Skip to content


पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेको थेँ
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाट आयौ
यदि आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
र लोकल ठर्रा होइन
रागो बोकाको साथ
झक्कले अनि अक्कले खसी ल्याउनु ।

परार जस्तो
फाटेको टोपी
अनि टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट र बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
सकिन्छ भने
तरुनी पिएलाई च्यापेर ल्याउनु
भोको पेटलाई के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा,दशै
मिठो मसिनो मन्सुली धान ल्याउनु ।

तिमीलाई सक्थेँ भने त
फलामे बार लगाएर छेक्थेँ
जाली तार लगाएर रोक्थेँ
अझ सक्थेँ भने त
तिमीलाई थुन्न चिडियाखाना नै लग्थेँ
धनीले अनुहार बिगारे पनि
कमसेकम गरीबले त
खुशीले ताली ठोक्थे ।

अब आइहाल्यौ आगनमा
सके खसी बोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यो पाली ससुराल जाँदा
कमसेकम बस भाडा उठ्ने गरी
खल्तीमा छाउनु
खसी बोका नसके पनि
बोइलर कुखरा होइन है, वाक्क भा’छ
लोकल कुखरो खोजी खुवाउनु ।

(यो कविता रेडियो अडियोमा असोज १४ गते दिनको एक बजे दसैं कार्यक्रममा प्रसारण गर्नलाई रेकर्ड गरिएको पनि जानकारी साथीहरुलाई गराए है। )

Leave a Reply

Your email address will not be published. Required fields are marked *