Skip to content


अष्टमानको पसलमा
फेरि आए गौँथलीहरू―
जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि
र ऊ बस्ने चकटीमाथिको दलिनमा
बनाउन शुरु गरे गुँड।

हरेक वर्ष यसरी नै आउँछन्
असनका पसलहरूमा
र, रत्तिभर नडराइकन शुरु गर्छन्
बनाउन गुँड।

फागुनको रात,
घण्टाघरले नौ बजेको अन्तिम घण्टी हानेपछि,
अष्टमान पसल बन्द गर्छ
र, बुईगलतिर उक्लिन्छ।

मसला, सिद्रा र गोकुलधूपको मिश्रित गन्धमा
भुटन तारेको गन्ध थपिन्छ
र चामलको तिक्खर रक्सीको वास्नासँग मिसिएर
हुरुरुरु र्लिन्छ र ह्वास्स छिर्छ पसलभित्र,
केहीबेरपछि लसुनको सागसँग
रातो खुर्सानी, जिरा र अदुवाको मसलामा पकाएको
राँगाको मासुको छिपछिपे स्वादिलो झ्ोलसँगै
ताइचिन चामलको वास्ना पनि
बाटो खोज्दै आउँछ चोटाबाट
र छिर्छ छिँडीमा रहेको पसलभित्रै,
गौँथली दाहिनेतिरको पँखेटा
तनक्क तन्काउँछे
अनि एकैछिनमा गुटुमुटु भएर गुँडुल्किन्छे गुँडभित्र।

भोलिपल्ट, अष्टमान फेरि उघार्छ खापा पसलको
गौँथली उसकै सुरमा भुरुरु उडेर जान्छे, फर्केर आउँछे,
चलिरहन्छ आवतजावत पसलमा पनि।
अष्टमान र गौँथली आ-आफ्नै तालमा एकअर्कालाई दखल नदिइकन
एकै थलोमा आ-आफ्ना कारोबार गर्दछन्,
गौँथली त्यही गुँडमै अण्डा पार्छे, कोरल्छे
र बचेराहरूलाई चारा ल्याएर ख्वाउँछे,
बचेराहरू हुर्किन्छन्, उड्न थाल्छन्,
अष्टमान सामान थप्छ, बेच्छ,
तमाखु खाँदै हिसाब गर्छ नाफा र घाटाको।

जेठ लाग्दानलाग्दै सारा गुँड रित्ता हुन्छन्,
अर्को वसन्तसम्मका लागि गौँथलीहरू
बसाइँ सर्छन् अर्कै देश।

यतिखेर, गौँथलीको बसाइँसराइ सम्झिदै
म डबलीको डिलमा बसेको छु,
अष्टमानको छोरोले ब्याङ्कसँग ऋण लिएर
पुरानो घर भत्कायो अनि सिसाले छोपिएको शपिङ्ग सेन्टर बनायो।

“गौँथलीले गुँड कहाँ बनाउला?”
झवाट्ट मनमा एउटा सोच आयो,
जुरुक्क उठेँ
हिँड्न लाग्दा कुनै चीजमा पर्‍यो खुट्टा,
निहुरेर हेरेँ― एउटा मृत गौँथली रहेछ,
आङ्ग सिरिङ्ग भयो,
आँखाचिम्सो पार्दै चारैतिर नियालेँ―
विरानो विरानो लाग्यो यो चिनेको ठाउँ।

अर्को साल गौँथलीहरूले अन्तै कतै गुँड लगाउलान्,
अर्को साल म पनि अन्तै कतै जानुपर्ला―
यो शहरमा बन्धक परेको मेरो घर
त्यतिञ्जेलसम्म रहला-नरहला!

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *