लेखनको क्रममा कुनै दिन एउटा नियात्रासंग्रह नेपाली नियात्रासाहित्यको भण्डारमा थप्ने जमर्को स्वरुपको तयारीमा रहेको यो समय म अध्यनार्थ नेपाली साहित्यका राम्रा, प्रभावोत्पादक र झरी पछि छ्याङ्ग खुलेको आकाशजस्ता क्रिस्टल क्लियर प्रस्तुतिका नियात्रासंग्रहको खोजीमा छु। घरदेशदेखि टाढा रहनुको अभिशाप भनुँ चाहेका पुस्तक चाहेकै बखतमा कहाँ उपलब्ध हुन्छ र? तर पनि नेपाली नियात्रासाहित्यमा हल्चल् ल्याइदिन सफल केही हस्ती मध्येका युवराज नयाँघरे दाइका केही र प्रतिक ढकाल दाइका केही नियात्रासंग्रहलाई सात समुन्द्र तारेर इजरायल ल्याइछोडेँ। यतिबेला मलाई एउटा प्रचलित हिन्दी उखान याद आइरहेको छ जो मेरो बाबाको पनि प्रीय उखान थियो। “देर से आए दुरुस्त आए।” यसो किनकि प्रतिक ढकाल नाम नेपाली नियात्रासाहित्यप्रति अलिकति पनि नजिक रहेका जो कोही पाठकले जानेसुनेको नाम हो, उसो र फाट्फुट उहाका नियात्रा पढेकै थिएँ तर अहिले मेरो लामो र अथक प्रयासपछि मेरो हात परेको छ उहाका ५ नियात्रासंग्रह ।
मेरो आफ्नै अनुभव हो कि पाठकले पुस्तक भेट्नु भनेको भोकोले खिर पाएको भन्दा स्वर्णिम सानन्दी पल हो। एकै रातमा उहाको चर्चीत पुस्तक ‘सेती पनि काली पनि’ छिचोलेँ। त्यही एक रातमा मैले आज भन्दा लग्भग दशक अघिको सुदुर पश्चिम नेपालको साङ्गोपाङ्गो फन्को लगाएँ। नियात्राभित्र पाठकलाई सुखानुभूतिमा डुबाउँदै अनेक प्रभाव पार्ने प्रतिक ढकालज्यूको प्रस्तुतिमा मलाई मन परेका मध्ये एक अति महत्वपूर्ण पक्ष हो उहाको वर्तमानकेन्द्रित प्रस्तुति। अर्थात घटना प्रस्तुत गर्दा ढकालज्यू कतै पनि भूतकालमा नपसेर बडो चातुर्यतापूर्वक वर्तमानमै लम्किरहनुहुन्छ जसले गर्दा पाठकले हरेक घटना र स्थानमा तत्क्षण नै आँफैलाई हिंडाइरहेको हुन्छ, सरिक् गराइरहेको हुन्छ। म यता गैरहेको छु, यस्तो खाइरहेको छु, भर्खर उ! डाँडाको टुप्पोबाट तलको रमणीय फेदी हेर्दैछु। यसखाले वर्तमानिक प्रस्तुतिको एउटा असाध्यै राम्रो पक्ष मेरो अनुभवमा चाँही घटना कहिल्यै पुरानो नलाग्ने।
‘सेती पनि काली पनि’ भित्र हिँडेको हिँड्यै गर्दा म आँफैँ धेरै भावभंगीमामा उत्रिएँ। मेरो नेपाल बिशाल छ र भब्य छ यो सत्य हो देश लुट्ने द्रोहीहरूले जतिनै लुछेर चित्रो पारेपनी मेरो देश महान छ । तर अभाग्यबस् मैले मेरै देशको भब्यता, बिशालता र अलौकिक सुन्दरतालाई प्रत्यक्ष यी पाइलाले नाप्न पाएको छैन, यी हत्केलाले छाम्न पाएको छैन र यी जोर आँखाले नियाल्न पाएको छैन। यही कमी पुरागर्न पनि म नियात्रा पढ्नेगर्छु। प्रतिक ढकाल ज्युको ‘सेती पनि काली पनि’ले मलाई प्रत्यक्ष सुदुर पश्चिम नेपाल घुमायो हातैमा समातेर बिचरी कुमारी दिपायलको आँचल ओढायो, त्यहीँबाटमा चात्रो थापिरहेका युवतीहरूलाई दुई खिल्ली बिँडी किन्ने भेटी चढाएर मलाई अगाडि तानिरह्यो मङ्गलसेनको बाटो हुँदै अनिदो रातमा सुन्दै बिताएको मोटेदाइको रिदमिक घुराइका घटनासम्म। कल्पनाको उडानमा पाइतालाको ताल मिलाउँदै कहाकहाँ पुगेछु सुदूर-पश्चिमेली नेपाली दाजुभाइ दिदी-बहिनीको भोक टार्ने बनेली झार हेर्दै राजाधानीबाट बेखबर ती बिकराल दैनिकीसँग साक्षात्कार गर्न। कस्ता ठाउहरू! कल्पनाका लोक जस्ता लाग्ने, नेपाली देखेर नेपाली भागने कस्तो बिडम्बनाको हेलित पेलित जिन्दगी बाँचिरहेछ नेपालकै कुनाले नेपाली नै नाम बोकेर! स्तब्ध हुँदै बाटोमा भेटिने चियापसलका बेन्चमा बसेर चिया पिएका ती पल हुन् या गुन्द्रुके स्टाइलमा नाम मात्रका बसमा थेच्चिँदाका क्षण, म कतै रोएछु त कतै मुस्कुराएछु बझाङ्गे उकाली-ओरालीहरूमा । तर ‘सेती पनि काली पनि’ले साह्रै बेर रुवायो मलाई टनकपुरको बाँधछेउमा। कठै! सम्झौताको नाममा सौदा गरिएको त्यो चर्चा, भारततिर सुसाउँदै बत्तिएको मेरो नेपाली जलराशी र त्यसैको बियोगमा उपेक्षित अनुहार फर्काएर सुक्खा रोइरहेको नेपाली बगर ! ओहो! कस्तो ठगी! कस्तो बेइमानी ! त्यो पनि नेपालीबाटनै! कसरी आफ्नी आमाको लाम्टो काटेर बिक्री गरिरहेछन् निहित स्वार्थको लागि नेपाली नेत्रित्वबर्गले! हो यस्तै यस्तै सोचेर निकै बेर छट्पटिएँ टनकपुरको डिलमा नेपाल आमाको घाऊ टन्केको त्यस बखत। समग्रमा भन्नुपर्दा नियात्राकार प्रतिक ढकालले नियात्राको फाँटमा जुन चर्चा जुन सम्मान पाएकाछन् त्यो अझै कमी लाग्छ उनका नियात्रा पढिसकेपछि। नेपालका बिकट जिन्दगी, दरिद्र दैनिकी र करुण अवस्थाको साक्षात अनुभूत गर्न कि त पुग्नुपर्छ ती स्थानमा प्रत्यक्ष कि त पढ्नुपर्छ प्रतिक ढकालका यी नियात्रासंग्रह। अनी बुझ्नुपर्छ सुबिधा भोगेर राजाधानी आसपासमा मोटाइरहेका भातमाराहरूले कि नेपाल काठमाण्डौ मात्रै होइन। कि नेपालीले तारे होटलमा डलरको बजार थाप्दा कतै बनेलु झार उसिनेर भोक टार्नेहरूको पनि देश हो नेपाल र ती पनि नेपाली हुन्।
सिङ्गो नेपालको यथार्थ अनुहार हेर्न चाहने जो कोही नेपालीमनले, नेपाली पाठकले एक पटक पढनै पर्छ यी नियात्रासंग्रहहरू भनेर म जिकिर गर्छु। भलाई वरिष्ठ नियात्राकार प्रतिक ढकाल पछिल्लो समयमा केही बिषयमा बिवादित बनेका छन्, सत्य के समयले बताउला नै । हाललाई म उनको अपूर्व कौशल प्रस्तुतिका प्रभावकारी नियात्रामा गहिरो डुब्दैछु।
“पाठकले सर्जकको सिर्जना पढ्ने, हो न कि उसको व्यक्तिगत जिन्दगी।”
