Skip to content


काठमाडौँका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आफ्नै मौलिक जात्रामा हराउने गर्दछन् । इन्द्रजात्राको समयमा हुने कालेश्वर महादेवजात्रा नै उनीहरूको ठूलो र आफ्नै जात्रा हो । परम्परागत सांस्कृतिक उत्सवसाथ मनाइने कालेश्वर महादेवको जात्रा बर्सेनि इन्द्रजात्राकै दिन सुरु हुन्छ । कालेश्वर महादेवलाई प्याङवासी आफ्ना आराध्यदेवका रूपमा लिने गर्दछन् । त्यस्तै, उनीहरू कालेश्वर महादेवलाई कुलदेवताका रूपमा पुज्ने गर्दछन् । सजाइएको खटलाई प्याङका घर-आँगनसम्म नचाउँदै पुर्‍याइन्छ । खटजात्राकै क्रममा पुजारीद्वारा घन्टी बजाउने तथा चमर डोलाउने कार्य अविच्छिन्न भइरहेको हुन्छ । परम्परागत बाजागाजा तथा चिराग बत्तीको अगुवाइमा खटजात्रा अगाडि बढ्छ । जात्रासँगै नाचगानको रमाइलो स्वाभाविक नै भइहाल्छ । गाउँको छेउछेउमा रहेका दुईवटा देवता राख्ने घरमा छ-छ महिनाको फरकमा कालेश्वर महादेवका मूर्तिलाई राख्ने गरिन्छ ।

जात्रामा स्थानीय बासिन्दाबाट कालेश्वर महादेवको दर्शन तथा पूजा गरिन्छ । यसै अवसरमा प्याङका विभिन्न स्थानमा देवीदेवताका काठका पुराना मूर्तिहरू जमिनभन्दा अग्लो मन्डप बनाई त्यसमा सजाएर राख्ने गर्दछन् । जात्रा अवधिभरि तिनलाई यसरी खुला रूपमा प्रदर्शन गरेर राख्ने गरिन्छ । इन्द्रजात्राका अवसरमा उपत्यकाका धेरै स्थानमा इन्द्र, भैरव आदिलाई यसरी नै अग्लो मन्डप बनाई त्यसमा सजाएर राखिएको हुन्छ । त्यस्तै प्रकारले प्याङमा पनि विभिन्न देवीदेवतालाई यसरी खुला रूपमा राख्ने गरिएको पाइन्छ ।

इन्द्रजात्राको शुभारम्भ हनुमानढोका दरबारस्थित कालभैरवसामुन्ने लिङ्गो गाडेपछि हुने परम्पराअनुसार नै यहाँ पनि सोही दिन दुईवटा लिङ्गो गाडिएपछि औपचारिक रूपमा स्थानीय जात्राको चहल-पहल सुरु हुन्छ । सोही दिन आफ्ना नातागोतालाई घरमा डाकेर खुवाउने परम्परा रहेको छ । त्यसै दिनबाट परम्परागत लाखेनाचको प्रदर्शन अत्यन्त रोचक किसिमबाट हुन्छ । यसमा आकषिर्त हुने र झुम्मिनेहरूको बेग्लै भीड लाग्दछ । खासगरी केटाकेटीहरू लाखेलाई जिस्क्याउने र लखेटिमाग्ने तथा डराएर भाग्न मरिहत्ते गर्दछन् । यसरी सुरु भएको जात्राको तेस्रो दिन यहाँ परम्परागत नाचको भव्यतासाथ प्रदर्शन गरिने प्रचलन थियो । तर आर्थिक, सामाजिक तथा अन्य विविध कारणले गर्दा आज उक्त मौलिक देवीनाचलगायत अन्य नाचहरूको प्रदर्शन कार्य एकप्रकारले लोपै भइसकेको अवस्था छ ।

पहिले त काठमाडौँस्थित हनुमानढोका राजदरबारसम्म गएर तत्कालीन राजा, महाराजाहरूलाई ती नाचहरूको प्रदर्शन गराउनुपर्ने नियम नै थियो । यसरी प्याङको छुट्टै पहिचान बनाइसकेका ती नाचको परम्परा समयको कालखण्डमा आज अस्तित्वमै नरहनु दुःखलाग्दो विषय भएको छ । यसैगरी, पूणिर्माका दिन कालेश्वर महादेवको खटजात्रा धुमधामपूर्वक हुन्छ । यस दिन स्थानीय बासिन्दाले खटमा विराजमान महादेवलाई पूजाआजा यति भव्य र श्रद्धाका साथ गर्दछन् कि त्यस दिन वास्तवमा उनीहरू सधैँभरिको कामधामको मेलालाई चटक्कै छोडेर धार्मिक कर्मको एक अद्वितीय अध्यायमा रूपान्तरित भएका हुन्छन् । दसैँ-तिहारभन्दा ठूलो पर्वका रूपमा मनाइने जात्रा भएकाले पनि यसप्रति उनीहरूको सहभागिता र समर्पण विशेष हुने गर्दछ । त्यही सक्रिय सहभागिता, हार्दिक समर्पण र आस्था एवम् विश्वासका कारण जात्रामा सबै प्याङका धनी-गरिब एकढिक्का भएर सुख, शान्ति, समृद्धि, सद्भावको कामना गर्ने गर्दछन् ।

यसरी कामना गरिँदा एक व्यक्ति, एक परिवार वा एउटैको मात्र इच्छापूर्तिको आग्रह नगरी समग्र गाउँ, गाउँले, गाउँवासी तथा राष्ट्रको सामूहिक भलाइको प्रार्थना गरिन्छ । व्यक्ति स्वार्थभन्दा माथि उठेर गरिने यसप्रकारको आराधनाले वास्तवमा मानवीय संवेदनालाई जागृत पार्ने विश्वास गर्न सकिन्छ । त्यही क्रममा अन्य जात्रामा जस्तै यस जात्रामा पनि परापूर्वकालबाटै स्थानीयवासीले समष्टिको भलाइका निम्ति पूजा र प्रार्थना गर्ने गर्दछन् ।

अन्नबालीको राम्रो उब्जनी होस्, कसैलाई पनि रोगव्याधि वा भोकमरीले अकालमा नमारोस् भन्ने उनीहरूको हार्दिक प्रार्थना हुन्छ । त्यस्तै, दैवी विपत्तिले कसैलाई पनि अप्ठ्यारोमा नपारोस्, सबैको कल्याण होस्, देशमा कहिल्यै अनिष्ट नआओस् आदि कामना गरिने सनातन संस्कार अद्यापि निरन्तर रहिआएकै छ । यसरी पुरानै धारणा र धर्मकर्मको यो यात्रामा आज पनि प्याङवासी मौलिक ठाउँका मौलिक जाति भएर आफ्नो सांस्कृतिक, धार्मिक, सामाजिक एवम् जातीय पहिचानलाई जोगाउने उदाहरणीय समुदाय भएर रहेका छन् ।

मूल जात्राका दिन खटलाई स्थानीय बासिन्दाका घर-घरसम्म पुर्‍याई महादेवबाट आफ्ना भक्तजनलाई दर्शन दिइने यो महत्त्वपूर्ण पर्व मानिन्छ । अरू बेला भक्तजन आफैँ मन्दिरमा पुगेर देवताको दर्शन गर्नुपर्दछ भने जात्राका अवसरमा स्वयम् भगवान् भक्तको घरसम्मै पुगेर दर्शन दिने यो अद्वितीय क्षण यही जात्राकै समयमा मात्रै आउँदछ । त्यसैले आफ्नो दुःख-सुख बुझ्नका लागि पनि भगवान् यसरी घरदैलो चहार्दै आएको कुरामा उनीहरू विश्वस्त छन् । त्यसरी घरमै आउँदा कुनचाहिँ भक्त आफ्ना आराध्य इष्टदेवप्रति नतमस्तक नहोला र ?

प्याङका आराध्यदेव महादेवलाई उनीहरू भरसक आफ्नै खेतबारीमा उब्जेका अन्नबाली तथा फलफूल चढाउने गर्दछन् । यसरी चढाइने चिजबिजहरू मौसमअनुसार मकै, काँक्रा, आरुबखडा, अम्बा, नासपाती, सुन्तला, मेवा, केरा र लौका आदि जे पनि हुन सक्दछन् । पवित्र आत्माले चढाइएका विभिन्न सामग्रीहरू भगवान्का प्रसाद हुन्छन् । अन्यत्रका अधिकांश जात्रामा देवीदेवतालाई अनेकौँ पशुको बलि दिइने गरिन्छ । तर, खुसीको कुरा यस जात्रामा यहाँ पशु बलिको वीभत्स दृश्य कदापि पनि देख्न सकिँदैन । अर्थात् यस जात्रामा कहिल्यै कुनै पनि पशुको बलि चढाएर मान्छेका मनोकाङ्क्षा पूरा गरिने चेष्टा गरिँदैन अर्थात् यस जात्रामा बलिपूजाको कुनै पनि प्रचलन छैन । भनिन्छ, ‘पहिले त यो जात्राका अवसरमा जाँड र रक्सीसमेत खान नहुने परम्परा थियो । त्यस्तै, माछा-मासु र नुन पनि खान नहुने चलन थियो ।’ एकप्रकारले उपवास बसेर भगवान्प्रति भक्तिभाव प्रस्तुत गरिन्थ्यो । तर, आज अरू दिन खाए पनि एक दिन त केही नखाई विशेषतः गुठियारहरूले व्रत बसेर परापूर्वकालीन प्रचलनको पालना गर्ने गरिन्छ । त्यसो त एक दिन व्रत बस्नु भनेको स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ ।

यता, खटलाई नचाउँदै अगाडि बढाउने क्रममा खट पछाडिबाट अघि बढ्न पटक-पटकको प्रयासले मात्रै सम्भव हुन्छ । यो जात्राको समापन स्थानीय बाल्मो गुठीका गुठियारहरूले परम्परागत नाच देखाएर हुन्छ । अरू नाचहरूभन्दा भिन्नै किसिमको यो नाच रातिको समयमा प्रदर्शन गरिन्छ । त्यसबीच लिङ्गो पनि ढालिन्छ र जात्राको विसर्जन हुन्छ । यो जात्रालाई व्यवस्थित किसिमले सञ्चालन गर्न यहाँ तीनवटा गुठी छन् । ती गुठीहरूले जात्राका लागि आवश्यक काम गर्दछन् । प्रत्येक गुठीका फरक-फरक जिम्मेवारी हुन्छन् । ती फरक जिम्मेवारीको कार्यसम्पादनले नै जात्रालाई परम्परागत मूल्य र मान्यताअनुसार सम्पन्न गर्न मद्दत गर्दछ । यो जात्रा कहिलेदेखि कसरी सुरु भयो भन्ने सन्दर्भमा कुनै इतिहास, अभिलेख केही पनि पाइएको छैन । केवल अनादिकालदेखि पुर्खाको गौरवमय पहिचानको पाटोका रूपमा यस जात्रालाई लिन सकिन्छ । त्यस्तै, स्थानीयवासीको बेग्लै सांस्कृतिक उत्सवका रूपमा पनि यो कालेश्वर महादेव जात्रा हर्ष र उल्लासले मनाइने गरिन्छ ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *