Skip to content


आकाशमा टाँगिएको क्षितिजसँग
उषामा उदाएको उज्यालोसँग
वनसँगै हाँसिरहेको हरियालीसँग
र घामसँगै फैलिएका किरणहरूसँग
कसरी माग्न मिल्छ मैले
आफ्नो अस्तित्व?

चरासँगै उडिरहेको बताससँग
चिर्बिर चिर्बिर आवाजसँग
जनावरको आरामदायी उग्राइसँग
कसरी माग्न मिल्छ मैले
आफ्नो पहिचान?

के तिमी आफ्ना विश्वासहरू बटुलेर
आफैँले बाँचेको आस्थालाई साक्षी राखेर
तिम्रो र मेरो सम्बन्धका सरल रेखाहरूलाई
अझ् बढी तन्काउन सक्दैनौ?

म अधिकारको नाममा विछोड हैन
बचाइको नाममा स्वार्थ हैन
हाम्रो समयको क्षितिजसँगै
टाँगिन हिँडेको
पर्ख एकैछिन
हाम्रो प्राकृतिक नातालाई
यहीं चिनाएर जाऊँ

खोपेजस्तै नाउँहरू रूखका हाँगा-हाँगामा
प्रेमी प्रेमिकाहरूले
मनमनमा रोपेर जाऊँ
भोलि फुल्नको लागि समान सौन्दर्य
आऊ सुम्पेर जाऊँ
पाइलाका डोबहरू
समानान्तर रेखाका लागि

हिँडौं न अनन्तसम्म सँगसँगै
एउटा पाइला तिमी, अर्को पाइला म

अनि देलान् आकाश, घाम, वन र
बिहानले पनि
थोरै थोरै आफ्नो अस्तित्व
र, बनाउलान् हामीलाई
उनीहरूकै सहयात्री।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *