Skip to content


झापा टटुवामारीको एउटा खम्बू (राई) केटो जीव-विज्ञानमा स्नातकोत्तर गरेर पढाउन थाल्छ। विद्यावारिधिका लागि उभयचर र सरीसृपको नमुना सङ्कलन गर्दै झापाको केचनाकलन र सोलुखुम्बुको खुम्जुङदेखि कर्णाली र बैतडीका भीरपाखा चहार्छ। पूर्वी पहाडमा अनुसन्धान गर्ने क्रममा २६ थरी किरात राईका भाषाको सर्वेक्षण गर्न पनि भ्याउँछ।

विद्यार्थीकालमा वाम राजनीतिक रुझ्ान भएका खम्बू प्राज्ञिक क्षेत्रमा रमाउँदै हर्पेटोलोजीको अनुसन्धान पूरा गर्न दुई वर्ष युरोपमा सङ्घर्ष गर्छन्। तर, साउन २०६० मा बुझ्ाएको ६०० पृष्ठको उनको शोधपत्रलाई त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयलेे वैशाख २०६२ सम्म थन्क्याइदिन्छ। धन्न हाकिमको डस्टबिनमा भेटिएको एउटा नखोलिएको खामले कुचिकारको ध्यान तानेछ, नत्र हक्की र जुझारु खम्बूको जीवनमाथिको खेलबाडको पटाक्षेप कसरी हुन्थ्यो अनुमान लगाउन गाह्रो छ।
मेची बहुमुखी क्याम्पसका प्राध्यापक डा. कालुराम राई (खम्बू)ले यही वैज्ञानिक अनुसन्धान यात्राको क्रममा पाएका उपलब्धि, भोगेका हण्डर र गरेका अनुभूतिलाई समेटेर मेरो अनुसन्धान यात्रा नामक किताब प्रकाशित गरेका छन्। विद्यार्थी र अध्येताका लागि रोचक यो ग्रन्थ सुधि्रने छेकछन्दै नदेखाएको त्रिवि, यसका अध्ययन संस्थान, विभाग र प्रशासनका टाउकेहरूका लागि घोचक पनि छ। सोझो बाटोबाट काम फत्ते गर्न खोजिरहेको व्यक्तिप्रति त्रिविका बडेबडे विद्वान्बाट भएको व्यवहार शोधकर्तालाई निरुत्साहित पार्न पर्याप्त देखिन्छ। अनेक झ्मेला पार गरेर जर्मनी उड्ने टिकट जुटाउने क्रममा खम्बूले भेटेका चिनारु अर्थ-सचिवको व्यवहारले पाठकलाई नै लज्जित बनाउँछ। त्यस्तो भुक्तमान र तनावको वर्णनमा पनि खम्बूले सराहनीय विनम्रता देखाएका छन्।

खम्बूले अन्ततः उदारमनाहरूकै साथ-सहयोग पाएर विधावारिधिको जँघार तरेको देखिन्छ। अग्रज प्रा.डा. नोबलकिशोर राईदेखि प्रसिद्ध जीव-वैज्ञानिक हर्मन स्लाईखसम्मका विद्वान्हरूको सहयोग र सान्निध्यमा अघि बढ्ने मौका पाएका उनीप्रति प्रा.डा. मदन कोइराला र शारदा कोइरालाको सद्भाव प्रशंसनीय छ। देशकै पहिलो हर्पेटोलोजिष्ट साथीको अनुसन्धान यात्रा समाजका लागि पनि उपयोगी होस् भनेर सह-प्राध्यापकद्वय गङ्गाप्रसाद अधिकारी र शुभलक्ष्मी राईले तन्मयका साथ गरेको सहयोगले पाठकको मन छुन्छ।

वैज्ञानिक अनुसन्धान यात्रा विवरण समेटिएको यो किताब नियात्रा साहित्य पनि भएको छ। नेपालका हिमाल, पहाड र मधेशदेखि जर्मनी, हल्याण्ड, बेलायत र स्पेनसम्मको यात्रा विवरणले भरिएको यस किताबमा नेपालमा साउने रातमा मेघगर्जनसँगै उठेर पाहा, भ्यागुता खोज्न खोला पस्ने लेखकले पाठकलाई युरोपका प्राचीन शहर-बजार, शान्त गाउँ, भूमध्यसागरको किनार र ठूल्ठूला लिभिङ नेचुरल हिष्ट्री म्युजियमहरूमा पुर्‍याउँछन्। लेखक सपना देख्न उत्प्रेरित गर्ने जर्मनीको वुपर नदी किनारमा कवि बन्छन्।

नेपाली भाषा खम्बूको मातृभाषा होइन, त्यसमाथि परे विज्ञानका जिज्ञासु। र पनि, उनको सरल नेपाली सलल बगेको छ। शब्दहरूको लोभ र नगर्दा पनि हुने स-साना कुराको वर्णनलाई लेखकका कमजोरी मान्न सकिन्छ। तस्बिर चयनमा पनि उनी चुकेका छन्। यस्तो विशिष्ट ग्रन्थमा अलमारिया तटमा नुहाएको जस्ता निजी तस्बिर नछापेर इतिहास, संस्कृति र अनुसन्धानको दृष्टिले अर्थपूर्ण तस्बिर छापेको भए बढी जाती हुनेथियो।

आनन्द पी राई

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *