त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्यो र मेरो कविताको विषयमा यस्तो एउटा प्रश्न उठायो जसको उत्तर सोच्दासोच्दै मैले जीवनलाई एउटा नयाँ मोड लिन विवश गर्ने निर्णय गरेँ ।

आफ्नै कविताको विषयमा कविको सम्मतिलाई ज्यादा महत्त्व दिनु हुँदैन । सायद यस्तो कुरा कसैले सोचेका थिएनन् । त्यसबेला मैले जे निर्णय लिएँ, त्यो गलत पनि हुनसक्थ्यो । जीवनको यही त सबैभन्दा ठूलो चमत्कार हो कि यसले गलत बाटोलाई पनि सही बाटोमा लिएर जानसक्छ । फेरि म त्यतिखेर शान्त, सामान्य मनस्थितिमा थिइनँ, जुन साहित्य या कविताको विषयमा सही निर्णय लिनका लागि आवश्यक छ । त्यसकारण त्यो प्रश्न अझ पनि मेरा भावप्रवण पाठकहरूको अगाडि तेस्र्याउन सक्छु । आफ्नो जुन किसिमको कविताको बारेमा मेरो मनमा प्रश्न उठेको थियो, त्यसबाट म आफू त धेरै टाढा गइसकेको छु तर आज पनि मेरा तिनै कविताहरू सबभन्दा बढी पढिने गरिन्छन् । हुनसक्छ तपाईं मैले त्यसबेला सोचेको प्रक्रियासित सहमत हुनुहुन्छ! अथवा असहमत हुनुहुन्छ । एक जागरुक र विवेकशील पाठक हुनाको कारण तपाईंलाई पूरा अधिकार छ । म स्वयम् आफ्नो त्यसबेलाको रायसँग ज्यादै सहमत छैन । यस्तो बेलामा ठीकबेठीकभन्दा पनि चिन्तनको महत्त्व धेरै हुन्छ, जुन प्रायःजसो ठीक, बेठीकमै अड्किरहेको हुन्छ । साहित्यका धेरैजसो सत्यजस्तो कि जीवनकै सधैँ विवादास्पद रहेका हुन्छन् ।

एक दिन बरेली कलेज, बरेलीबाट मलाई कवि सम्मेलनको निमन्त्रणा आयो । साथमा कलेजको अर्थ-विभागका अध्यक्ष तथा लेक्चरर श्री शङ्कर सहाय सक्सेनाको एक व्यक्तिगत पत्र पनि थियो । उहाँसँग मेरो पूर्वपरिचय त थिएन तर पत्र पढ्दा लाग्थ्यो कि उहाँ मेरा कविताहरूबाट अपरिचित हुनुहुन्थेन । बडो आग्रहपूर्ण पत्र उहाँले लेख्नुभएको थियो र मेरो स्वीकृतिभन्दा पहिल्यै मनिअर्डरद्वारा बाटो खर्च पनि पठाउनु भएको थियो । मैले त्यहाँ जाने निश्चय गरेँ र गाडी आदिको सूचना उहाँलाई दिएँ ।

स्कुलबाट ज्यादा छुट्ट िमिलाउन सकिन्नथ्यो । केवल दुई दिनमा यो यात्रा पूरा गर्ने कार्यक्रम बनाएँ मैले । बरेलीमा कविसम्मेलन हुने रातको बिहान नै म ईलाहाबादबाट हिँडेर प्रतापगढ पुगेँ । त्यहाँबाट १० बजे पञ्जाब मेल पाइन्थ्यो, जसले साँझसम्ममा बरेली पुर्याइदिन्थ्यो । स्टेसनमा केही विद्यार्थीहरू मलाई लिन आएका थिए । एक नवयुवक अग्लो, दुब्लो, गोरो, टाइबिनाको कोट र प्यान्ट लगाएको-हुर्रिंदै मतिर आयो र भन्यो-‘तपाईं नै बच्चनजी हो ?’ र मैले म नै हुँ भनेपछि उसले मेरो हात समात्यो र समातिरह्यो । अनि भन्दै पनि रह्यो -”बच्चनजी, तपाईं आउनु भयो ! मेरो जीवनको कत्रो ईच्छा पूरा भयो भन्ने कुरा तपाईंलाई थाहा छैन । आज म तपाईंको मुखबाट कविता त सुन्न चाहेकै थिएँ । आज तपाईं नआउनु भएको भए म जिन्दगीलाई कहिल्यै माफ गर्दिन थिएँ…….”-अरू पनि कुन्नि के के भन्दै गयो र म चाहिँ मेरो कविताको मोह गर्ने यस्तो मान्छे पनि रहेछ भनी सोच्दै रहेँ ।

टाङ्गामा पनि ऊ मसँगै बस्यो, पटकपटक मेरो हात समात्दै रह्यो र बाटोभरि म आएको हुनाले खुसी र मेरो कविता सुन्नका लागि व्यग्र भएको भनाइ व्यक्त गरिरह्यो । यसलाई सायद मेरो सबै प्रकाशित कविताहरू सम्झना थियो । बीच-बीचमा ऊ मलाई मेरा कविताका पङ्क्तिहरू सुनाउँथ्यो, आग्रह गर्थ्यो-‘मधुशाला’को फलानो फलानो रुवाइहरू, मधुबालाको फलानो कविता, फलानो पत्रिकामा प्रकाशित फलानो गीत तपाईं जरुर सुनाउनोस् । ती मेरालागि नै लेखिएका हुन् । आज तपाईं मेरो कुरा मान्नुहोस् । जुनजुन मैले भनेँ नि त्यही सुनाउनोस् । म तपाईंको यस उपकारलाई जिन्दगीभरि बिर्सने छैन ।”

मलाई बरेली केवल चार घण्टा मात्र बस्नु थियो । मेरो सामान कलेजकै कुनै कोठामा राखिदिएका थिए । नुहाउने, तयार हुने, खाना खाने काममा मलाई एक घण्टाभन्दा बढी समय नै लाग्यो । म कलेजको हलमा पुगुञ्जेल कवि सम्मेलन भएको दुई घण्टाभन्दा ज्यादा भइसकेको थियो र मेरै प्रतीक्षा भइरहेको थियो । मञ्चमा जनार्दन झा ‘द्विज’ देखेको सम्झना छ मलाई । ‘दिनकर’ को उदय हुनअघि मोहनलाल महतो ‘वियोगी’ र ‘द्विज’ बिहारका सबभन्दा ठूला कवि भनेर चिनिन्थे । कहिलेकाहीँ उहाँहरूसँग केदारनाथ मिश्र ‘प्रभात’ को नाम पनि लिइन्थ्यो । मैले त्यहाँ दुई घण्टासम्म कविता वाचन गरेँ । बरेलीको कुनै पनि कवि सम्मेलनमा यो मेरो पहिलो कविता वाचन थियो । मेरो कविताको प्रभाव अरू ठाउँमा हुने जसरी नै त्यहाँ पनि भयो । सबले एक व्यक्तित्वपूर्ण स्वर सुने, हिन्दी कविताको एक नयाँ शैली देखे र भावहरूको एक नयाँ उथलपुथल अनुभव गरे जसमा पीडाको उत्कटता पनि थियो, उल्लासको तीब्रता पनि थियो ।

टाङ्गामा मसँगै बसेर आएको युवक दर्शकहरूको बीचबाट बाटो बनाउँदै आएर मेरो ठ्याक्कै अगाडि बस्न आयो । उसको भावमुद्राले म यतिधेरै प्रभावित भएँ कि, लाग्थ्यो म केवल ऊ एक जनालाई मात्र कविता सुनाइरहेको छु । ऊ एक जनाले मात्र मेरा शब्दशब्दलाई आत्मसात गरिरहेको छ । उसले जुनजुन कविता भन्यो, मैले त्यहीत्यही सुनाएँ । त्यस कविता वाचनको समाप्ति मैले ‘पाँच पुकार’ बाट गरिदिएँ, जसको अन्तिम अंश यस्तो छ ः

दो दौर न चल पाए थे
इस तृष्णा के आँगन में,
डूबा मदिरालय सारा
मतवालों के क्रन्दन में
यमदूतद्वार पर आया
ले चलनेका परवाना,
गिर-गिर टूटे घट-प्याले,
बुझ दीप गए सबक्षण में,
सब चले किए सिरनीचे
ले अरमानों की झोली
गूँजी मदिरालय भर में
लो, ‘चलो, चलो’ की बोली !

