मुटुभरि गाउँकै मायाँ, बसाईं भा’ छ अन्त मेरो
ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो
उकाली र ओरालीमा, भन्ज्यांग अनि चौतारीमा
साथीसंग हाँस्दै- खेल्दै, बिते बालापन त मेरो
ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो
उराठिलो मरुभूमि, भा’ छ अचेल कर्मभूमि
सात समुन्द्र पारी पर्छ, हरियाली वन त मेरो
ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो
इष्टमित्र साथी- भाइ, छोड्नु पर्यो सबैलाई
पराईको मुलुक तिर, को नै आफ्नो छन् त मेरो
ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो
फूले होला सयपत्री, चमेली र मखमली
दशैं आउँदा कत्ति राम्रो, हुन्थ्यो हाम्रो सेरोफेरो
ज्यान त टाढा भए पनि, उतै हुन्छ मन् त मेरो
नकुल थापा