सामान्य विषयवस्तुमाथि मर्मस्पर्शी प्रस्तुति दिने सर्जक हुन्, कृष्ण धराबासी। सानो कुरालाई उनी जीवन्त बनाउन सक्छन्। उनको यस्तै सानासाना कुरालाई कोट्यार लेखिएका कथाहरूको पछिल्लो सङ्ग्रह हो, आमा। आमा समग्रमा छरतिो छ र यसभित्रका कथा पनि छरतिा छन्। त्यसैले जम्माजम्मी ८९ पृष्ठमा १७ वटा कथा उनिएका छन्। यसको खास उपयोगिता कुनै पनि कथा पट्यारलाग्दा छैनन्। थोरै शब्द, वाक्य र अनुच्छेदमा एउटा गतिलो आख्यान प्रस्तुत गरेका छन्, धराबासीले।
आमाका हरेक कथाको धरातल गाउँ हो। गाउँ पनि आजको होइन, दुई दशकअघिको। त्यसैले कुनैकुनै कथा पछिल्लो पुस्ताका पाठकलाई दन्त्यकथाजस्ता लाग्न सक्छन्। कुनै समय परिवार नियोजनका अस्थायी साधनको विज्ञापन बज्दा रेडियो बन्द गर्ने गाउँ आज चेतनाको तीव्र अभिवृद्धिले हाकाहाकी यौनशिक्षाको कुरा गर्न थालेको छ। यस पृष्ठभूमिमा धराबासीका आमाभित्रका अधिकांश कथाले हराउँदै गएको कुरीति र मासिँदै गएको संस्कृति दुवैलाई सम्झाउँछन्। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही नै हो।
‘जिब्रो टोक्नु’, ‘मन खङ्ग्रङ्ग भयो’ या ‘मुख भरिएको थियो पानीले’जस्ता कथाले इतिहासलाई प्रतिविम्बित गर्छन्। एकदमै सामान्य प्रसंग हो, ‘जिब्रो टोक्नु’ कथा। हाम्रो समाजमा मान्छे मर्नुको पर्याय शब्द जिब्रो टोक्नु हो। यस कथामा जिब्रो टोक्नुको बालजिज्ञासालाई धराबासीले यति रोचक र मार्मिक प्रस्तुतिमा बाँधेका छन्। किनभने, धेरै कुरा रोचक हुन सक्छन् तर मार्मिक नहुन सक्छन् अनि धेरै कुरा रोचक हुन सक्छन् तर मार्मिक नहुन सक्छन्। त्यसैले मर्म र रोचकतालाई एउटै भावभूमिमा ल्याएर खन्याउनु शिल्पगत कुरा हो। यही कुरा उनले ‘मन खङ्ग्रङ्ग भयो’मा पनि दोहोर्याएका छन् र ‘आमा’मा पनि।
‘आमा’ कथा त पुस्तकको शीर्षकले नै अरू कथाभन्दा मानकीय र मननीय छ भन्ने बुझाउँछ। छ पनि। दोस्रो विवाह गरेपछि पहिली पत्नीलाई भेट्न आउँदाको सानो कथामा उनले एउटै नारीमा पत्नी र आमालाई सूक्ष्म रूपमा परभिाषित गरेका छन्। यद्यपि, उनले यसमा कुनै बेला नारी पत्नी हुन्छे र कुनै बेला आमा भन्ने पुरातन कथनलाई नयाँ रूप दिन सकेका छैनन्। तर, यस कथाकी नायिकाले बोल्ने एउटै संवादले उनले नारी अस्िमतालाई यति उचाइमा पुर्याएका छन्, जुन उचाइमा आजका हरेक नारी आफ्नो स्थान खोजिरहेका छन्। हुन त पुरुषसत्ताले अनादिकालदेखि आजसम्म पनि नारीमाथि ठाडै शोषण गर्ने र सौता हाल्ने प्रचलनलाई सामान्य बनाएको छ र ‘आमा’लाई पनि यसैको पुनरुक्ति भन्दा गलत हुँदैन। तर, धराबासीले यस कथामा नारी अस्तित्व, अस्िमता र नारीशोषणविरुद्धमा केही हरफमा भनेका शब्द भने आफैँमा उद्धरणयोग्य छन्।
टाढाबाट साँझपख घर आएको पतिलाई पुरानी पत्नीले भन्छे, “घरीघरी यहाँ आइरहनु पर्दैन। पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ। गाउँ-समाजले राम्रो मान्दैन। मेरो बदनाम नगरििदनू। यस जीवनको केही काल हामीले सँगै बिताएका थियौँ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो। यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषसँगको कुनै सम्बन्ध मलाई स्वीकार छैन।” यी हरफले धराबासीमा अन्तरनिहित एक-दुई वाक्यमा सिंगो दर्शन भन्ने शैलीको उदाहरण दिएका छन्। यी वाक्यमा उनले प्रयोग गरेका ‘पोइल गएको लोग्ने’ र ‘परपुरुष’ शब्दको प्रयोग मौलिक छ। यदि यी पंक्तिमा ‘त्यो सबै उमेरजस्तै’अघि ‘त्यो सबै हाम्रो उमेरजस्तै’ भनिएको भए अझ अर्थपूर्ण हुन्थ्यो। किनभने, सबै उमेर पुराना हुँदैनन्।
‘मन खङ्ग्रङ्ग भयो’ कथामा एउटी दुई छाक खानाका लागि अभिशप्त किशोरीलाई उनले धनाढ्य परिवारको लाटोसँग विवाह गरििदन्छन्। उनलाई केटोको भौतिक उपस्थितिभन्दा पनि दुई छाक अघाउजी खान पाइने मोहमा विवाह गर्छे। अर्को एक ठाउँमा एउटी सोझी अशिक्षित केटीको मनोदशालाई उतार्दै केटीलाई लोग्नेले नै बेच्छन् भन्ने प्रसंगसँग गाँसेर नायिकामार्फत कथाकार उसको अवोधता यसरी व्यक्त गर्छन्, “अचम्म लाग्थ्यो, यस्तो सुन्दा। आफ्नै लोग्नेले पनि कसरी बेच्न सकेको होला ? फेर ितिनीहरूले किन किन्नु परेको केटी ? माग्दै पाइने वस्तु पनि किनिराख्नुपर्छ र ? बारीमा फलेको काँक्रो चाख्न मागेझैँ सजिलै सबैले घरघरै मागेरै व्यवहार चलाएका छन् भने किन गर्नुपर्थ्यो किनबेच ?” (पृ ९)।
१७ वटा कथामा १७ थरी घटना र पात्र छन्। यी सबैले कृष्ण धराबासीको आख्यानशिल्पलाई नौलो मोड दिन्छन्। तर, यति हुँदाहुँदै पनि कुनैकुनै कथा हतारमा सिद्धिएजस्ता छन्। ‘मन खङ्ग्रङ्ग भयो’, ‘पारपाचुके’जस्ता यसका उदाहरण हुन्। यसभन्दा पनि चर्को गल्ती व्याकरणगत छन्। यति ख्यातिप्राप्त स्रष्टाको कृतिमा यस्ता झीनामसिना भूल, त्यो पनि अत्यन्तै लापरबाहीपूर्ण ढंगले हुनु निश्चय नै नेपाली भाषा-साहित्यका लागि गतिलो सन्देश होइन। यसले परपिक्व पाठकका दाँतमा ढुंगा लाग्छन्।
आमा
कथाकार : कृष्ण धराबासी
प्रकाशक : पैरवी बुक हाउस
पृष्ठ : ६+८९
मूल्य : १५० रुपियाँ
नेपाल साप्ताहिक ४६१
