मूल ढोकामा घडा थापेर
स्वागतमा आतुर मनहरूको
उत्साह र उमंगको वास्ता नगरि
भवितव्यलाई बनाईएको जस्केला हुदै
आशाहरू चियाउने झ्यालहरू हुँदै
मन अडेका भित्ताहरूलाई जिल्ल पारेर
लुसुक्क कालो विरालो कै चालमा
भित्रिईसकेछ
सधै झै यसपाला पनि
बडा दशैँ
खडेरीले खाएको उदास खरका फूलहरूले जीवन खोजिरहँदा
बेदना र दुख मिसिएका नदीहरूले गति खोजिरहँदा
गोली र वारुदले छटपटाएका डाडा पाखाहरूको वास्ता नगरि
आशाको धुपधुपाईरहेको दियोमा तेल नथपेर
महिशासुरहरूलाई स्वतन्त्र छोडदै
अनिश्चयको बादल नफटाईकन
धुलो र मैलोहरूलाई जहाँको तही राखेर
खुसुक्क घर भित्र पसिसकेछ
यस पाला पनि
बडा दशैँ
लिंगे पिंगले मेटाएन पीडाहरू
रोटेपिंगले रमाएन मनहरू
नयाँ कपडा त शरीरले लगाउछ लगाईदिएपछि
सल्लाको खोटो जस्तै
फाटेको कपडा मन भित्रै टाँसिईरहेको वर्तमानमा
सोचका अनगिन्ती पहाडहरूले थिचेर
उकुसमुकुस हुदै निसास्सीरहेको मेरो मन
सोध्दैछ मलाई
गाउँमा सवतिर आईसक्दा पनि
घरमा बसिसक्दा पनि
खै किन आउदै आए जस्तो देखिन्न
यस पालाको
बडा दशैँ
चोक चोकमा उभिएका छन
शालिक जस्तै मानिसहरू
घुईचो छाएको छ
शहर वजार सबतिर
भ्याई नभ्याई गाडीहरू
दशै ओसारीरहेछन
भीडभाड र हल्लाले अर्कै रौनकता थपेको छ
मेरै जस्तो कति कति मनहरू
हास्न नस्कदा नसक्दै पनि
रमाईलोमा गासिन नसक्दा नसक्दै पनि
आईसकेछ
यस पालाको
बडा दशैँ