-अर्थ ः यस तृष्णाको आँगनमा दुईपटक पनि पिउन पाएका थिएनन् ।

मदिरालय पूरा पिउनेहरूको क्रन्दनमा डुब्यो । यमदूत ढोकामा आए लैजाने सन्देश बोकेर । चर्लामचुर्लुम खसेर फुटे घैँटा र प्यालाहरू । क्षणभरमै दीयो निभ्यो ।

सब टाउको निहुर्याएर गए इच्छाका पोकाहरू-बोकेर । मदिरालयभरि गुञ्जियो- ल ‘हिँड, हिँड’ को आवाज ।

यसैको साथ सबै दर्शकहरू बोझिल मन लिएर हलबाट निस्किए-त्यस्तो प्रभाव परेको थियो त्यस अंशको ।

मलाई सहारनपुर एक्सप्रेसबाट फर्कनु थियो, जुन बरेलीबाट राति बाह्रबजे हिँड्थ्यो र भोलिपल्ट साँझ चार-पाँच बजेतिर ईलाहाबाद पुग्दथ्यो ।

कवि सम्मेलनबाट म सीधै स्टेसन गएँ । केही विद्यार्थी र अभिभावकहरू मलाई पुर्याउन आए । सँगसँगै अघि मैले माथि कुरा गरेको युवक पनि थियो तर यतिखेर उसको त्यो साँझको खुसी कुन्नि कहाँ हराइसकेको थियो । ऊ यस्तो लाग्थ्यो आफूआफूभित्रै डुबेको थियो । जस्तो कि म-कवि सम्मेलनपछि मलाई सधैँ नै एक विशेष एकान्तपनाको भावनाले घेरिराखेको हुन्छ । रेल आएर म डिब्बामा बस्नै आँटेको बेला त्यो युवक फेरि म कहाँ आयो । आफ्ना अलि द्रबित ठूलाठूला आँखाले मलाई हेर्दै बडो जोरसित मेरो हात समात्यो । उसका ओठहरू केही भन्न चाहिरहेका थिए तर भन्न नसकेझैँ मन्दसित चले । अन्त्यमा केवल यति भन्यो उसले- ”म पनि यही गाडीबाट जाँदैछु । फलानो ठाउँ जानु छ ।”-कुन स्टेसनको नाम लिएको थियो, मैले बिर्सें र ऊ गएर अगाडिको डिब्बामा बस्यो । उसले कुनै सामान पनि ल्याएको थिएन ।

मैले सुत्ने ठाउँ भेट्टाइसकेको थिएँ-दिनभरिको यात्रा, रातिको कविता वाचनले गर्दा शरीर र मनबाट थकित म निदाइहालेँ । करिब चार बजे डिब्बाका अरू यात्रुहरूको हल्ला सुनेर अचानक म ब्यूँझे । टाढा देखिएका बत्तीहरू देखेर रेल कुनै सानो स्टेसन हुँदै आएर रोकिएको थियो भन्ने थाहा भयो । कोही एक जनालाई रेलले किचेको रहेछ र मानिसहरू आ-आफ्ना डिब्बाबाट ओर्लेर उसलाई हेर्न जाँदै थिए । केही र्फकंदा कुरा पनि गर्दै थिए-“जवान रहेछ मान्छे त….कुनै सहरीया…कर्मको लेखा…..यस्तो अँध्यारोमा कहाँ लाइनमा आएछ….जसको मृत्युको जहाँका लागि लेखिएको हुन्छ, मान्छे त्यहीँ पुगिहाल्छ….मर्ने त मरिहाल्यो, गार्ड ड्राइभरले रिपोर्ट दिन्छ अब…।”

रेलवे अधिकारीहरू बत्ती लिएर यताउता दौडिरहेका देखिन्थे । केही लासलाई घेरेर उभिएका थिए । अलिअलि उज्यालो हुँदै आइराखेको थियो । किन हो कुन्नि, मलाई पनि ओर्लेर हेर्न जान मनलाग्यो र नजिकै गएर हेर्दा त म स्तब्ध भएँ । त्यो त बरेलीमा मैले भेटेको युवक नै पो रहेछ त ! उसको गर्धन र एउटा हात किचेको थियो । अनुहार त रगतले पूरा लतपत थियो । उसले लगाएको कोटले गर्दा उसलाई चिन्न मैले गल्ती गरिनँ, त्यसो त उसको शरीर अर्कैतिर पछारिएको थियो ।

आत्महत्या ! किन ?

केही त होला नि जसले उसलाई ज्यून असह्य बनायो ।

साँझदेखिका उसका एकएक कुरा सम्झन्छु ।

ऊ अलि असाधारण मनस्थितिमा थियो ।

फेरि एउटा प्रश्न मेरो गालामा थप्पड बनेर प्रहार भयो-“के उसको आत्महत्याका लागि तेरो कविता उत्तरदायी छ ?”

त्यो थप्पड यति जोडको थियो कि मेरा आँखा अगाडि एकदम अन्धकार छायो र त्यस अँध्यारोमा मलाई लाग्यो कि त्यस युवकका आँखाले मलाई ट्वाल्ल हेरिराखेका छन् ।

यसलाई पनि एउटा अद्भुत संयोग नै भन्न सकिन्छ कि आफ्नो संस्मरण लेख्दै यहाँनेर पुगेको रात अचानक सारा घरको बिजुली बन्द भयो र अँध्यारोमा मैले फेरि त्यस युवकका दुई चम्किला आँखा झिलिक्क देखेँ । त्यतिखेर सत्येन्द्र शरत् मेरै घरमा हुनुहुन्थ्यो र उहाँलाई यो कुरा भनेँ पनि मैले ।

म केही बोल्नै सकिनँ । त्यस अभागी दिवङ्गतको बारेमा त मलाई यति थाहा थियो कि ऊ बरेलीबाट रेल चढेको थियो, यो कुरा उसकै डिब्बाका कति यात्रुले भने । उसले मेरा केही कविताहरूमा आफ्नो अन्तरमनको चित्कारको प्रतिध्वनि सुनेको थियो भन्ने कुरा रेलवे र पुलिसका कर्मचारीहरूलाई के महत्त्व हुनसक्थ्यो र ? रगतले लतपतिएको मानव शरीरका तीन टुक्रा पछाडि मृत्यु अदृश्यको पर्दा बन्द गरेर बसेको थियो । अपरिचित यात्रुहरूबीच उसका लागि एक निरपेक्ष कौतुहलबाहेक के नै हुनसक्छ र ? पुलिस र रेलवे अधिकारीहरू दुर्घटनासँग सम्बन्धित रुटिन कारवाही गरी सिध्याउन लागिपरेका थिए । -यो मृत्यु, यो जीवनदेखि बिदा, अपरिचितहरूबीच कति दयनीय छ ! कोही उसको लासमा दुईथोपा आँसु झार्नेवाला पनि छैनन् । जसले संसारबाट नै बिदा लियो, उसले कसैसँग कुनै चीजको अपेक्षा राखेको हुँदैन तर दुईथोपा आँसु त पाउनुपर्ने हो नै ! मृत्युपथको यात्रुलाई जीवन यसदेखि बाहेक अरू के नै दिनसक्छ र ? के ऊ यति धेरै अभागी छ कि त्यसबाट पनि वञ्चित रहोस् !

यस्तो सोच्दासोच्दै मेरा आँखा टलपलटलपल हुन थालेछन् र म आफ्नो डिब्बामा आएर बसेँ । राति बरेलीको कवि सम्मेलनमा वाचन गरेका कविताहरू मन्द स्वरमा मेरो मुखबाट आउन थाले । त्यस युवकको आत्माले ती सुनिरहेझैँ लाग्यो । स्वरशब्दका आफ्नो त्यो क्षणिक साथीलाई तँ आफूले ठानेजति अवाञ्छित छैनस् भन्ने कुराद्वारा आश्वस्त गराइराख्यो ।

बाँकीको यात्रा बडो बेचैनीका साथ गरियो । मन त्यस युवकको जीवनका किसिमकिसिमका दुःखद र दुःरुह परिस्थितिहरूको कल्पना गर्दैरह्यो तर सारा कल्पनाहरूले आफ्ना कविताहरूले उसका भावनाहरूलाई गिजोल्यो र ऊ जीवनदेखि विरक्त भएर मृत्युको पाङ्ग्रामुनि आफूलाई समर्पित गर्यो भन्ने वास्तविकता देखाउँदै मलाई चिर्दै गयो । एक प्रकारको अपराधभावले मेरो छातीलाई अँठ्याउन थाल्यो । दिनमा सयौँपटक यस प्रकारको प्रश्न मेरो मनमा आउँथ्यो- “के त्यस युवकको आत्महत्याका लागि मेरो कविता उत्तरदायी थियो ? के मेरो कविताले मानिसहरूलाई जीवनबाट निराश पारिदिन्छ ? के मेरो कविताले जीवनको कुनै विकृत चित्र प्रस्तुत गर्छ ? एक शब्दमा – के मेरो कविता ‘मर्बिड’ हो ? ‘मर्बिड’को अर्थ हो-विकारग्रस्त, रोगाक्रान्त, अस्वस्थ, अस्वाभाविक ।”

-यो अंश हरिवंश राय बच्चनको चार भागमा प्रकाशित आत्मकथामध्ये ‘नीड का निर्माण फिर’बाट लिइएको हो ।

अनुवादक : किशोर पहाडी

मधुपर्क २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *