आन्तरिक पर्यटन प्रवर्द्धन तथा वाह्य पर्यटकहरूको आकर्षणका लागि जिल्ला जिल्लामा र राजधानीमा समेत विभिन्नखालका महोत्सवहरू गरिँदै आएका छन् तर यही भदौ १ गते ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलमा भने भिन्नखालको महोत्सव भइरहेको थियो । पञ्चेपाजा बजिरहेका थिए । लेखक, साहित्यकार, पत्रकार, प्रकाशकलगायतका व्यक्तित्वहरूको ज्यादा चहलपहल देखिन्थ्यो । त्यो चहलपहल निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलद्वारा प्रायोजित साहित्यिक महोत्सव थियो ।

बुकवार्म ट्रस्टद्वारा भदौ १-४ सम्मको विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म एकएक घण्टाको समयावधिका विभिन्न विषय केन्द्रित परिसंवादहरू, कृति विमोचन र छलफलको महोत्सव आयोजना गरेको थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको महोत्सवमा काठमाडौँका केही चर्चित साहित्यकारहरू (सेलिब्रेटी साहित्यकारहरू), पोखराबाट तीनजना (तीर्थ श्रेष्ठ, सरुभक्त र प्रकट पँगेनी ‘शिव’) विराटनगरबाट कृष्णभूषण वल, मनु मञ्जिल र दार्जिलिङबाट इन्द्रबहादुर राई सहभागी हुनुहुन्थ्यो । महोत्सवमा बीबीसी रेडियोका ब्युरो प्रमुख भएर भारतमा लामो समय बसेका मार्क टली र भारतीय युवा लेखिका दूरा त्रिवेदीको सहभागिताले महोत्सवलाई अन्तर्राष्ट्रिय हुनमा सघाउ पुर्याएको थियो । बङ्गलादेशकी निर्वासित लेखिका तसलीमा नसरीन सहभागी हुने भनिएको भए पनि उनी आउन सकिनन् र उनी नआउनका पछाडि विभिन्न अड्कलवाजीहरू गरिए ।

महोत्सवको चार दिनमा साहित्यकार भीष्म उप्रेतीको नियात्राको अङ्ग्रेजी अनुवादकृति वियोन्ड द होली बोर्डर, नीलम कार्की निहारिकाको कथासङ्ग्रह ‘बेली’, व्याकुल पाठकको सम्पादनको प्रख्यात नेपाली कथा भाग-४ र कृष्ण धरावासीको कथासङ्ग्रह ‘आमा’को सार्वजनिकीकरण गरिएको थियो । एक दिनको महोत्सवलाई जम्मा सात खण्डमा बाँडिएको थियो । एकएक घण्टाका भिन्नभिन्न विषय र सन्दर्भका परिसंवादहरू हुन्थे । पहिलो दिनको उद्घाटन सत्रमा वैरागी काइँला, प्रायोजन गर्ने संस्था एनसेलका तर्फबाट कर्पोरेट म्यानेजर सञ्जु कोइराला र विशिष्ट अतिथि इन्द्रबहादुर राईले बोल्नुभएको थियो । त्यसपछि साहित्यमा शिल्प र विषयवस्तुमाथि गोविन्द वर्तमान, महेशविक्रम शाह र कुमार नगरकोटीसँग छलफल चलाइएको थियो । मार्क टलीले सञ्चार र भारतीय नीतिसम्बन्धी व्याख्यान गर्नुभएको थियो भने कविहरू श्रवण मुकारुङ, मोमिला, मनु मञ्जिल, सुलोचना मानन्धर र उषा शेरचनले कविता वाचन गर्नुभएको थियो । अन्य दिनका परिसंवादहरूमा सिनेमा र साहित्यसम्बन्धी-नवीन सुब्बा, नयनराज पाण्डे, यादव खरेल, लीलालेखनसम्बन्धी इन्द्रबहादुर राई र कृष्ण धरावासी, आख्यान र समाजसम्बन्धी-नारायण ढकाल, सुरेश ढकाल र किशोर नेपाल, सिर्जनात्मक लेखन र महिलासम्बन्धी-शारदा शर्मा र डा. ज्ञानू पाण्डे, युवासम्बन्धी-राजन मुकारुङ, युग पाठक, मनु मञ्जिल र मनीषा गौचन, मिडियामा साहित्यसम्बन्धी हरि अधिकारी, नारायण वाग्ले र डा. रामदयाल राकेश, स्तम्भलेखन सम्बन्धी-रवीन्द्र मिश्र, खगेन्द्र सङ्ग्रौला र सीके लाल सहभागी हुनुहुन्थ्यो । यसैगरी, नाटकसम्बन्धी परिसंवादमा-अनुप बराल, सुनील पोखरेल, सरुभक्त र अभि सुवेदी, मोफसलको लेखन र गुनासोसम्बन्धी-कृष्णभूषण वल र तीर्थ श्रेष्ठ, लेखन जीविकासम्बन्धी जगदीश घिमिरे र डा. ध्रुवचन्द्र गौतम सहभागी हुनुहुन्थ्यो । विषय र सन्दर्भहरू धेरै थिए । चीन र भारतको अर्थतन्त्रबाट नेपालले कसरी फाइदा लिनसक्छ भन्ने सम्बन्धीको विश्वम्भर प्याकुरेल र रामेश्वर खनालको परिसंवादमा हल खचाखच थियो भने त्यसपछिको खचाखच गजलसम्बन्धीको परिसंवादमा -बूँद राना र प्रकट पँगेनी ‘शिव’का गजल गायनमा भएको थियो । सबैभन्दा न्यून उपस्थिति चाहिँ कृतिको विमोचनको अवसरमा देखिन्थ्यो ।

लेखक, पाठक र प्रकाशकलाई एकै थलोमा भेट गराएर पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ गरिएको महोत्सवले तत्काल हल्ला मच्चाएको भए पनि दूरगामी प्रभाव पार्नेखालका त्यस्ता केही पदचापहरू छोड्न सकेन । नेपाली साहित्यका अग्रज हस्तीहरूको उपस्थिति नहुनु, अन्तर्राष्ट्रिय भनिएअनुसार बाहिरका साहित्यकारहरूको उपस्थिति नहुनु र केही चर्चित लेखक, पत्रकार एवं पाठक-विद्यार्थीहरूको सहभागिताले महोत्सवको झिनो गरिमा कायम गरेको थियो । कुनै महत्त्वपूर्ण विषय केन्द्रित कार्यपत्र प्रस्तुत नहुनु, कुनै घोषणापत्र जारी नगरिनु र धमाधममा सञ्चालन भएका कार्यक्रममा सहभागीहरूका मुखबाट ‘रमाइलो भयो’ भन्ने भन्दा ज्यादा शब्द निस्किएको पाइएन ।

पूरै कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण आकर्षण भनेको वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको उपस्थिति हो । उहाँले आयामेली आन्दोलन र लीलालेखनसम्बन्धी आफ्ना अवधारणाहरू राख्नुभएको थियो । तेस्रो आयामका अभियन्ता तीन स्रष्टा ईश्वरवल्लभ, वैरागी काइँला र इन्द्रबहादुर राईमध्ये ईश्वरबल्लभ अब भौतिक रूपमा हुनुहुन्न । वैरागी काइँलाले साहित्य, समाज र जीवनशैलीको सांस्कृतिक रूपान्तरणको निर्दोष माध्यम हो’ भन्दै अध्ययन र लेखनलाई सँगसँगै लानु पर्ने विचार व्यक्त गर्नु भएको थियो । त्यसपछि इन्द्रबहादुर राईले आफ्नो साहित्यिकलेखनका ५३ वर्षका उतारचढाव, आफूलाई प्रभाव पारेका लेखकका केही प्रसिद्ध कृतिहरू, तेस्रो आयाम र लीलालेखनका सम्बन्धमा विचारोत्तेजक संभाषण प्रस्तुत गर्नुभएको थियो । आइन्सटाइनको सापेक्षतावाद, शङ्कराचार्यको मायावाद, पिकासो, फ्रायड, माथ्यु आर्नोल्डलगायतका धेरै विद्वानहरूबाट प्रभावित भएर, उनीहरूलाई पढेर तेस्रोआयाम र लीलालेखन जन्माएको इन्द्रबहादुर राईले बताउनुभएको थियो ।

महोत्सवको दूरगामी प्रभाव ः राजधानीमा मात्रै नभएर जिल्लाजिल्लामा पनि यस किसिमका ठूला कार्यक्रमहरू लामै समयदेखि हुँदैआएका छन् र ती कार्यक्रमहरू साहित्यिक इतिहासका कोशेढुङ्गाका रूपमा स्थापित छन् । वि.सं. २०११ सालमा इलामको करफोकमा भएको सम्मेलन, वि.सं. २०२३ मा झापामा भएको सम्मेलन, वि.सं. २०६३ मा दोलखामा भएको नयाँ नेपालको परिकल्पना र साहित्यलेखन सम्मेलन, २०६४ मा भएको नुवाकोट साहित्य महोत्सव, वि.सं. २०६६ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की समारोहका अवसरमा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन,’ वि.सं. २०६७ मा नेपाल प्रज्ञाप्रतिष्ठानले सम्पन्न गरेको नेपाली भाषा सङ्गोष्ठी, यसै सालको प्रारम्भमा भएको दाङको साहित्यिक महोत्सवजस्ता साहित्यिक सम्मेलन र महोत्सवहरूले दूरगामी प्रभाव पारेजस्तो यो महोत्सवले पार्ने प्रभाव र छोड्ने छाप के त ? भन्ने कुनै दस्तावेज रहने देखिँदैन । सञ्चार माध्यमहरूमा धेरैले धेरै किसिमले कलम चलाए । साँच्चै भन्नुपर्दा अहिलेका चल्तीका अखवारी लेखकहरू सबैले खुलेरै लेखेर प्रशंसा गरेको पाइयो तर गैरसाहित्यिक व्यक्तित्व मार्क टली र उदीयमान भारतीय लेखिका ईरा त्रिवेदीकै सहभागिताले मात्रै अन्तर्राष्ट्रियस्तरको महोत्सव ठहर्ने कि नठहर्ने भन्नेतर्फ भने कसैले विचार मन्थन गरेको पाइएन । पुस्तक प्रकाशन संस्था फाइन प्रिन्ट र बुकवार्म ट्रस्ट सम्बद्ध युवाहरूको सक्रियतामा गरिएको कार्यक्रमले ‘पुस्तक किनेर पढ्नुपर्छ’ भन्ने संस्कृति निर्माणमा थोरै छाप पारे पनि कार्यक्रमस्थलमा चियाकफी किनेर पिउनलाई लेखककविहरूको हैसियतभन्दा बाहिरको मूल्य भएकाले बाहिर गल्लीगल्लीमा लेखककविहरूले चिया खोज्दै हिँडेको देखिन्थ्यो ।

यो महोत्सवका निर्देशक अजित बराल साहित्यिक बहसलाई बढाएर सानो वृत्तबाट ठूलो समूहमा लान महोत्सव सफल भएको बताउँछन् । जति समेटिनुपर्ने थियो, सो गर्न नसकिएको भए पनि एउटै कार्यक्रममा सबैलाई समेट्न नसकिने भन्छन् उनी । कार्यपत्र, सेमिनार आदि भन्दा पनि अनौपचारिक छलफलबाटै प्रभाव पार्न खोजिएको, जसलाई जुन विषयमा रुचि छ र जुन समयमा फुर्सद छ, सोहीअनुसार भाग लिन सक्नेगरी यस्तो कार्यक्रम तय गरेको बराल दावी गर्छन् ।

केन्द्र र मोफसलको दूरी ः चर्चित कवि कृष्णभूषण बलले-‘काठमाडौँ एक्लैले काठमाडौँ बोक्न सक्दैन’ शीर्षकको कविता धेरै पहिले लेख्नुभएको थियो र निक्कै चर्चा-परिचर्चा भएको थियो । उहाँले मोफसलको लेखनका सम्बन्धमा परिचर्चा हुँदा यही कविता सुनाउनुभएथ्यो । उहाँले आफ्नो कविता राजधानीवादको विरुद्धको पनि होइन र आक्रोश पनि होइन, यो त तत्कालीन शासकलाई दिएको सुझाव थियो भनेर व्याख्या गरे पनि बाहिर बसेर जति नै राम्रो काम गरे पनि केन्द्रले नदेख्ने-नसुन्ने र केन्द्रकाले चाहिँ सानो काम गर्दा पनि चर्चा पाउने गरेको प्रति गुनासो पोख्नुभयो । यता कवि तीर्थ श्रेष्ठ-मोफसलले सखुवाको दाउराले पकाएका पकवान पनि नबिक्ने तर राजधानीमा चाहिँ उमालेको चाउचाउ पनि बिक्ने भन्दै फरक रेखा कोर्दै हुनुहुन्थ्यो । उहाँहरूको बोली र व्यवहारबीचको विरोधाभास यहीँनिर खडा थियो । चर्चाको सेरोफेरोमा रहिरहेकाहरूजति सबै मोफसलकै उपज थिए र फेरि पनि आक्रोश छँदैथियो ।

ओझेलमा परेको साहित्यिक पत्रकारिता ःपत्रकारितामा नेपाली साहित्यले पाएको स्थानका सम्बन्धमा डा. रामदयाल राकेश, हरि अधिकारी र नारायण वाग्लेबीच रमण घिमिरेबाट परिसंवाद चलाइएको भए पनि कार्यक्रम कृति समीक्षाकै सेरोफेरोमा मात्र घुमेको थियो । सिङ्गो पत्रकारिताकै जननीको रूपमा रहेको साहित्यिक पत्रकारिताको अवस्थाका सम्बन्धमा महोत्सवमा समय छुट्याउन आवश्यक ठानिएन । साहित्यिक पत्रपत्रिकाहरूको बजार, पाठक र सम्पादनमा लागिरहेका साहित्यिक पत्रकारहरू निम्तो पाउने वर्गमै परेका थिएनन् । पत्रिका सम्बद्ध लेखकहरूले ज्यादा चर्चा पाएका र आमलेखकलाई त्यस्ता पत्रिकाले बेवास्ता गरेको सम्बन्धमा डा. राकेशको आक्रोसले माहोललाई तताएको मात्र होइन, यथार्थ पनि त्यही हो भन्नेहरू धेरै थिए ।

साहित्यिक महोत्सवका प्रायोजक ः राम्रा कार्यक्रमहरूको आयोजना गर्न आर्थिक स्रोतको अभावका कारण पनि त्यति सहज छैन । व्यापारिक सङ्घसंस्था र प्रतिष्ठानहरूका आँखा साहित्यतिर लाग्दैनन् तर यसपटक बुकवार्म ट्रस्टले व्यापारिक संस्था एनसेललाई प्रायोजन गराउन सकेर व्यापारिक संस्थाहरूलाई पनि तान्न सकिन्छ है भन्ने देखाएको छ । देवकोटा जन्म शताब्दी मनाउँदा समारोह समितिले सरकार, सङ्घसंस्था र व्यक्तिगत रूपमा पनि ठूलै रकम जम्मा पारेर खर्च गरेथ्यो । अन्य कार्यक्रमहरू पनि विभिन्न स्रोत जुटाएर गरिएका देखिन्छन् तर आँट गर्यो भने प्रायोजक खोज्न सकिन्छ भन्ने आशा यो कार्यक्रमले जगाएको छ ।

मधुपर्क २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *