आजभोलि म देख्दैछु
बुद्धका जस्ता मन भएकाहरू
बिशाल हृदयका मेरा बन्धुहरू
खै किन हो एक अर्कामा
वैमन्श्यताको रङ्गहरू छ्याप्दैछन्
द्वेषका घोलाहारु खन्याउदैछन्
वरपीपल छोएर
मनहरू रुवाएर लड्दैछन्
फगत् युद्द गर्दैछन्
भो हेर्न सक्दिन मानिसले
मानिसलाई रुवाएको
थाहा छ तिनीहरूलाई
अभिमानको छिटाहरू एसिड हो
जसले हरेक मुटु जलाउँछ
हरेक मुहार कुरुप बनाउँछ
यद्दपी आज त्यो एसिड आफै दल्दैछन्
अरु हैन आफै बल्दैछन्
नभत्काउ ती आस्थाका पर्खाल
नमडारिउ बन्दै बादल आकाशमा
सम्झनाका त्यो सन्दुक खोल
त्याहाँ संगै बिताएका क्षणहरू पाउनेछौ
संगै गाएका प्रेमिल शब्द पाउनेछौ
अनि आंलिगन गर्दै घुमेका तट पाउनेछौ
कसरी च्यातियो विश्वासका टाला
अनि च्यातिए ती मनहरू
भाँचिछन् ती आत्मियताका खम्बाहरू
अझै भाँच्दै जाने हो र?
अझै च्यात्दै जाने हो र?
हैन अब पुग्यो
अब त मनहरू संगालिनु पर्छ
जीवन साँघुहरू पुन: निर्माण गरिनुपर्छ
शिरिष फुलाउने ती आखाँहरू
प्रेमिल गीत गाउने ती ओठहरू
चिम्लिएर, बन्द गरेर
वाचा गर, भावबिभोर भैई
एक अर्कालाई आलिंगन गर
एक अर्कामा समर्पण गर
अनि पाउनेछौ सुनौलो बिहानी
स्वागत गर्नेछिन् उषाले
फुल्नेछिन् सुनाखरी वनभरि
उड्नेछन् चराहरू आकाशमा
अनि यसरी नै
मेटिनेछन् ती मुटुका घाउहरू
बस एकपटक फर्क
विचलित यात्रालाई फेरि
सम्हालेर निरन्तरता देउ
यहि नै स्वर्ग पाउनेछौ
यहि नै जीवानुभूति गर्नेछौ
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

comment
kabita ramro lagyo.
धन्यवाद यहाँलाई।
धन्यवाद यहाँलाई।