नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु

  • by


उहाँ नेपालको पूर्वी सीमापारि बस्नुहुन्छ तर पनि यहीँ हामीमाझ नै भइरहेझैँ लाग्छ । नेपाली साहित्यमा कलम चलाएर वारि-पारि गर्दागर्दै उहाँ दुवैतिरको अतिप्यारो साहित्यकार बन्नुभएको छ । भौगोलिक दूरीका हिसावले त्यति टाढा त होइन तर उमेरले नेटो काट्दैगर्दा त्यति सहज पनि छैन हिँडिरहनलाई । उता बसेर पनि यताका नाम चलेका प्रायः सबै पुरस्कार र सम्मानहरू उहाँले पाइसक्नुभएको छ । अस्ति भर्खरै पनि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेल नेपालको प्रायोजनमा सम्पन्न अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा विशिष्ट अतिथि बनेर सपत्नी आउनुभयो उहाँ । उता पनि सङ्गोष्ठीहरू त हुन्छन् तर यता नआई मनै मान्दैन अरे उहाँको । रूपरेखा निस्किँदाताक पनि आउँथेँ भन्दै उहाँ सम्झिनुहुन्छ- उतिबेला आउँदा सम, लेखनाथ, देवकोटासँग भेट हुन्थ्यो । उहाँहरूसँग यसरी नजिक भएर गफ गर्न पाइन्नथ्यो । दर्शन गर्न आएजस्तो हुन्थ्यो-तिवारी र व्यथितहरूसँग पनि । आउँदाआउँदै अब त सबै समकालीनजस्तै भइएछ । आइरहन मन त लाग्छ तर स्वास्थ्यले गर्दा बाक्लै आइरहन नसकिएला कि ।

साहित्य महोत्सवको आयोजक संस्था बुकवार्म ट्रस्टले सुविधासम्पन्न तारे होटलमा बस्ने व्यवस्था मिलाएको भए पनि उहाँ त्यो सुविधा छोडेर आफ्नै समकालीन मित्र र एउटै आन्दोलनका अभियन्ता वैरागी काइँलाको सुकेधारास्थित घरमा पुगिसक्नुभएको रहेछ । होटलमा भेट्न जाँदा मजस्तै जिल्लिनेहरू अरू पनि थिए । साहित्यकार दिदी लक्ष्मी उप्रेती र म बिहान साढे छ बजे नै काइँलादाइको ढोका ढकढक्याउन पुग्दा उहाँ त चिटिक्क परेर माथिल्लो तलाको भर्याङबाट सकिनसकी सुुटकेस र झोला पो झार्दै हुनुहुँदोरहेछ ! यो भनेको हिँड्ने बेला हुनै लागेको सङ्केत हो । हामी बोल्नै नपाइने भयो भन्ने सुर्ताले खङ्ग्रङ्ग भयौँ- ए! यति छिट्टै हिँड्ने बेला भइसकेको दाइको ?

इन्द्रबहादुर राईले थोरै हास्दै भन्नुभयो-होइन, नौ बजेतिर होला हिँड्ने त । भाइहरूले टिकट ल्याइपुर्याएकै छैनन् तर आफ्नो काम सकिहालेको नि । त्यसपछि मात्र मेरो बिहानीको धपेडी काम लागेछ भनेर ढुक्क भएँ ।

लौ भाइ, हिजै कुरा गर्ने भन्नुहुन्थ्यो, भ्याइएन । आज पनि एकछिनमा अरू पनि आउलान्, हिँड्न पनि हतार हुन्छ फेरि भनेपछि मैले अलमल गर्ने अवस्थै रहेन । उहाँले महोत्सवमा तेस्रो आयाम र लीलालेखनका सम्बन्धमा प्रवचन र परिसंवादमै प्रशस्तै प्रकाश पारिसक्नुभएको थियो । त्यतातिर नलागी मैले फुटकर कुराहरू अघि बढाएँ उहाँसँग । यतातिर उहाँ बाक्लै आउनुहुन्छ, पुरस्कार र सम्मानहरू पनि प्रशस्तै पाउनुभएको छ । यसरी आइरहँदा कस्तो अनुभव हुन्छ ? उहाँ अघि बढ्नुहुन्छ -आउन पाउँदा प्रत्येकपल्ट नै लाभान्वित बन्छौँ । सहधर्मी लेखक-साहित्यकारहरूसँग भेटघाट, कुराकानी हु्न्छ । नयाँ लेखाइ सम्बन्धमा परामर्श हुन्छ । अझै विशेष त नेपालमा प्रकाशित राम्रा-नयाँ पुस्तकहरू लिएर फर्किन पाइन्छ । नेपाली पुस्तक-पत्रिकाहरूको आउजाउ नेपाल र भारतबीच रोकिएकैजस्तो छ । भारतमा प्रकाशित पुस्तक-पत्रिकाहरू नेपालमा सहजै पस्न पाउँछन् तर नेपालमा प्रकाशित पुस्तक-पत्रिकाहरू भारत जाँदा काकडभिट्टा र पशुपतिनगरमै भारतीयहरूले रोक्छन् । यो असमान चलनका बिरुद्ध सम्बन्धित अधिकारीहरूले उचित स्तरमा कुरा उठाउनुपर्ने हो । यता अब पुरस्कार र सम्मानको कुरा गर्दा हामीले ५० वर्षअघि नेपाली साहित्यमा प्रवेश गर्दा गुरुहरूबाट, आफूभन्दा पाका कविलेखकहरूबाट प्रशस्त प्रोत्साहन पाउँथ्यौँ । पुरस्कार दिइने प्रचलन त पछि मात्र आयो । उता भारतमा र यता नेपालमा पनि कुनै पनि साहित्यकारले पुरस्कार पाउने नै लक्ष्य लिएर लेख्दैनन् तर आफ्नो लेखनको जुन लेखनगत लक्ष्य छ, त्यसलाई अघि बढाउनमा उनीहरूको ध्यान, समय र सामर्थ्य लागेको हुन्छ । पुरस्कार पाइहालिँदा त्यसले हर्ष दिँदैन, प्रोत्साहन मिल्दैन त भन्न सकिँदैन । मैले समाजलाई चाहिने नै काम गरेँछु कि भनेर सन्तोष लाग्छ ।

वि.सं.१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिनुभएका इन्द्रबहादुर राई आफ्नो जन्मका सम्बन्धमा भन्नुहुन्छ- मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे ! तर उहाँको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएपछि प्राध्यापनमा लाग्नुभयो । अनि साहित्य सिर्जनामा चाहिँ नि ?

आजभन्दा ५३ वर्षअघिदेखि निरन्तर लेखिरहेको छु । कथाहरू धेरै लेखिए । पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय ई.सन्. १९६१ मा आएको हो । उपन्यास चाहिँ ई.सन् १९५८ मै लेखिसिध्याएको थिएँ तर प्रकाशित हुँदा भने ई.सं. १९६४ पुग्यो । यिनै कृतिले मलाई चिनाए ।

साहित्यले जीवन र जगत्को अध्ययन गर्न सघाउँछ र लेखाउँछ भन्दै उहाँ आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्नुहुन्छ- मैले त्यसबेला पढेको कितावमा ई.सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको ‘एसेज इन क्रिटिसिज्म’ थियो र त्यसले धेरै प्रभाव पार्यो । त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु । अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ । जीवन र जगत्लाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए । त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको । तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए । त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा ।

वैरागी काइँलाको घरको भित्तामा तीन स्रष्टाको फोटो रहेछ- इन्द्रबहादुर राई, ईश्वरवल्लभ र उहाँको । तर अब ईश्वरबल्लभ भौतिकरूपमा रहनुभएन । त्यो तस्बिर हेरेर मैले उहाँहरूको भेट र तेस्रो आयामको प्रारम्भका सम्बन्धमा कुरा कोट्याएपछि उहाँ अघि बढ्नुहुन्छ- सन् १९६३ मा समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा हामी तीन जनालाई भेट गराइदिनुभएको हो । हामी तीनमध्ये म नै जेठो हुँ, त्यो पनि ३०/३१ को मात्रै थिएँ । दोस्ती राम्रै गरी भयो । काइँलाले टी.एस.इलियटको किताब पढ्नुभएछ । वेन जोन्सनका बारेमा लेखेको कुराले प्रभाव पारेको हामी दुईलाई बताउनुभयो । त्यसमा तेस्रो आयाम अर्थात् लेखाइमा लम्बाई, चौडाई र मोटाई -गहनता) हुनुपर्छ भनिएको रहेछ । अनि हामी काँचा केटा पनि मोटाईको खोजीमा लाग्यौँ । त्यसैसाल काइँलालाई सम्पादक राखेर ‘तेस्रो आयाम’ पत्रिका निकाल्यौँ । हामी चार आयामका छौँ तर बोल्दा-लेख्दा दुई आयाम मात्र हुन्छ । त्यसैले सम्पूर्णतालाई नारा बनायौँ । ‘मध्यरातपछिको सडकसित मातेको मान्छेको भाषण’ कवितामा काइँलाले यही आयाम भित्र्याउनु भयो र ‘बन्द कुइरोमा नानीको पाइला’ शीर्षक कवितामा पूर्ण अर्थात् चारै आयामको मान्छे बन्न नानीलाई आहृवान गर्नुभएको छ वल्लभले । यो भनेको पूर्णताको खोजी हो । मान्छे कालमा, समयमा बाँचेको हुन्छ र समय एउटै छ । अविभाजित समयलाई लेख्ने प्रयास हो यो । फेरि मिथकको टेक्निक खोजी भयो साथीहरूबाट र सम्पूर्णताको खोजीमा चित्रकारहरू सहयोगी भए । दायाँ, बायाँ, तल, माथि जताबाट हेर्दा पनि चित्र फरक देखिन्छ तर रूप सिङ्गो एउटै हो । यो सम्पूर्णताको कोसिस ‘क्युविजम्’ हो । मनले गरेको अनुभवअनुसारको लेख्नुपर्छ । यसको मूल आधार भनेको बौद्धिकता हो ।

तेस्रो आयामले एक किसिमको चर्चा पाइसकेपछि त्यो त्यतिकै छोडिएजस्तो भयो । उता इन्द्रबहादुर राईले यसैबीचमा लीलालेखनलाई चर्चामा ल्याउनुभयो । उहाँ नै मुख्य हुनुभएको र उहाँले नै बेवास्ता गरेर तेस्रो आयाम धरापमा परेको त होइन भन्ने जिज्ञासा राख्नु आवश्यकजस्तै थियो । उहाँले सहजै भन्नुभयो- तेस्रो आयाम र लीलालेखन दुई भिन्न थोक होइनन्, एउटालाई लिएपछि अर्को छाडिने । तेस्रो आयामबाटै लीलालेखन बढेको हो तर भिन्न नै छैन पनि भन सकिँदैन । केही आ-आफ्नो विशेषता छन् र धेरै मार्गहरूबाट छानेर एउटा मार्ग हिँड्नुपर्छ । अहिले पछिल्लो नै लेख्नमा लागेका छौँ । यसरी लाग्नेहरूमा दुईचार नाम उल्लेख नगर्दा साहित्यिक समलोचनामा केही भूल हुनजान्छ । लीलालेखनमा साथ दिनेहरूमा कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराल, विनय रावल, सुन्दर मानन्धर, कुमार भट्टराई छन् । उहाँहरूले लीलाबोधका उपन्यास, कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ । भन्नैपर्ने छ- लीलालेखनले नेपाली साहित्यमा लेखिने नयाँ विषयवस्तु दिनसकेको छ । वैरागी काइँलालाई लीलालेखनको प्रारम्भकर्ता प्रथम व्यक्ति भने पनि हुन्छ, यसमा चूक हुनेछैन तर स्वर्गीय वल्लभ भने यता आउनुभएन । स्थिर विन्दु अर्थात् वस्तुताको खोजीका क्रममा लीला आयो । सबै मानिसमा प्रकृतिले दिएको एकथोक हुन्छ । त्यो जिज्ञासु स्वभावले नै मान्छेलाई डोर्याएको हुन्छ । हाम्रो साहित्यमा कल्पना, भावना र मीठास धेरै भए पनि बौद्धिकताको कमी थियो । त्यसो त सम, देवकोटा, लेखनाथमा बौद्धिकता नभएको होइन तर हाम्रो बेलाको जस्तो बौद्धिकताको कमीझै लागेर खोजी गरियो । हाम्रो बेलाको भनेको धर्म, दर्शन, विज्ञान, सबैबाट ज्ञान लिएर लेखौँ र समाजलाई चाहिएको जस्तो दिउँ भन्ने हो । त्यसैले आइन्सटाइनको सापेक्षतावादलाई अँगालियो । त्यसले कुनै पनि कुरा सधैँ एकै हुँदैन भनेको छ । एक दृष्टिबाट राम्रो लागेको अर्को दृष्टिबाट नराम्रो लाग्न पनि सक्छ । वस्तुको वजन ठाउँअनुसार फरक पर्छ । गतिअनुसार लम्बाई पनि फरक हुन्छ । त्यसैले हाम्रो जीवनमा आउने हरेक कुरा पनि एकै हुँदैनन् भनेर नयाँ आधार समाएको हो । विश्वमा सबै चिज गतिशील छन्, रूप फेरिइरहन्छन् र सबै बदलिइरहने प्रक्रियामा छन्, यस्तो परिवर्तनलाई के भन्ने त भनेर खोज्दा ‘लीला’ भनिएको हो ।

