सिssss चुप लाग
एकैछिन शान्त होऊ
प्रशव पीडामा छिन् उनि
एकैछिन धैर्य गर
बरु चाँजो मिलाऊ
चिसो लाग्न नदिन
न्याना पाठकीय मनहरू सिलाऊ
अनि तयार पार थाङ्ना
झट्ट एउटा कलम ल्याऊ
अनि कपीका पाना पनि
शान्त वातावरण बनाऊ
बिल्कुलै हल्ला नगर
उनि वेदनाले छट्पटिएको त
म पनि कहाँ हेर्न सक्छु र?
यद्यपि त्यो पीडाले
असिम आनन्द दिनेछ
किनकि कविताको जन्म हुन गैरहेछ
जन्मियो? अँ जन्मियो
एउटा सृजना जन्मिएछ
वातावरण उल्लासमय छ
साँच्चै कविता जन्मिएछ
अहा! कस्तो सुन्दर
अब म कवितालाई
असिम मायाले सेक्छु
क्रमश पढ्दै तेल घस्छु
अनि न्वारन गर्छु
शिर्षक राख्नेछु
हेर त
हेर त उनको आँखामा
आलै सुत्केरी पनि शान्त छिन्
पीडामा नि हर्षको अश्रुको बाढी छ
प्रशवको दुखाईहरू बिर्सिसकिन्
शिथिल त्यो शरीर
कविताको चुरीफुरीले तन्किएछ
कविताको स्पर्शले घनिभूत हुन्छे
ती अघिका शृङ्खलाबद्ध दुखाईहरू
सारा पीडाहरू पाखा लागिसकेछन्
अब फेरि अर्को सृजना
जन्माउने प्रण गर्दैछिन्
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
