निर्दोषी ती नयन उघारेर शरदले भर्खरै मात्र आफ्नो घुम्टो भित्रैबाट अलिअलि र्समाएझैं गरी पुलुक्क चिहाएर हेर्न लागिरहेकी मात्र छे । ऊ पनि आफ्नी दिदी वसन्तभन्दा कहाँ कम छे र ? सोह्र श्रृङ्गारले झकिझकाउँछे । अनेक वास्नादार अत्तरहरू छर्किएर बिरालोको चालमा हिँड्ने षोडषी युवतीझैं मसक्क मस्किँदै वर्षारानीले धोइपोती गरेको सुन्दर यस धर्तिमा मालिकनिझैं ढलीमली गर्दै देखापरेकी छे । मगमगाउँदी सुकसुकाउँदी मोहनीरुपधारी शरद आफ्नो माधुर्य वर्षाएर जगतका प्राणीहरूलाई कृष्ण भगवानले आफ्नो बाँसुरीको धुनले सारा प्राणीलाई लठ्ठ पारेझैं लठ्याउन आतूर छे । मानौं यो शरदको रुपरङ्ग देखेर सारा जगत मन्त्रमुग्ध बनोस् । मेघराजा पनि आफ्नी रानी वर्षालाई लिएर कसैले नदेख्ने ठाउँमा आनन्दमा डुबिरहेका होलान् । आकाश स्निग्ध छ । मानौं ऊ पनि चुपचाप साथ षोडषी शरदको लज्जा मिश्रति मधुर मुस्कानमा एकोहोरिएको छ । वास्नादार शरदको सुगन्धले हावा पनि गमक्क परेको छ ।

मेरो मन भने संज्ञा शून्य भएर पर देखिएको विजुलीको तारमा केन्द्रित छ । त्यहाँ लस्करै लागेर बसेका परेवाका जोडिहरू देखेर म रमाइरहेकि थिएँ । परेवाका जोडीको प्रेममयी क्रियाकलाप देखेर म निक्कैवेर उनीहरूको खुशीमै डुबिरहेकी थिएँ । तर त्यो खुशी केही क्षणको लागि मात्र सीमित हुन पुग्यो । जब विना सङ्केतनै आकाशबाट मुशलधारे पानी पर्यो । ती परेवाका जोडीहरू आ-आफ्नो गन्तव्य स्थानतर्फलागिसकेका छन् । बिचरा उनीहरूले पनि बेलुकीको खानाको कुनै शरधाम जुटाउन पाएका थिएनन् होला । पानी रोक्ने कुनै छाँटकाँटनै थिएन तर घैलाबाट घोप्टाएझैं गरेर पानी पर्यो लगभग आधा घण्टासम्म ।

बल्ल पानी रोकियो कति मान्छेहरू कामको थकान सँगै लिएर हतारहतार बाटो लागिरहेका थिए भने कति त घरमा पुगेर आराम लिइसकेका थिए । स्कूल , कलेज पढेर र्फकने बिद्यार्थीहरू पनि आ-आफ्नो घर पुगिसकेका थिए होलान् । आफ्ना परिवारका सदस्यहरू ड्युटी सकेर घरमा पुगी खुशी साटासाट गर्दै थिए होलान् । त्यो खुशी मेरो केही क्षणमै गर्ल्याम्म भत्कियो । जब एक्कासी मान्छेहरूको चिच्याहट शुरु भयो लौन भुइँचालो आयो …………. भन्दै मान्छे एक्कासी कराएको आवाज सुनेँ । मान्छेहरूको कोकोहोलो सुन्नुभन्दा अगाडि मैले आफूलाई रिङ्गटा लागेको पो हो कि जस्तो भने महसूस गरेकी थिएँ । हो रैछ घर मच्चिन थाल्यो भन्दै म पनि सुरक्षित स्थलतिर भागौं भन्दै कराउन थालेँ तर गगनचुम्बी महलहरूले आफूलाईनै खबरदारी गरेझैं औंलो ठड्याइरहेको जस्तो देख्न थाले । काँपीरहेको मुटुलाई दह्रो बनाउँदै म फेरि बाहिर निस्कन खोज्छु । साँघुरो गल्लीमा दुबैतिर ठडि्इएका पर्खालले आफूलाई ङीच्च दाँत देखाएर मेरो डराइरहेको अनुहारलाई जिस्काइरहेको महसूस भयो । हे भगवान ! कस्तो अप्ठ्यारोमा पुर्याइदिनुभयो । अब कसरी जोगिने ? म मेरो काखेबच्चालाई च्यापेर भगवानको नाम जप्नु सिवाय केहि उपाय देख्दिन । घर अझै पिङझैं मच्चिरहेको छ । मानव निर्मित संरचनाहरूनै मानवको निम्ति काल बन्न लागेको महसूस गरिरहेँ । केही क्षणमै सब स्वाहा हुनुपर्ने बेला आउन लागेको संझेर झनै म आत्तिनै रहेँ । उफ ! भन्दै म मृत्युलाई नजिकैबाट छामिरहेकी थिएँ ।

धन्न पृथ्वीमाताले आफ्नो कम्पनलाई केही क्षणमै रोकिन् । सारा प्राणीहरूले नयाँ जिन्दगीको शुरुवात गरेको महसूस गरे होलान् । लामो सास तान्दै भगवानलाई धन्यवाद दिए । यसपटकलाई त बाँच्न सफल भइयो । बाँच्न त बाँचियो तर आफन्तहरूलाई कहीँकतै अनिष्ट पर्यो कि भनेर मेरो मन अझै ठीक ठाउँमा आउन सकेको थिएन । दुइघण्टा सम्म सञ्चारको माध्यम ठप्प भयो । कतै फोन लागेन ।

बाहिर तिरको चिच्याहट त रोकिइसकेको थियो तर मेरो मन भने अनेक भ्रमात्मक सोचाइमा दौडिरहेको थियो । केहीक्षण अघिको भुइँचालोको गडगडाहटभन्दा पनि डरलाग्दो कम्पन मेरो शरीरभरी फैलिएको थियो । आफन्तको वियोगको समाचार सुन्नुपर्ने पो होकि भनेर झनै मन आत्तिरहेको थियो ।

२ घण्टा पछि बल्ल फोन लाग्यो सबैतिर । धन्य कुनै मानवीय क्षति हुन पाएनछ । दिमाग अलि ठण्डा भएर आयो । बेलुकीको खाना बनाउन भान्छामा पसेँ । बेलाबेलामा त्यही अघिकै भूकम्पले हल्लाइरहन्थ्यो । भूकम्पले दिएको धक्काको भ्रम दिमागबाट अझै हट्न सकेको थिएन । आत्मविश्वासको त्यान्द्रो अझै दरिलो हुन सकेको थिएन ।

भूइँचालोको सुनामी छालहरूलाई दिमागबाट पञ्छाउने प्रयत्न गर्दै म टिभीमा कार्यक्रमहरू हैर्दै थिएँ । समाचार दिने समय भएछ । समाचार शुरु भयो । देशका विभिन्न ठाउँमा भूकम्पले गरेको मानवीय क्षतिको विवरण भन्न शुरु भयो । पूर्वी नेपालको पहाडी क्षेत्रमा निकै ठूलो क्षति भएछ । धेरैले घर भत्किएर घाइते हुनुपरेछ भने कतिले त ज्यानै गुमाउनु पनि परेछ । समाचार सुन्दासुन्दै मैले मेरै गाउँको एकजना धनेदाइ पनि परेको सुनेँ । मलाई समाचारकौ विश्वास लागेन अरुनै कोही होलाकि जस्तो पनि लाग्यो तर पटकपटकको समाचारले मलाई धने दाइको मृत्युलाई विश्वास गराउन बाध्य बनायो । मैले त्यो दाइलाई बच्चा बैलादेखिनै राम्ररी चिनेको थिएँ । मलाई उसको परिवारको पृष्ठभूमिको वारेमा राम्रो थाहा थियो । नाता त केही पर्दैनथ्यो तर पनि उसको मलाई आफ्नै दाइ जत्तिकै माया लाग्थ्यो । बिचरो दाइलाई विधाताले ठगेकै रहेछ । सानैमा बाबुआमा गुमायो । अभिभावक गुमाएपछि पढ्न पनि पाएन । बहिनीहरू हुर्काउने अभिभारा उसकै काँधमा आइपर्यो । हातमुख जोर्नलाईनै धौधौ पथ्र्यो ऊ एउटैको बनिबुतो गरेको कमाइले । उसका बाबुआमाले दुःख गरेर छोराछोरीलाई जसोतसो पढाउँदै थिए । उसको बाबुलाई एक्कासी एपेन्टीसाइटिस बढेर आएछ उपचार गर्ने पैसाको अभावमा बाबु वित्यो । उसको बाबुलाई एपैन्टीसाइटिसको अप्रेसन गर्ने पैसा जुटेन । आमालाई उसको बाबुको बिछोडको पीडाले लग्यो । उसकी आमाले मानसिक सन्तुलन गुमाएर आत्महत्या गरी ।

आमाबाबु बिनाका टुहुरा बहिनीहरूलाई जसोतसो हुर्काएर ७-८ कक्षासम्म पढाउँदै ज्वाइँलाई जिम्मा लगाएर विवाह गर्ने उमेर पुगेपछि आफूपनि बिहा गरेर गाउँमै बसेको थियो । सधैंको गरिबी देखेर वाक्क बनेको धनेदाइ श्रीमती सहित घरवारी बेचेर जम्मा गरेको अलिकति पैसा लिएर काठमाण्डौमा डेरा गरेर बसेको १० वर्षभएको थियो । २ वर्षघि म माइत जाँदा धनेदाइले पनि काठमाण्डौंमा कमाइ गरेर जम्मा गरेको पैसाले गाउँमा बचेको जमिन फेरि किन्यो भनेको सुनेकी थिएँ । २ जना छोराछोरीलाई निजी स्कूलमा राखेर पढाउँदै छ रे भनेको सुन्दा मलाई उसको छोराछोरीले भने राम्रैसँग पढ्न पाएछन् भनेर खुशी लागेको थियो । उसले आफूले पढ्न नपाए पनि छोराछोरीको भविष्यको लागि काठमाण्डौंमा केही वर्ष बस्ने भन्ने कुरा पनि गरेको रहेछ ।

म पोहोर साल दशैंमा माइत जाँदा धने दाइकी श्रीमती पनि अर्कैसँग पोइल गइछ भनेको सुनेकी थिएँ । आफू छोराछोरी पढाउँदै एक कारखानामा काम गरेर बसेको धनेदाइको भूकम्पले घर भत्काएर ज्यान लिएछ । बिचरो कति अभागी रहेछ धनेदाइ ! उसका ती लालावाला भने ट्युशन पढ्न गएको भएर बाँचेछन् । ती अबोध बच्चाहरूको के हविगत हुने भो ! छोराछोरीका लागि खाना तयार गर्दा गर्दै छाना खसेर पुरेछ धनेदाइलाई । ती बाँसका तामा जस्ता कलिला बच्चाको के दोष थियो र उनीहरूको खुशीमाथि बज्रपात हुनुपरेको होला । दैवी प्रकोप पनि कत्ति ननिको हुँदो रहेछ । आमाले छोडेर अर्कैसँग बाटो तताए पनि आमाको माया दिएर धनेदाइले अर्की बिहे नगरी बसेको थियो । उसको सारा खुशी भनेकोनै ती दुइजना छोराछोरी थिए । तिनीहरूलाई राम्रोसँग हुर्काएर पढाउने अठोटका साथ आफ्नो शरीर कारखानामा मेशिनझैं घोटिरहेको धनेदाइको मृत्युको खबरले मेरो घाँटी अठ्याएर आयो । मलाई उसका ती बच्चाहरूको भविष्य देखेर सास रोकिएलाझैं भएर आयो । सारा शरीर पहाडले किचेको महसूस भयो । शरीर पूरै बरफझैं भयो ।

हाय बिधाता ! किन यसरी तिम्रो लाठी गरीब दुःखीमाथि मात्र बज्रिन्छ । के यो दुनियाँमा गरीब दुःखी असहायले आफ्नो सपना पूरा गर्न पाउनु पर्दैन ? किन उनीहरूको खुशीमाथि कुठाराघात गर्छौ ? तिम्रो मन किन दुःखीहरूप्रति पग्लँदैन ? अग्नि परीक्षानै लिनुछ भने त्यो धनेदाइ जस्ताको प्राणनै लिएर ती अवोध बच्चाहरूलाई टुहुरा बनाई सधैं आमाबाबुको बिछोडको पीडामा किन तड्पाउँछौ ? अग्नि परीक्षा लिनुछ भने पनि यसरी अवोध बच्चालाई बेसाहारा नबनाऊ ।

उफ ! बिधिको बिधान ! दुःखीलाई मात्र पीडा बर्साउने कस्तो निष्ठूरी तिमी ? म थचक्क भुइँमा पछारिन पुगेछु । मेरो शरीरनै मेरो लागि पर्वतझैं गह्रौं भएर आयो । आँखा धमिलिएर तुवाँलोले ढाक्यो । गला अबरुद्ध भयो । म आकाशतिर हेरेर केही क्षण एकोहोरिरहेँ । आँखा बन्द गरेँ । मेरा अश्रुसरीताले भरिएका आँखा परको क्षितिजमा गएर अडिरहे अडिरहे ।

टीका खरेल सुवेदी
कुलेश्वर काठमाण्डौं
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “निष्ठूरी भूकम्प”

  1. ठूला-ठूला घटनाहरु हुँदा यस्ले साहित्यलाई प्रत्यक्ष प्रभाव पारेको
    ठूला-ठूला घटनाहरु हुँदा यस्ले साहित्यलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । यो हालैको प्राकृतिक प्रकोप भूकम्पको प्रभावबाट सिर्जित कथा हो । कथाकारले यसमा सफलताकासाथ वस्तुस्थितिलाई उतारेर उजागर गर्न सफल भएको छ । कथाकारको लेखन कार्यमा प्रगति हुँदै जाओस् । कथाकारको कलम निरन्तर चलिरहोस् । कथाकारलाई मुरी -मुरी शुभ-कामना ! …………..बिजु सुवेदी “विजय”…………….

    1. Tika Kharel Subedi

      aavari 6u
      katha padhnu hunesabaima dherai dherai dhanyawad! sathai comment garnu vaekoma biju ji lai aavar byakta garna chan6u.

    2. Tika Kharel Subedi

      aavari 6u
      katha padhnu hunesabaima dherai dherai dhanyawad! sathai comment garnu vaekoma biju ji lai aavar byakta garna chan6u..

Leave a Reply

Your email address will not be published. Required fields are marked *