उहाँले लीलाको व्याख्या गरिरहँदा नरोक्नुपर्ने थियो तर उहाँसँग मेरा अरू पनि जिज्ञासा थिए । उताबाट धेरै स्रष्टा/प्रतिभाहरू अझ भनौँ कलाकारहरू यता आएर स्थायीरूपमै बसेका छन् तर उहाँ चाहिँ आउँदै, जाँदै गर्नुहुन्छ र उताको जत्तिकै मानसम्मान यता पनि पाउनुभएको छ । यतातिर लक्षित गर्दै उहाँ भन्नुहुन्छ- भारतबाट नेपाल पस्ने साहित्यिक तथा कलाकारहरू किन यतै बसे भन्नेमा अलिकति कारण जान्न खोजौँ । उनीहरूले उताभन्दा यता राम्रा ठाउँ पाए, काम गर्न सक्ने धेरै सम्भावना देखे । सहयोगी मित्रहरू पनि भेट्टाए र यतै बसे । बस्नेहरूले राम्रै गरिरहेका पनि छन् । हामी नआउनेले पहिलो त त्यस्ता सुविधाहरू पनि देखेनौँ र दोस्रोमा हामीलाई उतै राम्रै व्यवस्था चलिरहेकै थियो । तेस्रोमा उता हामीमा लागेको वा बोकाइएको उत्तरदायित्व ठूलो थियो । सामाजिक, राजनीतिक वा शिक्षा विषयकै भनौँ, ती क्षेत्रमा उचालिराखेका उत्तरदायित्वका भार बिसाएर यता आउन सहज लागेन ।

उता भएर पनि नेपाली भाषी भएका कारण हेलोहोचो र अपमानबोध गर्नुपरेको छैन उहाँले । भन्नुहुन्छ-भारतको संविधानअनुसार पूर्णरूपमा भारतीय नागरिक छौँ हामी । संविधानअनुसार सबैले पाउने समान अधिकार हामीले पनि पाएका छौँ । राज्यस्तरबाट भेदभाव छैन यति मात्र हो, व्यवहारमा कहीँ कतै भेदभाव गरिएको जस्तो अनुभव हुन्छ तर त्यस्तो व्यवहार ती कर्मचारीहरूको वैयक्तिक वा जातीय आग्रहवश भएका हुन्छन् । दुई चार अवोध कर्मचारीबाट हुने भूललाई हामी महìव दिँदैनौँ । भारतका हजारौँ भाषामध्ये २५ जति प्रमुख छन् र त्यसमध्ये नेपाली पनि एक हो । यो भएपछि हामीलाई भेदभाव गरिँदैछ भन्न अलिक मिल्दैन ।

दार्जिलिङमा लामो समयदेखि चलेको आन्दोलनले केही राजनीतिक निकास पाएको छ । उहाँ पनि लामो समयदेखि नेतृत्वदायी भूमिकामै रहेर निरन्तर लड्दै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । अहिले प्राप्त उपलब्धिलाई उहाँले मुक्तिको आन्दोलनको ढोका खुलेको भन्नुभयो । उहाँले फुकाएको इतिहासको पोको उल्लेख गर्नैपर्छ- इतिहासमा हेर्दा दार्जिलिङ, कालिङ्पोङ, खर्साङ, सिलीगुढी, जलपाइगुडीको डुवर्स अञ्चल, कहिल्यै पनि बङ्गालका भाग थिएनन् । सन् १९०० को मध्यभागमा शिरा जु्द्द्यौला -बङ्गालका राजा) लाई पलासीको युद्धमा जितेपछि बङ्गालमा वृटिश शासन स्थापित भयो । त्यसको दुई वर्षपछि वृटिशले प्रशासननिम्ति बङ्गाल प्रदेशको गठन गर्यो । त्यसबेलासम्म माथिका भूभागहरू बङ्गालदेखि बाहिर स्वतन्त्र नै रहेका थिए । १९३५ मा वृटिशले सिक्किम लिएपछि मात्र यी भूभाग बङ्गालमा गाभिए । यो ठूलो ऐतिहासिक भूल थियो । हामी बङ्गाली हुँदै होइनौँ । हाम्रै नेपाली भाषा, संस्कृति छ, आफ्नै भिन्नै साहित्य छ, पहिरन, धर्म छ, किन बङ्गालको अधीनमा राखियो ? त्यतिबेलाबाट नेपालीले विरोध गर्दै आएका हुन् र १९४७ मा वृटिश शासन गएपछि भारत स्वतन्त्र भए पनि त्यही व्यवस्था कायम राखिँदा आज हामी बङ्गाली उपनिवेषवादका अधीनमा परेका छौँ । यसै मुक्तिका निम्ति त्यस अञ्चलका नेपाली वा गोर्खाहरूको निरन्तर आन्दोलन छ । बङ्गालदेखि बाहिर ननिस्केसम्म यो आन्दोलन जारी रहन्छ । आजका नेता विमल गुरुङले यो आन्दोलन छोडेभने पनि नयाँ युवकहरू अघिआउने छन् र मुक्तिको आन्दोलन अघि बढाउने नै छन् । अब भानुभक्तको शालिक तोडिने अवस्था छैन । यी त भए राजनीतिका कुरा तर इन्द्रबहादुर राई राजनीतिले बनेको व्यक्तित्व होइन । लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको ‘कठपुतलीको मन’ कथासङ्ग्रहलाई लिइन्छ । अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन् । ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ नै प्राप्त गर्नुभएको थियो उहाँले । कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनका बेजोड शिल्पकार राई ८४ वर्षको उमेरमा पनि निरन्तर साहित्य साधनामै हुनुहुन्छ । आफ्नो लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन् । उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ । समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ । एउटा नाटक पनि लेख्न मन छ । धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ ।

उहाँका सबै कृतिहरू पाठकले अब्बल ठहर्याएका छन् । अहिले भर्खरै पनि उहाँका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै । लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै । उहाँ पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्नुहुन्छ-प्रिय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ । बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला । उता भारततर्फकाले ‘दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी’ कृतिलाई धेरै रुचाएको पाइयो । यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाको घरमा बस्दा आफ्नै घरमा बसिरहेको जस्तो अनुभव हुने भएकाले होटलको बास छोडेको भन्दैगर्दा वैरागीदाइ बाहिर आइसकेका अन्य व्यक्तिहरूलाई गेट खोलिदिँदै हुनुहुन्थ्यो । कुराकानी चल्दैका अवस्थामा पत्रकार देवेन्द्र भट्टराई र एकैछिनपछि अर्को एकजना साथीसहित रत्नमणि नेपाल आइपुग्नुभयो । लक्ष्मी दिदी मलाई भन्दै हुनुहुन्थ्यो-धन्न चाँडै आइएछ, नत्र के कुराकानी गर्न पाइन्थ्यो र ! मैले मधुपर्कको ५०० पूणर्ाङ्कसहित पछिल्लो केही अङ्क दिँदा उहाँ खुसीले प्रफुल्ल हुनुभयो । साहित्यिक पत्रकारितामा ५०० पूणर्ाङ्क नाघ्ने पहिलो पत्रिका मधुपर्क मात्रै भएको जानकारी गराएँ मैले । यस्तो महत्त्वपूर्ण काम भइसक्दा पनि आफूले थाहा नपाएकोमा फेरि पनि उही भारतीय अनुदार नीतिलाई दोष दिँदै हुनुहुन्थ्यो । निश्चय पनि उहाँ भारत-नेपालको साहित्यलाई जोड्ने सम्बन्धसेतु त हुँदै हो तर उताकालाई यता बोलाएर जुन किसिमले सम्मानित र पुरस्कृत गरिन्छ, उता बोलाएर यताकालाई सम्मानित र पुरस्कृत गरेको कमै मात्र पाइन्छ । यसप्रति उहाँ भन्नुहुन्छ-यताजस्तो उतातिर संस्थाहरू पनि कमै छन् र उताकाहरूले यताकालाई साँच्चै भन्नुपर्दा राम्ररी पढ्न पाएकै छैनन् ।

अन्तिममा सोध्न छोडिनँ- अब कहिले आउनुहुन्छ ? यसपछिको महोत्सवमा पनि आउनुहुन्छ कि ? उहाँले अब यसरी बाक्लै आउन नसक्ने भन्नुहुँदा सँगै रहनुभएकी जीवनसँगीले थप्नुभयो-अब त गाह्रो हुन्छ है आइरहन । एक्लै हिँड्न पनि सक्नुहुन्न, साथ चाहिन्छ एकजनाको । त्यसपछि बुकवार्मका साथीहरूले आफूहरू आउँदै छौँ भनेर फोन गरिसकेका थिए । मलाई लाग्यो- अनि बेलैमा झोला कसेर ठिक्क नपारे के गर्नु त उहाँले !!

मधुपर्क २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *