Skip to content


आहा! म मरिसकेछु
हो आज म मरिसकेछु
तर, तर मृत्युको बाहुपाशमा
तिम्रो कठोर बाहुपाशमा भन्दा बढी
स्वर्गीय आनन्द भोग्दैछु
किन थाहा छ ?
किनकि जीवित हुदाँ
प्राप्त गर्न नसकेको
तिम्रो आत्मीयता
म मृत्यु पश्चात पाउँदैथिएँ
जब मेरो लाशमाथि कात्रो ओढाईयो
तिमी मेरो लाशमाथि घोप्टो परेर
कहालिएर रुँदै थियौ
शंखघोषसहित मेरो यात्रा
मसानघाट तर्फ शुरु हुदां
तिमी अश्रुभेलसहित
नग्न पयर मेरो पछि पछि
तिखा पत्थरहरूमा टेक्दै
रगाताम्य पार्दैथियौ
यो त्याग कहाँ पाएँ र जीवनमा ?
तर मृत्युपश्चात पाउँदैथिएँ
मेरो जीवन सजाउन नसकेका ती हातले
आज मेरो चिता सजाउँदै गर्दा
यस्तो लाग्यो मेरो मृत्यु छिट्टै हुनुपर्थ्यो
जब मेरो लाशलाई चितामा राखियो
तिमी मेरो वरिपरि घुम्दैथियौ
सायद अन्तिम पटक मलाई हेर्दैथियौ
स्निग्ध नजरले
कुनै दिन एक स्पर्शको लागि लालायित
हुन्थे मेरा मन र तन
आज तिनै हातहरू काँप्दैथिए
मलाई अग्निदाह गर्दा
आनन्दको अनुभूति चरमरुपमा हुदैँथियो
म सेतो बस्त्रमा लपेटिएर
आकाशतर्फको यात्रामा निक्लदैंगर्दा
तिमीले मलाई देख्न सकेनौ
तथापी म तिमीलाई नियाल्दैथिएँ
म देख्दैथिएँ, कुनै पल
मेरो उपस्थितिले बिझाउने तिमी
म जलेर बनेको खरानी
आफैमा धस्दै
भक्कानिएर रुँदै थियौ रुँदै थियौ ।

-राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *