Skip to content


सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर
लावारिस सालका पातहरू
सर्ल्याङ-सर्ल्याङ सन्त्रास बजाउँदै
आयो अर्को आइतबार।

सुर्ताको सुर्ती मल्दै
मलेशियामै हात छुटेको रघुवीरको खुइय तन
अरबबाट छोरो मात्रै आर्जेकी धनकुमारीको जोगी मन
यत्ति नै खेर
चियापसले रामदुलारीको कित्लीहुँदै
सर्लाहीबाट अइया समाचारको फुस्स बाफ उठ्छ
अपहरित रामस्वरुपको फिरौती पछि हत्या
नथामेर त्यो ‘भर डोज
रामदुलारीका चिया गिलासहरू दुर्घटनाग्रस्त हुन्छन्
भिखमपुरमा ध्रुवेश दाको सितार चुटिन्छ
तत्क्षण
बच्चे साह तेली बसाइ हिँडने लु चल्छ
बग्दाबग्दै नदी अररियो
सहनै पर्ने भो
फेरि अर्को ऋणात्मक आइतबार
भोग्नै पर्ने भो
फेरि अर्को गद्दार आइतबार!
फूलहरु
भोजराज न्यौपाने
फूलहरू हरेक दिन
भमरासँग तर्सिन्छन्
र, उनीहरूसँगै समर्पित हुन्छन्।

फूलहरू हरेक क्षण
हावाहुरीदेखि डराउँछन्
र, उनीहरूकै तालमा नाच्छन्।

फूलहरू मान्छेदेखि डराउँछन्
र, उनीहरूकै गलामा सजिन्छन्।

थाहा छ फूलहरूलाई
सुन्दर हुनु अभिशाप हो।
कोमल हुनु अभिशाप हो।
र, सुगन्धित पनि अभिशाप हो।

मौसमै पिच्छे
झर्दै जानु, पलाउँदै जानु
र, निम्सरो हावाको झोक्कासँग
हार्दै जानुमै फूलहरू सौभाग्य ठान्छन्।

किनभने,
फूलहरूलाई शाश्वत नियम थाहा छ
नझ्री फेरि कसरी फुल्नु?

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *