Skip to content

श्रीपेचको दम्भले खेत जोत्न चाहन्छु


हे मेरा इस्टहरू
एक फेर मेरा लागि
बगरहरू भिजाइदेऊ
नहरहरू शहर छाडी
दुर दराज कटाइदेऊ
ओखती मुलो, प्रबिधि अनि
तन्दरुस्ती पठाइदेऊ
पोशाक परिवर्तन गर
हे रैती, हे जनार्दन
धेरै भो पुरानो त्यो
मैलो फाट्यो झुत्रो भो
खोइ के भो पँधेरो सुक्यो
थाहै नपाई कुकुर भुक्यो
त्यसैले अब नसाँच
अस्तित्वसँग नगाँस
अमुर्त हैन पोशाक हो
बदल्न सक्ने पो शासक हो
आँट र धैर्य, शान र सौर्य
गहना कुण्डल चन्द्र र मौर्य
प्रगति पथमा इतिहास हुन्छन
एक फेर आई
एक फेर जान्छन
त्यसैले अब नसाँच
अस्तित्वसँग नगाँस
किनकि
युद्धले जितेकै भए पनि
कपटले खिचेकै भए पनि
भाग्यले मिचेकै भए पनि
कर्मले ठगेकै भए पनि
म अब श्रीपेचको दम्भले
खेत जोत्न चाहन्छु ।

भगिरथ थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *