँको जस्तो सर्वोच्च सौर्य होस् भन्ने हुन्छ ।)
वलं हलधरे
वलरामको जस्तो वल
(सधैं हलो वोक्ने भएकोले गर्दा कृष्णका दाजु वलरामलाई हलधरे भनेको हो । पौराणिक कालमा श्यामन्तक मणि हराएको काण्डमा उक्त मणिका हकवाला राजाले आफ्ना भाई कृष्णलाई मणिचोरको दोष लगायो भनेर उक्त राजाको पूरै देश हलोले तान्न खोजेका थिए यस्तो अपार वलशालि वलरामको जस्तो सर्वोच्च वल होस् भन्ने भाव जनाउँछ ।)
सत्यं च कुन्तीसुते
कुन्तीको छोरा युधिष्ठिर जस्तो
(कुन्तीका छोरा युधिष्ठिर जसलाई धर्मराज भनेर पनि चिनिन्छ । उनी जति सत्यमा अडिग रहने कोही थिएन । उनलाई सत्यको प्रतीक भनेर चिनिन्छ । यसको भावार्थ सधैं सत्यमा अडिग रहन सकोस् भन्ने हुन्छ ।)
विज्ञानं विदुरे
विदुरको जस्तो ज्ञान
(विदुर महाभारतकालका एक प्रसिद्ध महाज्ञानी थिए । उनको नीति उ वेलादेखि अहिलेसम्म पनि प्रसिद्ध र सर्वोत्कृष्ट छ । तर्सथ यस्तो सर्वोत्कृष्ट ज्ञान हासिल होस् भन्ने भाव जनाउँछ ।)
भवन्तु भवतां
त्यो सबै जस्तो तपाइँ पनि होउन्
कीर्तिश्च नारायणे
नारायणको जस्तो कीर्ति
यी माथि वर्णन गरिएका सबै गुणका मालिक नारायणको जस्तो कीर्ति होस् भन्ने भाव जनाउँछ । यी माथि वर्णन गरिएका पात्रहरुमा नकारात्मक गुण नभएका होइनन् । जस्तोकी दुर्योधनको असत्यमा लाग्ने प्रवृत्ति, युधिष्ठिरले एक पटक भए पनि वोलेको झुठ र अन्य पात्रका यस्तै नकारात्मक कुराहरु पनि थुप्रै नभएका होइनन् । तर ” भवन्तु भवतां कीर्तिश्च नारायणे ” भनेकाले गर्दा यी सबै पात्रका सकारात्मक गुण भएका नारायणको जस्तो होस् भन्नुको भावार्थ हुन्छ ।

तर्सथ यो श्लोक आशीर्वादको श्लोक मध्ये सर्वोत्कृष्ट श्लोक हो भनेर जान्न सकिन्छ ।

कुनै पनि शुभ कार्य गर्दा टीका लगाइदिँदा पनि यस श्लोकले आशीर्वाद दिइने चलन छ ।

यस श्लोकलाई सामवेदमा दिइएको संगीतको नियम अनुसार विजयादशमीको साइतमा उच्चारण गरेर शुभ साइतमा विधिपूर्वक टीका लगाएर आशीर्वाद दिएमा आशीर्वाद लिने व्यक्तिलाई सबै किसिमले फलिफाप हुन्छ ।

बिजु सुवेदी ” विजय ”
कुलेश्वर आवास क्षेत्र, काठमाण्डौं ।
bijusubedi@hotmail.com
स्रोत :- बुबा कृष्ण मुरारी सुवेदी – मेरो प्रेरणाको श्रोत, उहाँले तीनधारा संस्कृत पाठशालाबाट धेरै पहिले संस्कृत भाषाको अध्ययन पूरा गर्नु भएको थियो)
नोट :- यो लेख २०६६ असोज ४ गते आइतबार नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा र स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र बिचार प्रधान साँस्कृतिक साप्ताहिक अमलेखमा २०६६ असोज ५ गते सोमबार पनि प्रकाशित भइसकेको छ ।

www.bijusubedibijay.blogspot.com

1 thought on “दशैंको आशीर्वाद”

  1. धेरै-धेरै धन्यवाद !
    धन्यवाद ! यहाँको लेख अतिनै राम्रो छ । दशैंमा गर्नुपर्ने कुराहरु पाठकलाई पस्किएर पाठकलाई दशैंप्रतिको सकारात्मक सोचाइ राख्नुपर्ने सुझाव दिनुभएकोमा र दशैंको आशिर्वादको बारेमा गहन ढङ्गले नेपालीमा उल्था गर्नुभएकोमा यहाँलाई धेरै-धेरै धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *