Skip to content

कवि मुकेश राईको अनुभूतिका रंगहरूसँग केही क्षण रंगिँदा

  • by
20110925_AcharyaPrabha_Lekh


भनिन्छ नि कवि मन कोमल, भावुक र दयालु हुन्छ । पुलिस, आर्मीको मन कठोर र रुष्ट हुन्छ आदि आदि । यो भनाईमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन । तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरू मान्छेको पेशा, प्रतिभा वा रुचीबाट हुने होईन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितिले मान्छेको मनलाई कर्तब्यबोध गराएपछि नचाहेर पनि बदलिनु पर्छ । तर पनि माथिको उक्तिमा सत्यता छ भन्ने चाहिँ म ठाँन्दिन । त्यसैले कविको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, कवि मुकेश राई पेशाले ब्रिटिश आर्मीको सेवक थिए जस्ले बन्दुक र बारुदसँग मात्र मितेरी लगाएर हर पल मनका आँखाहरू आफ्ना बैरी र शत्रुहरूमाथि मात्र राख्नुपर्ने बाध्यता थियो । तथापि मुकेशलाई भने झन यो पेशामा लागेपछि नौलो परिवेश, नौलो ठाउँ र नयाँ जीवन भोगाईले झन बिह्वल बनायो र उनी झनै भावुक भएर आफ्ना मनका उथलपुथलहरू भावना बनाई ब्यक्त गर्न थाले ।

घरदेखिकै साहित्यिक माहौल भएर नै उनमा पनि साहित्यप्रतिको अभिप्शा जागेको हो भन्नमा अत्युक्ती हुन्न । फाट्ट, फुट्ट रचनाहरू लेख्दा लेख्दै कवि रक्ष राईको प्रोत्साहनले आफू लेखन क्षेत्रमा लागेको बताउँने मुकेश राईको लेखन क्षेत्रमा अझ सफल्ता हाँसिल भएको स्थान भने फेसबुक नै रहेछ । फेसबुक मार्फत बिभिन्न साथीहरूको प्रेरणाबाट कविता संग्रह निकाल्ने हिम्मत कसेका मुकेश राईका संग्रह “अनुभूतिका रङ्गहरू”भित्र के कस्ता कविताका भावहरू छन् त ? कवि श्रवण मुकारुङका अनुसार “उनका कविता पढ्दा कुनै गीत सुनेको भ्रान्ति हुन्छ । तर त्यही अधिक सरलताले कतै कतै कविता धागो फुस्किएको स्वीटर जस्तो पनि लाग्छ” यो शास्वत भनाईलाई मैले पनि मनन गरें । कवितामा प्राय: शब्दहरू साधारण तवरले उनिएका छन्। हुन त क्लिष्ट शब्दहरूको बाहुल्यता मात्र कविताको सौन्दर्यता र बिशिष्ट भन्न पनि मिल्दैन तथापि “कविता”मा बिम्ब र प्रतीकको उपस्थिति नै कवितालाई गौण बनाउँने कसी भने हो । यसर्थ मुकेश राईका कविताहरू पाठकहरूकालागी मनन गर्न सहज् छन् तर कविताको चमत्कारिता भने अलिक न्युन नै लाग्दछ । उनका कविताहरू पनि अरु कविका झैं आफ्नै गाउँ घर र बाल्यकाल अनि आफ्नै सेरोफेरोमा समाहित छन् । कवि राईले उनका एक कविता “अनुभूतिमा निस्सासिँदै”मा आफू लण्डनको थेम्स नदीमा उभिएर लण्डनकै सेरोफेरोमा हराउँदै फेरि मस्त निन्द्रामा सुतिरहेकी आफ्नै देशलाई ब्युँझाउँन पूग्छन् । उन्को बिदेश भोगाइकै भावना भएर होला उनका कविताहरूमा आफ्ना देशका अनुपम दृश्यहरूको कल्पनाहरू भन्दा आफूले टेकेकै धर्तिको धेरै बयान पढ्न पाईन्छ तर पनि उन्ले “म आमा र मातृभूमि” कवितामा आफू जहाँ रहे पनि आफ्नो आखिरी सास भने आफ्नै जन्मभुमिमा नै रहोस् र फेरि जन्म लिनु पर्दा आफ्नै मातृभूमिमा जन्म लिनु परोस भन्ने खालका अनुनय बिनय पनि गरेका छन् ।

लाहुरे जीवन ब्यतित गर्दै भए पनि साहित्यलाई माया गर्नु र साहित्यको भण्डार भर्ने सदिच्छा राख्नु भनेको एउटा लाहुरे बिचारको उत्कृष्ट नमुना हो मुकेश राई । हुनत मैले देखेको भेटेको छैन, मुकेश राईलाई तथापि मलाई यस्तो लाग्छ । मुकेश राई अल्पभाषी, शालीन र मिलनसार प्रविर्तिका छन् । हुनत कवितामा भावना त सबैको एकनास नै हुन्छन् । जस्ले पनि आफ्ना भावनाहरूमा आफूलाई देशभक्ति, राष्ट्रभक्ति र आफूलाई समर्पित बनाएर आफूलाई पोखेका हुन्छन् तर मलाई भने किन किन मुकेश राईका भावनाहरू साँच्चै नै उनका मनका गहिराईबाटै निस्केका ध्वनिहरू हुन् भन्ने लागेकोछ । शायद मेरो मुकेशप्रति एउटा आदरभाव पनि जागेको हुन सक्छ । जे होस् उन्ले लेखेका कविताहरूमा मानव जीवनले भोगिरहेका कथाहरू नै कुँदिएका छन् जस्लाई सबैले सजिलै आत्मासात गर्न सक्दछन् । मलाई भने उन्को एउटा कविताले असाध्यै मन छोयो त्यो कविता हो । “आरोहअवरोह”भित्र समेटिएका यी शब्दहरू । जुन कविता सर्लक्कै मलाई अल्छि नगरी सार्न मन लाग्यो ।

हिजो
म जीवनको गोरेटो
समतल हिँडिरहेको बेला
तिमी त्यो पहाडको
उकालो चड्दै थियौ,
मैले क्षितिज पछ्याउँदै गर्दा
तिमीलाई त्यो जून र घामको
नजिक जस्तो देखेथेँ,
किनकि तिमी उचाईमा थियौ
तर पनि तिमीलाई
पछ्याईे नै रहेको थिएँ
तुँवालोले तिमीलाई छेके पनि
तिम्रै पद्चाप सुनेर अघि बढिरहेथें
मैले उकालोको पहिलो खुड्किलो टेक्दा
तिमी त्यो शिखरमा उक्लेर
अग्लो हुनुको उद्घोष गर्दैथियौ ।
आज म
त्यही पहाडको यतापट्टि
उकालो चढिरहेछु
तिमी त्यो पहाडको अर्कोपट्टि
खोला खोल्सीसँग सुसाउँदै ओरालो झर्दै छौ
तिमी ओरालो लाग्दै
त्यही पहाडको शिखरले छेकेको
एक पाटो आकाश हेर्दै छौ
म ओकालो चड्दै
वारिपट्टि त्यही आकाशको
अर्को पाटो देखिरहेछु ।
भोली
तिमीले झरेको ओरालो
मैले पनि झर्नु पर्छ !
मैले चड्दै गरेको उकालो
तिमीले चढौला या कोही अरुले !
समय चक्र हो
जीवनको आरोह अवरोह यही हो ।

यो माथिको कविताको भावले मेरो मन असाध्यै छोयो । उन्को यो कविताले साँच्चै मान्छेका जीवनका आरोह अवरोहहरूको सही वकालत गरेको छ । हामी मान्छे, हामीमा अभिमान, ईमान्दारिता, दुख, पीडा, खुशी यी सबैको बाहुल्यता छ तर हामी थोरै खुशीमा पनि रमाउँन जाँन्दैनौं र थोरै दु:खमा पनि हरेश खानपछि पर्दैनौं। सुखको लिस्नो के उक्लन्छौँ, आफूलाई आकाश छोएको ठहर्याउँछौँ र अरुलाई धर्तीकै धुलो ठान्न पनिपछि पर्दैनौँ। हो यस्तै अहम्तालाई मुकेशको “आरोह अवरोह” कविताले प्रष्ट्याएको छ । हर मान्छेमा भावनाहरू उद्वेलित हून्छन्, त्यस्लाई पोख्न सक्ने शीप कविहरूमा हुन्छ र, त कविको उपाधी पाउँछन् त्यस्ता मान्छेहरूले । ती मान्छेहरूको भीडको एउटा कवि मन हो मुकेश राई तर त्यो शीपलाई कवि मुकेशले अझै शिल्प लगाएर प्रज्ज्वलित बनाउँन थप प्रयास भने गर्नै पर्ने देखिन्छ । त्यो त समयको बहावसँगै मुकेशको उदेश्यमा उर्जा थपिँदै जानेछ। पहिलो कोशेलीले सबैलाई आँखा मात्र खुलाउँछ, त्यो सर्वबिधितै छ । मलाई लागेको अर्को कुरा कवि मुकेशको यो संग्रहमा जस्मा कविले आफ्ना भनाईमा केही उद्गार ब्यक्त गरेका छन् जस्तै –

“म अनुरागी हुँ फूलको
बसन्तको आगमनमा रमाउँछु
काँडा या पत्झर स्वीकार्य छ मलाई
म अनुरागी हुँ जूनको
पूर्णिमाको रातको प्रतिक्षामा छु
औंसीका यी रातहरू स्वीकार छ मलाई”

यी माथिका भावमा म अलमल्ल परें । कवि फूलको अनुरागी भएर बसन्तको आगमनमा खुशी भएपनि काँडा र फूल दुवैलाई स्वीकार गर्ने भाव छ कविमा। त्यो सही हो। उनी स्वार्थी देखिँदैनन् जो बसन्तको आगमनमा फुलेका फूललाई मात्र रुचाएर काँडालाई हेला गर्ने। अनि फेरि जूनको प्रतिक्षार्थी बनेर जूनको पनि अनुरागी बन्दै प्रतिक्षामा छन् भने अनायस फेरि औंशीका यी रातहरू स्वीकार छ मलाई भनेर भाव मोड्न पुगेका छन् । कविको भाव यस्तो हो कि? जूनको अनुरागी भएर पूर्णिमाको प्रतिक्षार्थी भए पनि औंशी रात पनि प्यारो नै लागेको हो शायद। यहाँ शब्द संयोजनमा अलिकति कमी देखिएको जस्तो आभास भयो मलाई भने । यो मेरो मात्रै दृष्टिकोण पनि हुन सक्छ ।

समग्रमा भन्नै पर्दा एउटा लाहुरे मनले भावनाका थुङाहरू उनेर यसरी कविता संग्रहको आकार दिनु भनेको साहित्यलाई अर्को थप लाभ हो । जुन कविले आफूले सानो छँदा बाबु, आमाको मुखबाट दन्त्य कथाहरू सुनेको भरमा साहित्यलाई माया गरेर कवि बन्ने अभिप्रायले यसरी लेखन क्रममा लागि पर्नु ठुलै उपलब्धी मान्नु पर्दछ । “अनुभूतिका रङहरू”मा साँच्चै कविका बिभिन्न अनुभवहरू सप्तरङ्गी माला झैं उनिएका छन् । हरकसैले पनि मनरुपी गलामा यो सप्तरङगी मालालाई लगाउँने प्रयास गरेमा कविको यो “अनुभूतिका रङहरू” साँच्चै सार्थक बन्नेछ । कवि मुकेशका कविताहरू धेरै छन् र सबैमा आ-आफ्नै प्रकारका भावहरू पोखिएका छन् । भावनाहरू कहीँ अत्रिप्त सपना बनेर पोखिएका छन् । कहीँ बालककालको अतित बनेर मीठोसँग सजिएको छ । कहीँ परदेश भोगाइको पीडा छताछुल्ल छ भने कहीँ फौजी हुनुको भाव पनि प्रकट छ । यसरी कविको यो संग्रहमा मिश्रित भावहरू सबै यथार्थ परक छन् । अन्त्यमा मेरो भन्नु, एउटी दिदी र पाठकको नाताले कवि तथा भाइ मुकेशका भावनाहरू यसरी नै लहराउँदै जाउन् । नेपाली साहित्यले यो कलमलाई अझै प्रोत्साहित गरोस् अनि हामी मुहार पुस्तिकाका मित्रहरूले सबैमा सहकार्यको सद्भावना राखेमा कवि मुकेशहरू अझै चम्कनेछन् साहित्यकाशमा । कवि मुकेशको मनमा लागिरहेको होला यतीखेर। आचार्य दिदीले अब मेरो संग्रह बारे के के लेखिदिने हुन्?भनेर । त्यसो त म त्यस्तो जानिफकार साहित्यकार होईन। मैले हरकसैको संग्रहमा समय खर्चिनुको कारण सबै सामु यस्को चर्चा होस् भन्ने मात्र हो । अनि देखिहालेको कुरा चाहिँ किटाणीको साथ गल्ती छ भनेर चाहिँ होईन तर यस्तो पो हुनुपर्नेथ्यो कि भन्ने प्रश्न भने तेर्स्याउँछु जस्ले गर्दा कुनै पनि कमी-कम्जोरी छ भने सुधार्ने मौका मिल्छ जस्लाई पनि । यो कुनै समिक्षा होईन केवल मेरो कवि र संग्रहप्रतिको भाव मात्र हो । भूलप्रति म आफै पनि क्षमाको भिखारी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *