Skip to content


घर पछाडिको बाँसको झ्याङबाट घाम पोखिन्छ, जून हँसियाको धार भएर घरको धुरीबाट उम्रन्छ । घाम र जूनको दशजगाभरि लिपिस्टिक पोतिएजस्तो लत्पतिएको रङ्गसँग मनको एउटा कुनो अङ्कमाल गर्न पुग्छ ।

दिनभरि डुबेको पसिनाको गन्धले त्यो रङ्गमा आफूलाई समाहित गर्छ र एउटा सुन्दर दृश्यले मन मोहित हुन्छ । दृष्टिले सौन्दर्य र गन्धको सौन्दर्य दशगजा पनि मनभित्रै हुँदोरहेछ ।

पोखिँदा पोखिँदै घर्तीलाई क्लान्त पार्दै औडाह छरेर ओरालो झर्दै गरेको घामलाई पिठ्यूँ फर्काएर एउटा मानव आकृति अगाडि बढ्छ । जस्केलातिर अलिकति घामका टाटाहरू बाँकी नै थिए । त्यो आकृति लुसुक्क छिर्यो । आँसुले डब्डबाएका आँखा, लँगडो खाटबाट लत्रिएको तन्नाको पुच्छर, द्रवित मन भएको आकृति घोप्टिएर केही लेख्न थाल्यो । एउटा माकुरो तुन्दु्रङ्ग झुण्डियो उसको टाउकोमाथि ।

– लेख्दै गयो ।

– मन पग्लिइरहेको थियो ।

– आँखा पग्रिरहेको थियो ।

– हँसियाको धारजस्तो जून टुप्पो अर्जापेर झ्यालबाट छिर्दै थियो ।

– लेख्यो, शीर्षक लेख्यो ।

– प्रश्न उठायो, आफैँले सोध्यो- आफैँलाई सोध्यो ।

– ‘जिन्दगीको कौमार्य कति कष्टप्रद र प्रत्युत्पादक किसिमले लुटियो ?’

– के लेखौँ ? निबन्ध कि कथा ?

ऊ द्विविधाग्रस्त हुन्छ । निबन्ध लेखौँ शरच्चन्द्र चटोपाध्यायका उपन्यास र कथाजस्तो छ उसको जिन्दगी कथा लेखौँ, ऊ कल्पनाको सागरमा पौडन चाहदैन । एकपटक कलम घुसार्यो ओठभित्र र दाँतले टोक्यो । अतीतको एउटा विष्मयकारी वतास आएर ठोक्कियो उसको शरीरमा र त्यही वताससँग संवाद गर्छ -जीवनको, अतीतको, वर्तमानको र साइवर जिन्दगीको ।

‘तिमी भनेको आफैँमा एउटा दर्शन हौ, नलेखिएको दर्शनको पुस्तक तिमी, अनुच्छेद तिम्रा पाइलाहरू, अतीत कोट्याएर मन पगाल्नुको पनि एउटा सार्थक अनुभव हुनसक्छ । तिमी किवोर्ड होइनौ-हार्डडिस्कका यन्त्रहरू हौ ।’

वतासले सिँगौरी खेल्दै गयो, वतासको सिङ्ले घोचेर खाटा बसिसकेको घाउहरूको पाप्रा उप्कियो र सबैसबै खतहरू घाउ पल्टिए ।

एउटा घाउबाट रगत बग्न थाल्यो ।

एउटा घाउबाट पिप चुहिन थाल्यो ।

एउटा घाउबाट पानीमात्रै बगिरह्यो ।

अर्को घाउ, सबभन्दा ठूलो घाउ आफ्नै मन सुम्सुम्याउन थाल्यो र वताससँग वहस गरेन, सुनिरह्यो, मन र वतासको संवाद ।

आकृतिले मन वतासलाई दियो र आफू निस्कियो, जस्केलाबाट बाहिर । करेसामा गोडमेल गरिरहेकी पत्नीलाई देख्यो । स्तनको मुन्टैमा प्वाल परेको बुलुज, धोतीको सप्कोले छोपी र लोग्नेलाई सोधी-‘कता जान निस्कियौ ?’

‘सार्थक चेतका लागि निरर्थक यात्रामा ।’

‘मन कता छाड्यौ ? मसँग पनि छैन, छोराछोरीसँग पनि छैन, दाल चामलसँग पनि छैन, घरभित्र पनि छैन, कहाँ राखेका छौ तिम्रो मन ?’

‘वतासलाई दिएको छु, अतीतको ओढारबाट उठेर आएको वतासलाई ।’

‘वर्तमानको भीरपहरो र भविष्यको ओढार देखेका छौ ?’

‘घाउहरू दुखेका छन्, मन त्यही घाउ वरिपरि घुमिरहेछ र अतीतसँग संवाद गरिरहेछ ।’

‘कति घाउ लाग्छन् तिमीलाई ? जहाँ जान्छौ चोटै खान्छौ, जतिपटक सडकमा जान्छौ चोट खान्छौ । के तिम्रो नियति घाउचोटहरू नदेखिने प्रस्तर हो ? के तिम्रो जिन्दगीको दिग्विजय भनेकै घाउ र चोटहरूको इतिहास हो ?’

आकृति, पत्नीसँग छोटो संवाद गर्छ, उसको मन अतीतको वताससँग पनि संवाद गर्छ । तर तादाम्य छैन उसको संवाद र पत्नीको अवसादमा । तादाम्य छैन उसको संवाद र अतीतको अवसादमा पनि । तादात्म्यहीन, सङ्गतिहीन र यदाकदा उम्लने आक्रोसको अग्निमा जलिरहेछ-उसको चेतना । पत्नीतिर पिठ्यूँ फर्काएर ऊ फेरि जस्केलाबाट छिर्यो ।

लेख्यो, लेखिरह्यो ।

जूनको धार पनि मेटिदै गयो र बाक्लोबाक्लो भयो । अतीतको वतास पनि उँडेर गयो । जूनले उसको शरीरभरि धमिलो प्रकाश पोख्यो । मन टक्क अगाडि आएर समाहित भयो । घाउहरूबाट चैतन्यश्राव भइरह्यो र ऊ त्यसैको मसीमा कलम चोवेर लेखिरह्यो । घाउहरूको वृत्तान्त-घाउहरूको आख्यान-कविताझैँ लेखिरह्यो ।

एउटा घाउ अलिकति चहर्यायो । भित्तातिर मुन्टो उठाएर हेर्यो । बायाँतिर ‘डिनर प्लेटमा’ फोटो छापिएको भण्डारीको दक्षप्रजापतिको टाउकोझैँ झुण्डिरहेको तस्बिर दायाँतिर हेर्यो मुटु कलेजो निकालिएको, कोइरालाको अस्थिपञ्जर फोटो । आफ्नो लङ्गडो खाटको वरिपरि हेर्यो थवाङको आँसुका थेग्लाहरू अनुवाद गरेर बगाइएका रगतका टाटाहरू लतपतिएको वर्तमानको क्यान्भास । त्यो घाउ झन् वल्कन थाल्यो । पीडाले छट्पटायो । सुस्केरा काढ्यो र सुस्केरामा एक्लै बोल्यो-‘ए देश कहाँ छौ तिमी-खै मेरो राष्ट्र ?’

टाउकोमाथि झुण्डिएको तरवारजस्तो माकुराले जवाफ दियो-‘ओवामा दिल्ली आएको बेला पाँच तारे महलको पूर्वी झ्यालबाट मुत्छ, तिम्रा पशुपतिनाथहरू कोपरामा शिवलिङ्ग राखेर थाप्छन् र अभिशेक गर्छन्-हो त्यही कोपरामा छ तिम्रो राष्ट्र’ ।

उसले माकुराको कथनभित्र अराजकता देख्यो । अलिकति झस्कियो र लेख्न डरायो । सद्दाम हुसेनदेखि विन लादेनसम्म कङ्कालहरू उसको अगाडि तेर्सिए । झ्यालबाट मुन्टो छिराएर बाहिरतिर हेर्यो । मनमोहनको फेवाबाट निस्किएका लिखाहरूको सिंहदरबार र वालुवाटारतिर गुजि्ररहेको मार्चपास । चलचित्रको पर्दामा जस्तो निमेषमै दृश्यहरू फेरिन्छन् । कहिले देखिन्छ-टुँडिखेलमा साँढेको लडाईं, कहिले देखिन्छ-पुतलीसडकमा खच्चडको संभोग र खित्का छाडेर हाँसिरहेको प्रहरी, ट्राफिक जाम । पाँचतारे होटलको मूलढोकाबाट आँखा छिराएर हेर्दा पश्चिम नेपालका छाउपडीहरूको लाज छोपेको टालो हल्लाएर झरिरहेका डलरका पातहरूको ओसारपसार देखिन्छ र मानवशास्त्रीहरूको विचारोत्तेक भाषण पनि सुनिन्छ ।

ऊ लेख्दै जान्छ, जे देख्छ त्यो लेख्दै जान्छ । घाउहरू दुखिरहेका हुन्छन् । एउटा घाउ दुख्न छाड्छ, अर्को घाउ बल्झन्छ । उसका आँखा पनि घुमिरहेका हुन्छन् । पुतलीसडकबाट आँखा ओछ्याउँदै कमलादी छिर्छ । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’- काम नपाएर उभिरहेको देख्छु । पर्खालभित्रको भीमकाय दरबारभित्र अक्षरहरू फुलेको देखिन्छ । काला अक्षरहरूको सेतो साम्राज्यमा अक्षरले अघाएर सघन बगिरहेको दृश्य खोज्छ तर अक्षरको डकारसँगै अहङ्कारको खकार थुप्रिएको फोहोर देखेर उसलाई दिग्मिग लाग्छ बाग्मतीजस्तै । केशरमहल पुग्छ, कीर्तिपुर पुग्छ-हातमा चक-डस्टर हुन्छ, कानमा मोबाइल घरजग्गाको मोलतोल, झोलामा ल्यापटप-रियलस्टेटको नक्सा आयव्ययको जोडघटाउ । म्यानपावर कम्पनीको विज्ञापनको ड्राफ्ट ।

घाउहरू दुखिरहन्छन् । औषधि गरौँझैँ लाग्छ । अस्पताल छिर्छ र टिकट काट्छ । प्रतीक्षालयमा उभिएर हेर्छ-बोकाका टाउकाहरू, कसाईखानाजस्तो रगतको कुण्ड । वाक्वाकी लागेर दगुर्छ सडकतिर । दर्जनौँ घाउहरू एकैचोटि दुख्न थाल्छन् । प्यासले मुख सुक्छ । बीच सडकमा साँढेले मुतेको देख्छ र सुकेको ओठ चाटेर निल्छ । प्यासले छट्पटाउँछ, सास फुल्छ, आँखा चिम्सा हुँदै जान्छन् । नाक पोल्छ, आँखा पोल्छ, निधारमा हत्केलाको पाली लगाएर हेर्छ-नयाँ बानेश्वर प्लाजातिर छिरिरहेको सुकिलो जुलुस । लिखा टल्किएका वस्त्र आभुषणले सजिएको पोशाकहरूमा खिया लागेको कलम, माटोको शल्यक्रिया गर्न उध्याएर ल्याइएको तरवार ।

जुन चुहिदै गयो बाँसको झ्याङ पछाडिबाट । घाम उम्रदै आयो घर अगाडिको बकैनाको रुखबाट । ऊ निस्सार, अवोध घाउहरूको ओछ्यानमा कलम फालेर सुतिरह्यो र सुनिरह्यो घाउहरूको आत्मगाथा, मनभित्रका मनहरूको सपनाको जाहेरी । विपनाका धृतराष्ट्र र गान्धारी बनेको विद्वताको सौन्दर्यचेतना पनि पढिरह्यो । पढ्दै जान्छ । डुब्दै जान्छ र जति डुब्छ उति देख्छ-शालिनता हराएको विचार, आचार हराएको विचार र छचल्किरहेको विद्वता । विस्तारै उसका घाऊहरूमा पीडा सेलाउँदै जान्छ र मनमनै सोच्छ-घाउचोटले शरीर सुन्निएपछि, घाउचोटले शरीर भरिएपछि-मन पनि दुख्न छोड्ने रहेछ, तन पनि दुख्न छोड्ने रहेछ ।

पश्चिम रामपुर, चितवन

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *