फक्ताङ्लुङ्को फेदीमा
एउटा थेप्चे नाख
एक तमासले उफ्रन्दै छ,
हातमा मिराक लिएर —
उद्घोस् युद्धको गर्दै छ ।
ऊ भन्छ —
सेम्याङ्फुङ, सिरबन्दी,
ने:से र लाङ्बाङ्गी,
हाङ्जाङ र मेख्ली
रो’को रोई छ,
मलाई मेरो पहिचान – फिर्ता देऊ ।
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो
म त्यही युद्ध लड्दै छु ।
म,
एकिकरणको भालाले रोपिएको छु,
एकात्मक सङ्गिनले घोचिएको छु,
भूमिसुधारको तरवारले काटिएको छु,
केन्द्रिक्रित गोलीले हानिएको छु,
मलाई घाइते बनाइएको छ,
म घाइते बाघ हुँ ।
मलाई जिस्काउने
कोशिस नगर्नु ।
म महान युद्धमा छु,
किनकि ?
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो,
म त्यही युद्ध लड्दै छु ।
सप्तकोशी, अरुण, तमोर,
कबेली, ईवा र हेवा फेवाको कसम
म,
मेरी आमाको
अश्मिता बच्चाउनको लागि
हजार बर्ष
युद्ध लड्न तयार छु ।
बिना शर्त मलाई
मेरी आमाको अश्मिता – फिर्ता देऊ ।
यो युद्धले भुलेको
बाँकी युद्ध हो
म त्यही युध लड्दै छु ।
सबै र सबै बिक्री भए पनि,
सिरिजङ्गा, इमानसिङ, फाल्गुनन्दहरूको कसम
सु:म्हालुङ, मेयङ्लुङ, पाथिफरा,
कुम्मायक, कुसायक, माइ र बुडासुब्बाहरू
छेत्छेत्ती छन,
मलाई आशीर्बाद छ यिनीहरूको,
म,
यिनीहरूको अस्तित्व बिक्न दिन्न,
थेप्चो नाख
एक तमास् उफ्रन्दै छ ।
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो
म त्यही युद्ध लड्दै छु ।
मेरी आमाको अश्मिता – फिर्ता देऊ ।
मलाई मेरो पहिचान – फिर्ता देऊ ।
मलाई मेरो पहिचान – फिर्ता देऊ ।
मलाई मेरो पहिचान – फिर्ता देऊ ।
जनवरी, ८, २०१२
केही भाषिक अर्थहरू
सेम्याङ्फुङ, ने:से, लाङ्बाङ्गी – लिम्बुनीहरूले लगाउने गहनाहरू
हङ्जाङ, मेख्ली – लिम्बुले लगाउने लुगा
सुम्हालुङ, मेयङ्लुङ, कुम्मायक, कुसायक – लिम्बु नामका धार्मिक स्थलहरू

बहुत राम्रो लाग्यो सेलिङ जी
बहुत राम्रो लाग्यो सेलिङ जी आफु पनि लिम्बु भएको नतले झनै राम्रो लाग्यो!
thank you mitra
धन्यवाद मित्र कविता पढ्नु भएकोमा —–