Skip to content


माघको दोस्रो हप्ता मध्याह्नको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ । के खोजे नेटमा त्यो पनि आफँैंलाई राम्ररी थाहा थिएन । शरीर सन्चो नभएकोले होला, त्यति फूर्ति पनि थिएन । अफिसको काम, घरको आफ्नो, सबैतिरको टेन्सनले के काम गर्ने, के काम नगर्ने दोधारमा रुमलिँदै थिए । मोबाइलमा घन्टी बज्यो । पहिलो पटकको घन्टी मैले त्यति वास्ता गरिन । घन्टी फेरि बज्यो । नम्बर हेरे चिनेजस्तो लाग्यो । कसको भन्ने छुट्याउन सकिनँ । दोस्रो पटक पनि घन्टी बज्यो । रिसिभ गरिनँ । फेरि पनि घन्टी बज्यो मैले बोल्नु भन्दा पहिला नै उताबाट आवाज आयो “दाइ फोन उठाउन पनि कति गाह्रो ? मेरो नम्बर चिन्नु भएन ?” “चिनेजस्तो लाग्यो तर ठम्याउन सकिनँ” मैले उत्तर दिए । “ल भन्नोस् त म को हो ?” उसले सोधी ।

मलाई गाह्रो पर्यो । मैले भनेँ “अ…………”

उसैले मलाई सजिलो बनाई “म उषा” “ए उषा ! सन्चै छौ, अनि आज धेरैपछि कताबाट सम्झियौ त” मैले प्रश्न गरे ।

“दाइ हजुरलाई पनि बिर्सन सकिन्छ र, हजुरले पो माया मार्नु भयो” उसले भनी ।

“एउटाले माया मारेपछि अर्कोले माया त मार्नै पर्यो नि हैन ?” मैले पनि सोच्दै नसोची बोलिदिएँ ।

ऊ थोरै हाँसेको मैले फोनमा सुनेँ । उसलाई कफी खान मैले अफिसमा निम्त्याएँ । उसले कफी खान स्वीर्कादै भनी “दाइ कफी खान त आउँछु तर हाम्रो पुरानो कफी सपमा” मैले “हुन्छ” भनी दिएँ । बेलुकी ५ः३० बजे कफी खाने निश्चित भयो । उसले मलाई बेलुकी कफी सपमा भेट्ने अनि कुरा गर्ने भन्दै “बाइ” भनी मैले पनि “बाइ” भनी दिएँ ।

उसले पहिला फोन राखी । उषा पोखरेल उसको नाम । काठमाडौँ बाहिर पूर्वतिरको केटी । पढेलेखेकी, मिहिनेति, सरल र सीधा । अफिसको कामको सन्दर्भमा मैले भेटेको । उसको उमेर त मैले सोधेको छैन । सायद २२ नाघेकी छैन होली । डिग्रिसम्मको अध्ययन पूरा गरेकी छ । उसको कम्प्युटरमा नेपाली टाइप राम्रो छ । टाइप गर्नु पर्दा प्रायः म उसैकोमा जान्छु । उसले नेपाली टाइप गरी दिन्छे । पैसा लिन मान्दिन । ऊ मलाई असाध्यै आदर गर्छे । म पनि उसलाई इज्जत गर्छु । केही सिकाइ दिन्छु । ऊभन्दा जान्ने भएर होइन, उमेरमा ऊभन्दा पाको भएर ।

गोरी छे, हँसिली छे बेलाबेलामा जिस्काउँछु । ऊ हाँसेर टारी दिन्छे । खोई म आफैँलाई थाहा छैन किन ऊप्रति मेरो धेरै झुकाव छ । उसलाई नभेट्दा के के सोच्छु, मनमा अनेक कुरा खेल्न थाल्छ । मनमनै कार्यक्रम पनि तयार हुन्छ जब उसलाई भेट्छु अगाडिका सबै कुरा बिर्सन्छु । उसलाई इज्जत गर्छु, उसको अभिभावक बनिदिन्छु । ऊ निश्चिन्त हुन्छे । ऊप्रति मेरो दुईवटा सोच भएको जस्तो मलाई आभास हुन्छ । ती दुवै आभास ती दुवै सोचलाई उसले राम्ररी सुधेकी छे । मेरो नजानिँदो बासना पनि उसलाई पचेको छ । मैले दिएको इज्जत पनि उसले बुझेकी छे । त्यस्तैगरी उसलाई पनि मैले राम्ररी बुझेको छु । मप्रति उसको चाहना हुँदै नभएको पनि होइन छ भनेर प्रस्ताव गरी हाल्ने पक्षमा पनि ऊ होइन भन्ने आभास मैले पाएको छु । मलाई आदर गर्छे, इज्जत गर्छे । फरक यो मानेमा छैन, हामीले एक अर्कालाई बुझाउन सक्याँै भने हामीभित्र लुकेको त्यो आभास कुनै ठूलो होइन । जरुरत भयो भने हामी सक्षम छौँ होलाजस्तो मलाई लाग्छ । एकले अर्कालाई आदर गर्दागर्दै हामी राजीखुसीको त्यो चरणमा आउनै सकेनौँ, आउनै भ्याएनौँ । त्यतिकैमा उसको बिहेको साइत जुर्यो । बिहेको दिन म जान नसक्ने भए । उसको बिहेको खबर नै मलाई नमीठो लाग्यो । नजिकको मान्छे छुट्टिएर जान लागेको जस्तो । आफ्नै बहिनी अन्माएर पठाउन लागेजस्तो । कस्तोकस्तो आफ्नो मनको कुनामा लुकेर बसेको कुनै इच्छा पूरा नभएजस्तो ।

उनी दुलही हुने दिनको अघिल्लो साँझ मैले उनलाई कफी सपमा बोलाए । ऊ विना शङ्कोच आई । दुवैले सँगै कफी खायौँ । मैले मेरो तर्फबाट उपहार दिए । उसले धन्यवाद पनि भन्न सकिनँ । ऊ काली-नीली भई, फुङ्ग उडेको हाँसो हाँसी “भोलि बिहेमा आउनुहोस् न दाइ” वाक्य यति बोली “मैले कोसिस गरौँला” भने । उसले म जाऊ भनी मैले उसको कानमा मुख राखेर भने “तिमी मेरी उधारी भयौ ” उसले बुझिन र सोधी “मैले त बुझिन” । “ठीकै छ बुझ्यौ भने सोची हेर्नु” भन्दै उसलाई नजिक तानेर निधारमा माया गरी दिए । त्यो माया विछोडको माया आत्मीयता र अभिभावकत्वको माया थियो । उसले २ थोपा आँसु झारी मलाई उसको त्यो आँसु पुछ्ने इच्छा भएन उसको गालामा आँसु बगेको राम्रो लाग्यो । उसको मोबाइलमा घन्टी बज्यो उसले मोबाइलतिर हेर्दै “दाइ राति भई सक्यो तपाईंसँगै बसेर धेरै कुरा गरेर रुने मन त थियो तर के गर्ने मलाई घरमा मार्छन् ?” भन्दै उसले मेरो हात सुमसुम्याएर माया गरी र हातभरि आँसु झारेर आफ्नो पाइला अगाडि बढाई । म टाढासम्म उसलाई टोलाएर हेरी रहे । विगतका यही मीठानमीठा कुरालाई सम्झिएर म कफी सपमा उसलाई पर्खी बसिरहेको थिएँ । ऊ मलिन अनुहार लिएर आई र मेरो मेचको सामुन्नेको कुर्सीमा बसी । थोरै हाँसी र टाउको टेबुलमा झुकाएर बसी रही । मैले निक्कैबेर उसलाई हेरिरहेँ केही बोलिनँ । म मौन बसेँ । मैले उसलाई “उषा” “उषा” भन्दा पनि उसले हेरिन । उसको टाउको बिस्तार उचालेको त ऊ बलिन्द्रधारा आँसु बगाइरहेकी थिई । त्यो देखेर म पनि बोल्न सकिनँ । त्यतिकैमा मगाएको कफी आयो । मैले “कफी खाऊ” भने उसले व्याग खोलेर केही खोजेजस्तो गरी । सायद रुमाल खोजेकी होली भनेर मैले खल्तीबाट रुमाल झिकेर ऊतिर बढाएँ । उसले रुन्चे हाँसो हाँसी र रुमाल समातेर आँसु पुछी । मैले कफीको सुर्को लगाए । उसलाई पुनः कफी खान आग्रह गरेँ उसले पुनः आँसु पुछ्दै रुमाल मतिर फर्काई । मैले “राख” फेरि चाहिएला भनेँ । उसले रुन्चे मुस्कानमा रुमाल व्यागमा राखी । मैले सोधे, “अब बोल्न सक्छौँ ?” उसले हाँस्दै भनी “सक्छु दाइ हजुरलाई नराम्रो लाग्यो होला नजिकको जस्तो लाग्यो भने आँसु आउँदोरहेछ । “किन के भयो ? मैले सक्ने सहयोग गर्न म तयार छु” मैले भने । “हजुरको पनि हातमा भए पो ।” उसले मलिन स्वरमा भनी । “के भयो घरमा झगडा पर्यो ?” मैले प्रश्न गरे । “झगडा भएको भए त मिल्न पनि सकिन्थ्यो नि दाइ” उसले भनी, “अनि के भयो त” मैले प्रश्न गरे । ऊ उत्तर नदिई रुन थाली । किन “विकास बिरामी छ ?” मैले फेरि सोधे । उसले मुन्टो हल्लाएर ईशाराले “हो” भनी । “के भएको छ ?” “किन आत्तिएको बिरामी भए पनि निको भइहाल्छ नि” मैले सान्त्वना दिँदै भने । “निको नहुने रोग दाइ अब म के गरौं ?” । उसले रुँदै भनी मेरो मनमा चिसो पस्यो । मन ढुक्क फुल्यो र मेरो मुखबाट अनायसै निस्क्यो “एड्स” । ऊ डाँको छोडेर रुन थाली । कफी सपका सबै मान्छेको ध्यान हामीतिर गयो । मलाई के गरौँ के गरौँजस्तो असजिलो भयो उठेर ऊतिर गए । टाउको सुमसुम्याए, ऊ घुक्कघुक्क गर्न थाली म एकछिन उसको टाउकोमा हात राखेर उभिरहे । मान्छेहरूको ध्यान बिस्तार हामीबाट हटेजस्तो लाग्यो । अलि शान्त भएपछि म आफ्नो कुर्सीमा गएर बसे । दोस्रो पटक कफी मगाए । दुवै जनाले कफी बोल्दै नबोली खायौँ । कफी सिद्धिन लागेको थियो उसको मोबाइलमा घन्टी बज्यो उसले फोन उठाई र भनी “हुन्छ” । त्यसपछि उसले मलाई भनी “उसको फोन आएको छ दाइ म जान्छु” । म पनि जान्छु भन्दै “ऊसँगै उठे “। ऊ मसँग छुट्टनि खोजी । “किन मेरो वाइकमा बस्नु हँुदैन ?” मैले प्रश्न गरे । उसले रुन्चे अनुहारले मेरो पाखुरामा चिमोटी र वाइकको पछाडि बसी उसको घरको तल उसलाई छोडेर म फर्किए ।

घरमा खाना खान पनि मन लागेन । राति निद्रा पनि आएन श्रीमतीजीले “किन झोक्राएको सन्चो भएन” भनिन् मैले “सन्चै छ तिमी सुत भनी” ऊ कोल्टे फर्केर घुर्न थाली । मेरो मन उषातिरै गयो । विवाहको कुरा हुँदा उसले मलाई भनेकी थिई “८।१० वर्ष खाडी मुलुक बसेर आएको रे दाइ केटो त्यत्ति राम्रो त छैन, पढाइ पनि मेरो भन्दा कमैजस्तो छ । आफ्नो अवस्थाले गर्दा हुन्छ भनी दिएँ । मेरो पनि राम्रो कमाई राम्रो जागिर काठमाडौँमा घर भएको भए फूर्ति साथ इन्कार गर्ने थिए के गर्नु अर्काको खुट्टामा बाँच्नु परिरहेछ” । “तिमीमा के कमी छ र उषा जस्तो पायो त्यस्तैसँग सम्बन्ध गास्नु पर्छ ?” मैले उसलाई भनेको थिए । “तपाईं पो त्यसो भन्नु हुन्छ र मेरो आफ्नो भन्नेहरू नै मलाई चिन्दैनन् म के गरौँ ?” उसले मतिर प्रश्न गरेकी थिई । मैले उसलाई ढाडस दिँदै भनेको थिए “हेर विवाह भनेको लेखेर ल्याएको हुन्छ, भाग्यमा जे हुन्छ त्यो भएरै छाड्छ ।”

आफूले रोजेजस्तो खोजेजस्तो हुँदैन । तिमी सक्षम छौ, मेहिनेती छौ तिम्रो भित्री मनले नै मानेको छैन भने अलग कुरा, होइन भने यो एउटा सम्झौता हो हस्ताक्षर गरी दिनु अगाडि भगवान्ले हेर्ने छन्” । ऊ त्यति बेला मुसुक्क हाँसेकी थिई । उसलाई मैले त्यति बेला भनेको थिए “बरू तिमीलाई एउटा कुरा भन्छु अन्यथा नलिनु ।” “भन्नोस् न दाइ हजुरले भनेकोमा म कसरी गलत अर्थ लाउन सक्छु र ।” मैले उसलाई भनेको थिएँ । “बरू ऊसँग सम्पर्क राख्नु अगाडि ब्लड टेस्ट गराउनु किनकि ऊ धेरै वर्ष विदेशमा बसेको केटो रहेछ” । “दाइ त्यो सम्भव छ र ? हजुरले भनेको त सही हो तर त्यो गर्ने कसरी ?” उसले भनेकी थिई । उसलाई मैले सम्झाएको थिएँ “के गर्नुपर्छ त्यो त तिमी नै तय गर तर कुनै निहुँमा उसँग सम्पर्क गर्नु अगाडि रगत अवश्य जचाउनु । तिमी पढेलेखेकी मान्छे मैले सिकाई राख्नु पर्दैन । तैपनि मनमा शङ्का नराख्न एक पटक त्यसो गरे होला कि भनेको मात्रै हो, विचार तिम्रो ।” उसले मसँग हात मिलाउँदै भनेकी थिई “ठीक छ दाइ अवश्य म त्यसो गर्नेछु” । यस्तै छटपटीमा कतिबेर निदाएँ, कुन्नि ।

अफिसमा बसिरहेको थिएँ । उसको फोन आयो उसलाई मैले विकाससँग सम्बन्धविच्छेद गरेर अर्कोसँग विवाह गर्ने सल्लाह दिएँ । मेरो सल्लाहमा ऊ सहमत भइन् र उसले भनी “दाइ उसलाई पनि थाहा रहेनछ ऊ रोगी भएको कुरा, थाहा भएको भए मसँग बिहे नगर्ने रहेछ । मसँग मात्र होइन कोहीसँग पनि । ऊ अहिले धेरै पछुताइरहेछ । मसँग रुन्छ, माफी माग्छ । एक नवजवान केटो, ऊ मेरो पति भइसक्यो । अब उसलाई छाड्न सक्दिनँ । बाँचुन्जेल म उसको पत्नी भएर रहने छु । उसको सेवा गर्नेछु । नजानेर गरेको गल्तीमा म उसलाई सजाय दिन सक्दिनँ ।” उसको कुराले मेरो त वाक्य नै फुटेन । नतमस्तक भएँ । “किन दाइ मेरो कुरा चित्त बुझेन ।” “तिमी यति महान् रहिछौँ खोई तिमीलाई कसरी बुझाँउ र सम्मान गरौँ” मैले भने । उसले भनी “सम्मान होइन दाइ मलाई तर हजुरको सहयोग चाहिन्छ ।” “के सहयोग भन न” मैले भने । उसले भनी-हजुरको सल्लाहले त म बाँचे, मेरो पति कहिलेसम्म उसलाई ईश्वरले बचाउँछन् ? त्यो त भन्न सक्दिन । अहिले भने भगवान् भएर तपाईंले हामीलाई बचाई दिनुभयो । मैले सुहागरातको पहिलो चरणमै हामी दुवैको रगत जँचाएपछि मात्र एकअर्कोलाई छुने कुरामा उसलाई सहमत गराएँ । ऊ सहमत भयो । त्यसको नतिजा हजुरले थाहापाईहाल्नुभयो । ऊ मेरो लोग्ने, म उसकी स्वास्नी तर हामीबीचको पतिपत्नीको सम्बन्धमा भने भगवान्ले हामीलाई ठगे । हजुरले मेरो कुरा पत्याउनुहुन्छ हगि ? उसले मलाई छोएको छैन दाइ ।” उसले एक सासमा भनी । मैले भनेँ “तिमीले भनेको तर मैले विश्वास नगरेको केही कुरा छ ।” उसले भनी “छैन दाइ” । “अब भन म तिमीलाई के सहयोग गर्न सक्छु ?” मैले भनेँ । उसले भनी “दाइ ऊसँग मेरो कुरा भइसक्यो । ऊ सहमत भइसक्यो ।” मैले सोधेँ “के कुरामा ?” । ऊ र म लोग्नेस्वास्नी भएर रहने । “अनि” मैले भने । उसले भनी- “हजुरले हामीलाई खुसी राख्ने ।” “कसरी ?” मैले सोधे । “हजुरले हामीलाई एउटा नानी दिनु पर्छ । उसलाई ईश्वरले मबाट कहिले खोसेर लान्छन् म भन्न सक्दिन तर म त्यही नानीको साहारामा जिन्दगीको बाँकी दिन काट्ने कोसिस गर्नेछु । विन्ति दाइ नाइँ नभन्नुस् उसले भनी । मैले भनेँ “मैले त बुझिनँ त ?” “हजुरले भनेको होइन म हजुरकी उधारी भए भनेर भगवान्ले मलाई हजुरको ऋण तिर्न नै लेखेका रहेछन् । उधारो त तिर्नु पर्यो नि दाइ, म उधारो तिर्न तयार छु ।”

म झङ्ङ्ग भए ब्यूझँदा त बिहानको ७ बजिसकेको रहेछ ।

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *