उदाउँछौं कहिले तिमी यस धर्तीमा आगो निभाऊँ भनी,
लावा उठिरहेछन् आकाश छुने गरी त्यसलाई दबाऊँ भनी ।
लासले बाटो छेक्दै छ यहाँ उठाउने कोही भएन कतै,
रगतको नदीमा नुहाउने यिनको बानी गएन कसै ।
सम्भारको अर्थ खुलेन विनाश निम्त्याएछन् यो देशमा,
कुकृत्य गर्दछन् पसी भित्र भित्र सन्यासीको भेषमा ।
जातित्वको झिकी लडाई सबमा जोगी बनाई सब,
उदाउने कहिले तिमी देशमा पर्खाई अति भो अब ।
किल्कारी छोडी दुश्मन हाँसे लाजै नमान्ने गरी,
झन झन गरीब डुबे अब त आँसु भरिने गरी ।
चारै किल्ला ओगटी देश यो हुने भो झन साँगुरो,
लुम्बिनी अनि हराउँछ अब त सगरमाथा टाकुरो ।
जिउँदै मर्ने भए जनता खाली भकारी गरी,
आऊँ उदाऊ अब त देवलोकको इन्द्र सरी ।
गर्ने सुत्ने भो नगर्ने उठ्छ आकाशै छुने गरी,
रित्तो बनाए देशलाई यिनले आफ्नै भकारी भरी ।
रोगव्याधको भयो तुलना पैसा बोराका बोरा,
जिउँदै मर्दैछन् देशमा निमुखा गरिबका छोरा ।
देशद्रोही बाँची सार भएन यहाँ तिमी उदाऊ अब,
तिम्रो पर्खाइमा आँसु खपी जनता बाँची रहेछन् सब ।
सुरज गिरी (कावासोती, नवलपरासी)
