Skip to content

बन्दुकसँगै कलम चलाउनेहरूको सुकर्म

  • by


उक्त कार्यक्रमका आयोजकहरू जगत नवोदित र किसन राईसँग चिनाजाना साट्यौँ । बृटिशसेनामा कार्यरत लाहुरेहरूको पहलमा उक्त संस्था गठन र सञ्चालन भएको रहेछ । आर्मीम्यानले अत्याधिक समय बन्दुक र गोलीगट्ठा खेलाउनु, खेलकुद र नाचगानमा बिताउँछ । तर त्यस्तो दैनिकी, सङ्गत र परिवेशको बावजूद साहित्यजस्तो ओथ्रे (जो कोठाको सीमित घेरामा कुँजिएर गरिने) काम रुचाएको बुझ्दा मैले अनौठो मानेँ र गर्वले म फुलिएँ । अचेलका पल्टनेहरू पल्टने जीवनमा सैनिक तालिम, काम, खेलकुद र नाचगानमा प्रतिभा देखाएर फुली भिर्न र स्टरलिङ पौन्ड कमाएर पहराजस्तो मुन्डा घर ठड्याउन मात्र लालायित र सीमित छैनन् र उनीहरू पैसा तुलाउने वा भौतिक उन्नतिको सेखी गर्ने मात्र नभएर अस्तित्व र अमरताप्रति पनि लालायित छन् । जिन्दगीको अर्थ र जिम्मेवारी खोज्ने क्रममा लाहुरेहरूमा उब्जिएको यो सोच मजस्तो अस्तित्ववादी र अमरताको लोभीले सर्काउनु चुकिनँ । उनीहरू यस्तो हुनुमा अचेल शिक्षित केटाहरू भर्ती हुनाले पनि हो । पैसा कमाएर सम्पत्तिको रवाफ त गोठालो मात्र गरी भर्ती लागेकोले पनि गर्न सक्थ्यो । तर साहित्यसिर्जना गर्न सामान्य लाहुरेलाई गार्है पर्छ । लाहुरेले पनि भौतिक उन्नतिबाहेक बौद्धिक इज्जत र व्यक्तित्वको चाहना राख्नु स्वाभाविक छ ।

पुरस्कृत कवि तथा पत्रकार शशी लुमुम्बू गुरुकुलको आँगनमा झुल्किए । मेरो संस्मरणात्मक निबन्धलेखनबारे उनलाई कहेँ । “ढड्डा नै पो रै’छ त,” उनले टिप्पणी गरे । ‘ढड्डा’ भन्ने उनको त्यो शब्दप्रयोगले थाङ्ने गनथनको चाङको रुपमा मेरो लेखन भएको महसुस गरेँ ।

वजनदार स्वरमा प्रकाश सायमीले बके, “शशी लुमुम्बूजस्तो सोझो (जसले चाकरी जान्दैन) ले पनि पुरस्कार पाएर अचम्म भयो, त्यहीमाथि अम्बर गुरुङको हातबाट । सबै पुरस्कार शुद्ध नभएकोले स्वीकार्न माफीको छैन, स्वाभिमानी आत्माले । कालो धनलाई सेतो पार्नको लागि कतिपय पुरस्कार प्रदान गर्ने संस्था खडा गरिएको छ । कृष्णचन्द्रसिंह प्रधानले रु एक लाखको पुरस्कार पाए तर त्योभन्दा बढीको भनाइ खानु पर्दा नरेन्द्रराज प्रसाईले फसाएको बताए । शशी लुमुम्बू साहित्यिक कार्यक्रमको क्यालेन्डरजस्तो भएर प्रस्तुत हुन्छ । सुरुमा मलाई लाग्थ्यो- कविता लेखन केवल आत्मरतिको लागि हो । यस्तो सोचाइले मैले नीच मारिरहँदा दोहोर्याएर मलाई कवि बनाउने नै शशी लुमुम्बू हो ।”

विप्लव ढकालले फलाके, “शशीको घर नजिकैबाट भयङ्कर भीर सुरु हुन्छ । जुन भीरबाट गिद्ध लडेर मरेकाले ‘गिद्धेभीर’ नाम रहन गयो ।” यी वाक्य तुरिँदा श्रवण मुकारुङको मुखबाट हाँसो फुत्क्यो । हुन पनि गिद्धजस्तो पखेटासँगको (उड्न सक्ने) पन्क्षी लडेर मर्यो भन्दा पत्याउन पनि गार्हो कुरा हो । यदि पखेटा कुनै कारणले चलाउन असम्भव भएको भएचाहिँ त्यसो हुन सम्भव छ ।

“त्यही पहराबाट निस्केको शिलाजितजस्तै हो शशी ।” उपमासँग उनले सर्काए ।

पुरस्कृत व्यक्तित्व शशीले मन्तव्य राखे, “मैले अस्वीकार गदागर्दै साथीहरूको अनुरोध दोहोरियो पछि मतदान पकृयाबाट छानिएर मात्र यो पुरस्कार स्वीकार्न म तयार भएँ । यो मेरो लागि नोवेल पुरस्कारसरह लागेको छ ।”

कार्यक्रम सकियो । प्रकाश सायमीसँग हात गाँस्दै फुर्क्याएँ, “हेबि भ्वाइसमा प्रकाश सायमीले केही न केही नयाँ र स्वादिलो कुरा बोल्ने हुँदा उनको मनतव्यमा कान ठाडो पार्नै पर्ने हुन्छ ।”

राष्ट्रियगानको सर्जक व्याकुल माइलातिर लागेँ, “‘कान्तिपुरदैनिक’ मा भएको विवाद मैले सबै पढेँ । दोस्रो र तेस्रोभन्दा तपाईँकै गीत मलाई राम्रो लाग्यो । जसको कारण जातीय पूर्वाग्रह र सहानुभूति होइन । पहिलो हरफले नै मलाई छयाप्पै पक्रिहाल्यो । नजोडिएको र सिधा पारिएको फूलको मालाजस्तै भौगोलिक रुपमा लाम्चो नेपाल लागेकोले त्यो प्रतीक मलाई सार्है मन पर्यो । ‘आँचल’ र ‘अटल’ अनुप्रास त्यति नमिल्दो त होइन तर अनुप्रास मिलाउने प्रयासमा भाव दुवै हरफको अलि मिलेन कि जस्तो मलाई लाग्यो । दोस्रो भएको रामप्रसाद ज्ञवालीको गीतमा ज्यादा संस्कृतशब्द मिसिएकोले पनि मलाई राम्रो लागेन ।”

खाजा चपाउँदै मैले आफ्नो अभिमत राख्दै थिएँ, “व्याकुल माइलाले विगतमा गीतसङ्ग्रहमा राजा ज्ञानेन्द्रप्रति कृतज्ञ भएको व्यहोरा जनाउने औपचारिकता पूरा गर्दैमा उसलाई ‘राजावादी र राजाको स्तुतिगान गाउने भाट’ भनेर दर्ता गर्न अन्याय हुन्छ । त्यसभन्दा उसको अन्य कृयाकलापले राजावादी भएको पुष्टि गरेको छैन । मानौँ त्यतिखेर राजाजस्तो नेपालको सर्वेसर्वा व्यक्तित्वले गीतसङ्ग्रहको लागि गीत दिँदा माइलामा भावुकता उर्लेर त्यसरी दासमानसिकता पैदा भई स्तुति लेख्ने मन गरेछ वा मानौँ माइला त्यसबेला हदै कट्टर मण्डले नै थियो तर अहिलेको परिस्थितिले गणतन्त्रवादीमा उ बद्लियो भने उ बद्लिन नपाउने वा विगतको गल्तीलाई आत्मआलोचना गर्न नपाउने भन्ने के छ र ? उ छेपारे नै रहेछ ल ! गीत लेखनको लागि दौड गराइयो । दौडमा माइलाले सबैलाई उछिन्यो । कि दौड नै गर्न हुन्न थियो ।”

“माइला एकलै दौडिएर प्रथम भएको होइन,” बीचमा उनी कराए । मैले अभिमत राख्न बिसाएको थिइनँ, “रत्नाकार डाकुबाट बाल्मिकीचाहिँ ऋषि हुन पाउँदा माइला मण्डलेबाट गणतन्त्रवादी हुन किन नपाउने ? माओवादीले पनि तपाईँको गीतलाई मान्यता नदिने विचार व्यक्त गरेको छ । उनीहरूको सहमतिबिना सरकारले सदर नगर्ने होला । काटछाँट गर्नको लागि तपाईँले सहमति जनाएपछि सदर हुन पनि सक्छ । तर काटछाँटको पनि हद हुन्छ । तपाईँको मौलिकतामा आँच पुग्ने गरी काटछाँट भए त सामूहिक रचना भइहाल्यो नि । म भए एक अक्षर पनि थपघट गर्न मान्ने थिइनँ । बरु राष्ट्रिय गानको रचनाकार नहुँदाको घाटा सहन्थेँ ।”

मेरो पछिल्लो तर्क र दाबीले उनलाई असन्तुष्ट बनाएको हुन सक्थ्यो । मैले त्यसबारे अनाश्यक लामो बहस तन्क्याएकोले र कतिपय मेरो भनाइले उनलाई नमज्जा लागेकोले हुनसक्थ्यो । उनले पन्सिन चाहे, “यसलाई लामो चर्चा नगरौँ दाइ ।”

एउटी मतवाल्नी अग्ली र गोरी च्वाँकमा आँखा टाँसिँदा मेरो मन बटारियो ।

(प्रवासीसाहित्य समाज, बेलायतको पुरस्कारवितरण)

२०६३ माघ ४, जनवरी २००७

Leave a Reply

Your email address will not be published. Required fields are marked *