म भुइँखाटमा नै लम्पसार परेँ । म भुइँखाटमा सुत्न थालेको करिब एक साता हुन थालेको थियो । हुन त हाम्रो कोठामा डबल बेडको गद्दादार शय्या नभएको होइन । र, हामी दुई जोईपोइले त्यस गद्दादार बेडमाथि गुटुमुटिँदै जीवनका आनन्ददायक र रोमाञ्चक क्षणहरू नबिताएका पनि होइनौँ । हामीले यस पुरानो पलङको सट्टामा बजारमा आयात गरिएका विदेशी महँगा डबल बेडका पलङहरूमाथि सुत्ने सपनाहरू पनि नदेखेका होइनौँ । तर, यी सम्भावनाहरूका विपरीत हामी दुई जोईपोइको समान हक लाग्ने उक्त डबल बेडमाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो ।

मलाई किनकिन यो जान्न मन लाग्यो कि यो भुइँखाटको आविष्कार सर्वप्रथम कसले र किन गर्‍यो होला ? आफू सुत्ने शय्यामा अटाउन नसकेर भुइँखाटको जोहो गर्‍यो होला कि वा हामी दुई जोईपोइको झैँ खटपट भएका बेला सङ्कटकालीन ओछ्यानका रूपमा व्यवस्था गरेको थियो होला । जेहोस् ! जसले यसको रचना गरे पनि ऊ भुक्तभोगी थियो । लोग्ने र स्वास्नीका मनोभावनाहरू केलाउने मनोविश्लेषक थियो ऊ ।

म मेरो लोग्नेलाई यो भान पार्ने प्रयास गरिरहेकी थिएँ कि म भुइँखाटमा ‘कम्फरटेबल’ छु । भलै त्यस भुइँखाटको तीनफीटे चौडाइमा मेरो अधबैँसे मोटो जीउ सात नम्बरको जुत्तामा नौ नम्बरको खुट्टा जबर्जस्ती घुसारेझैँ भएको किन नहोस् ! सिरानीमा टाउको जोत्दै गम्भीर भएर मैले सोचेँ कि हामी दुई लोग्नेस्वास्नी जीवनको त्यस मोडमा आइपुगेका छौँ, जहाँ हामी एउटै कोठामा दुई भिन्न ओछ्यानमा लम्पसार परेर सुतेको असफल नाटक गरिरहेका छौँ । र, एकअर्कालाई यो देखाउने प्रयास गरिरहेका छौँ कि तिम्रो शारीरिक स्पर्शले अब मेरो जीवनमा कुनै गम्भीर अर्थ राख्दैन । हामीहरू एकअर्काको गन्धलाई पनि बिर्सिन थालेका थियौँ । उक्त गन्धलाई स्मरण गर्ने हामीमा इच्छा र जाँगर थिएन भन्दा अझ इमानदारी हुन्छ होला ।

बिहान ऊ अफिस गएदेखि मैले दिनभर डबल बेडको पलङमाथि सुतेर आफ्नो रातभरको थकान मेटेँ । मलाई यो कुरा सम्झेर हाँसो उठ्यो कि लोग्नेको उपस्थितिमा रातभर मेरो कित्तामा भुइँखाट परेता पनि दिनभर डबल बेडको शय्या मेरो आफ्नै थियो । मैले राती लोग्नेले खुजमुज्ज बनाएको च्यादर र तकियाको खोल फेरेँ । डबल बेडलाई यसरी सिनित्त पारेँ कि मानौँ मेरो मायाको भोको लोग्ने व्यग्रतापूर्वक हान्निदै साँझ घर र्फकनेछ र म सम्हालिन नपाउँदै मलाई अँगालोमा बाँधेर ओछ्यानमाथि उत्तानो लडाउनेछ । ती रमणीय दिनहरू पुराना थिए र क्षणहरू पनि अतीत भइसकेका थिए । तर, रमणीय ती दिन र मधुर क्षणहरूको स्मृतिले मेरो तीतो मनलाई मिठ्याइरह्यो । म डबल बेडमाथि लम्पसार परेँ । एउटा तकिया टाउकोमुनि र अर्काे तकियालाई दुई खुट्टाका बीचमा च्यापेर कल्पनामा रमाइरहेँ । मानौँ, त्यो तकिया तकिया नभएर मेरो लोग्नेको पोटिलो तिघ्रा हो । मैले तेस्रो तकियालाई छातीले थिचँे र कल्पना गरेँ कि मेरो लोग्नेले मलाई आफ्नो छातीमा टाँसिरहेको छ । म डबल बेडको पूर्ण लम्बाइ र चौडाइलाई शरीरका अङ्गप्रत्यङ्गले समेट्ने प्रयास गर्दै छरपस्ट भएँ ।

मैले यो आशा गरेँ कि आज मेरो लोग्ने अफिसबाट घर र्फकंदा आँखाभरि घृणा र अनुहारमा सन्ताप बोकेर फर्किने छैन । ऊ ओठमा मधुर मुस्कान खेलाउँदै मसँग दुई शब्द भए पनि बोल्नेछ । घरभित्रको निःशब्दतालाई चिर्दै उन्मुक्त हाँसो हाँस्नेछ ऊ । धेरै दिनपछि हामीहरू आमनेसामने बसेर सँगै खाना खाने छौँ । ऊ मैले पकाएका परिकारहरूको मुक्तकण्ठले प्रशंसा गर्नेछ । यही सोचेर मैले आफ्नै हातले उसलाई मनपर्ने परिकारहरू बनाएँ । ममा आशा जाग्यो कि उसले मलाई आज ऐनाअगाडि उभ्याएर मुक्तकण्ठले मेरो रूपको प्रशंसा गर्नेछ । यही मधुर स्मृतिको जादूले तानिएर मैले धेरै दिनपछि ड्रेसिङ् टेबलको अगाडि आफूले आफैँलाई नियालेर हेरेँ । मैले दिनभर मेकअपले आफूलाई सिँगारेर सकभर राम्री बनाउने प्रयास गरेँ । हो, म साँच्चि सुन्दरी देखिएकी थिएँ । आफँैले आफैँलाई हेरेर मख्ख परेँ म । मेरो रूपबाट मोहित भएर भए पनि मेरो लोग्नेको मौनव्रत तोडिनेछ आज । यस अनुभूतिले कताकता रोमाञ्चित बनायो मलाई । आफूभित्र उर्लेको रोमाञ्चको लहरलाई फैलाउँदै म कल्पना गर्न थालेँ कि सायद आज हामी दुवै भोका गिद्धहरूझैँ एकअर्कामाथि झम्टिनेछौँ । हामी दुवैको काँचो मासु एकअर्काको तातोले फत्फत् गल्दै पग्लिनेछ र हामीहरू दुवै एकअर्कामा घुलनशील हुँदै सम्पूर्ण ओछ्यानलाई निथ्रुक भिजाउनेछौँ । यस अनुभूतिले मेरो सम्पूर्ण जीउ पसिनै पसिना भयो । मेरा ओठहरू काँपेका थिएँ । मेरो अनुहारको रङ परिवर्तन भएर म लालीगुराँस भएकी थिएँ । म यस कुराले आश्चर्यचकित भएकी थिएँ कि यस अधवैँसे उमेरमा पनि मेरो मन आफूलाई भर्खरकी तरुनी ठानिरहेको थियो, जसको हृदयको अन्तरकुन्तरमा जीवनका मीठा सपनाहरूका असङ्ख्य शृङ्खलाहरू हुने गर्दछन् ।

साँझ पर्‍यो …। रात ढल्यो …। ऊ बल्लतल्ल घरको सँघारमा देखापर्‍यो । म आफ्नो कोठाभित्र नै बसेर उसको प्रतीक्षा गरिरहेकी थिएँ, यो सोच्दै कि ऊ कछुवाको चालमा विस्तारै मछेउ आउनेछ र पछाडिबाट मलाई ग्वाम्म अँगालो हालेर आफू मेरो लोग्ने भएको र म उसकी स्वास्नी भएको अनुभूति दिनेछ । तर, मेरो अनुमान र आशाविपरीत ऊ बतासको झोँकाझैँ हुर्रिदै कोठाभित्र प्रवेश गर्‍यो र मतिर हेर्दै नहेरी डबल बेडको पलङमाथि काठको मूढोझैँ डङ्ङ पल्टियो ।

आहा ! मेरा सपनाहरू हिजोअस्तिझैँ आज पनि स्खलित भए । उसले मेरो अनुहारमा एकपटक पनि हेरेन । उसको विमुखताले मलाई आफ्नै अनुहार कुरूप लाग्यो । मैले एकै झट्कामा हातको पन्जाले आफ्नो अनुहार कोपरेकी थिएँ । मेरो शरीरले थुनेर राखेको संवेगको बाँध पलभरमै भत्केको थियो । मलाई के गरूँ, के नगरूँ भयो । एक मनले ठान्यो अहिले नै यो घर छोडेर निस्कूँ । आफ्नै कोठाभित्र एउटी स्त्री लोग्नेबाट परित्यक्त बन्न थालेपछि उसको आफ्नो घर नै कहाँ बाँकी रहन्छ र ! मलाई आफ्नै कोठाका भित्ताहरूले गिज्याउन थाले । मेरो निरीह अवस्थामाथि व्यङ्ग्य गर्दै डबल बेडको पलङ अट्टहास गर्न थाल्यो । यो शय्या त्यही थियो, जहाँ मैले पहिलोपटक आफू पूर्ण स्त्री भएको अनुभव गरेकी थिएँ । मेरा लागि मेरो लोग्नेभन्दा दोस्रो पि्रय वस्तु रहेको थियो यो पलङ, जहाँ म आफ्नो जीवनको बढीभन्दा बढी समय व्यतीत गर्ने गर्दथेँ । मेरा इच्छाहरू, आकाङ्क्षाहरू, सपनाहरू, मेरा खुसी र रहरहरू यही पलङको आयतनमा फैलिएका थिए । यो पलङ मेरा लागि प्रायः खुसी लिएर आउँथ्यो । यो डबल बेडको पलङ मेरा लागि ब्याट्रीचार्ज गर्ने चार्जरझैँ थियो, जुन हामी जोईपोइलाई कहिल्यै डिस्चार्ज हुन दिँदैनथ्यो । जब हामी दुई चार्ज हुन्थ्यौँ, हाम्रो शरीरमा नयाँ करेन्टका तरङ्गहरू लहरिन्थे र हामी आनन्दको मादकताले आह्लादित हुन्थ्यौँ । यो छफिटे पलङले हामीलाई यति खुसी दिन्थ्यो कि पलङबाहिर पनि हाम्रो खुसी रित्तिँदैनथ्यो । पलङभित्रको आनन्द चारैतिर छताछुल्ल भएर पोखिन्थ्यो र हामी लोग्नेस्व्ाास्नी आनन्दको सरोवरमा हेलिँदै जीवनको समग्र उमङ्ग र उल्लास भेट्टाउथ्यौँ ।

भुइँखाटमा सुतेको सुत्यै म कोल्टो फर्किएँ । मैले अर्धमुदित आँखाले उदासभावमा डबल बेडको शय्यालाई हेरँे, जुन शय्या मेरा लागि आजकल बिरानो बनेको थियो । मेरो लोग्नेलाई अङ्कमाल गरेर मेरो शय्या मस्त निदाइरहेको थियो । मैले लाख कोसिस गर्दा पनि आफ्नै पलङमाथि उक्लिन सकिरहेकी थिइनँ । मलाई आफैँ अचम्म लागिरहेको थियो कि जुन पलङमाथि एकछिन बस्न पनि म सदा लालायित रहन्थेँ, आज पलङमाथि पसि्ररहेको लोग्नेको जिउँदोजाग्दो शरीर देखेर पनि म रोमाञ्चित हुन सकिरहेकी थिइनँ । लोग्नेेको संवेदनाहीन मूढोजस्तो शरीरले मलाई विरक्त बनाइरहेको थियो । बितेका सात दिनमा मानौँ हामीभित्रको चुम्बकीय शक्ति क्षीण भइरहेको थियो । दिनदिनै हामी एकअर्काबाट विकषिर्त भइरहेका थियौँ । यही विकर्षणले नै मलाई मेरो हक लाग्ने गद्दादार शय्याबाट भुइँखाटमा हुत्याएको थियो ।

अचानक मैले आभास गरेँ कि पलङमाथिको मूढोमा केही हलचल भएको थियो । मेरो लोग्ने त्यस बडेमानको पलङमाथि एक्लै सुतेको कत्ति पनि सुहाएको थिएन । ऊ कहिले दायाँ र कहिले बायाँ कोल्टो फेर्दै निदाउने असफल प्रयास गरिरहेको थियो । सायद ऊ सोचिरहेको थियो कि म भुइँखाटमा मस्तसँग निदाइरहेकी छु, उसको कुनै पर्वाह नै नगरेर । यही सोचले सम्भवतः ऊ झन् तनावग्रस्त बनेको थियो । उसको यस अवस्थाको भेउ पाएर मलाई खुलेर आफू उसप्रति बेपर्वाह भएको देखाउन मन लाग्यो । म उत्तानो पल्टिएँ । मैले आफ्ना खुट्टाहरू दुईतिर फाडेर दुई हातका पन्जा पनि उत्तानो राखेँ । अहिले मेरो सासको गति बढेको थियो । र, सासको चालसँगै मेरा दुई स्तनहरू पनि चलायमान भएका थिएँ । नाकबाट निस्केको सासको न्यानो स्पर्शले अनायास मेरो शरीरको तापक्रम बढाइरहेको थियो । अचानक ऊ जर्‍याकजुरुक उठ्यो र पलङमाथि टुक्रुक्क बस्यो । केहीबेरको मौनतापछि ऊ उठ्यो र बाथरुमभित्र पसेर ढ्याम्म ढोका लगायो । ऊ बाथरुमभित्र छिरेपछि मैले सन्तोषको लामो सास तानेँ । मानाँै अघि मेरो कोठाभित्र छिरेको बतासको झोँका बल्ल कोठाबाट बाहिरिएको छ । मेरो शरीरमा स्फूर्ति पलायो । मैले अरठ्ठ परेका आफ्ना हातखुट्टाहरू खुम्च्याएँ, तन्काएँ र सजिलो गरी घोप्टो परेर सुतेँ । उसले बाथरुमभित्र के गर्‍यो मलाई थाहा भएन तर उसले फ्लस गरेको र पानीले छ्याप-छ्याप गरेको आवाज भने मेरो कानमा परेको थियो । ऊ बाथरुमबाट बाहिर आयो । मैले महसुस गरेँ कि उसले उभिएको उभियै पछाडिबाट भुइँखाटमाथि घोप्टिएको मेरो शरीरलाई घुरेर हेर्‍यो । उसले एकटक लगाएर हेरिरह्यो होला मेरा गोरा पिँडौलाहरू, मेरो फराकिलो नितम्ब, मेरो माँसल पिठ्यूँ, उसले चुम्ने गरेको दाहिने गाला र उसले लुछ्ने गरेको एउटा कान । मेरो अर्धदेहयष्टि देखेर उसमा के प्रतिक्रिया भयो म यसै भन्न सक्दिनँ तर म के अनुमान गर्न सक्छु भने म यसरी मनमौजी सुतेको देखेर उसलाई पक्कै पनि ईष्र्या लाग्यो होला र आफू यसरी किन सुत्न सकिनँ भन्ने सन्तापले ऊ पिरोलियो होला । मैले अनुभव गरेँ उसले आफूलाई फेरि पलङमाथि गिराएको छ । ऊ पलङमाथि तनावग्रस्त भएर उत्तानो पसि्रयो, म भुइँखाटमा मनोग्रस्त भएर घोप्टिएँ । हामीहरू एउटै पलङमाथि भएको भए सायद म उत्तानो परेकी हुन्थे र ऊ ममाथि घोप्टिएको हुन्थ्यो होला । उत्तानो पर्ने र घोप्टिने क्रियाहरू पनि सधैँ एउटै अवस्थामा लागू हुँदा रहेनछन् ।

भुइँखाटमा घोप्टो परेको पर्‍यै मैले स्मरण गरेँ आफ्नो विवाहपछिका थुप्रै दिन र रातहरू ! हामीहरू दिउँसै रात पाथ्र्याैं भने रातलाई झन् तन्काएर झिसमिसेको उत्कर्षसम्म्ा ल्याई पुर्‍याउँथ्यौँ । मेरा आँखामा लोग्नेको अनुहार नाच्यो, कति हिस्सी परेको छ ऊ, मलाई लाग्यो कि उसको अनुहारलाई हत्केलाको बीचमा राखेर सधैँ चुमिरहूँ । उसको मायालु अनुहार र अबोध आँखाहरू सम्झेर मेरो जीउमा एकाएक स्फूर्ति पलाएर आयो । मैले मीठो कल्पना गरेँ कि म हरियो दुबोको चौर हुँ र ऊ मदमस्त साँढेकोे रूपमा शरीर थर्काउँदै, जुरो हल्लाउँदै, पुच्छर बटार्दै र खुट्टा बजार्दै चरचर चौरको दुबो चरिरहेछ । हरियो दुबोका मुन्टा चपाएर ऊ तृप्त भइरहेछ र म आफू रित्तिएर पनि नयाँ पालुवा बनेर टुसाइरहेकी छु । मलाई तन्द्रामा नै यस्तो आभास भयो कि मेरो लोग्ने पनि त्यही सोचिरहेछ, जुन म अहिले सोचिरहेकी छु । मौन भाषामा ऊ मलाई आफूतिर आउने आमन्त्रण गरिरहेको छ । मेरो शरीरको स्वच्छन्द अवस्था र सुताइको चेष्टा देखेर उसले किन बुझ्न सकेन कि म पनि त उसलाई खुला हृदयले आफूतिर आउने निमन्त्रणा दिइरहेकी छु । ऊ एकपटक मात्र मछेउ आएर मलाई स्पर्श गरेर मात्र हेरोस्, त्यतिबेला उसले थाहा पाउनेछ कि उसको स्पर्शका लागि म कति आकुल र व्याकुल बनिरहेकी छु । म पलभरमै पानीमा सोडियम घोलिएझैँ उभित्र लुप्त हुनेछु । उसभित्र लुप्त हुने लालसाले मात्र पनि मेरा अङ्गप्रत्यङ्गहरू आरनमा हालेको फलामझैँ रापिन थाले । मलाई महसुुस भयो कि मेरा रक्तनसाहरूमा तातो रगतको बाढी उर्लेको छ । मेरो फोक्सो फुलिरहेछ र बढेको सास थाम्न मलाई मुस्किल परिरहेछ । अँध्यारोमा नै म भुइँखाटबाट जुरुक्क उठेँ । मेरा खुट्टाहरू स्वचालित रूपमा मेरो लोग्ने सुतिरहेको पलङतिर बढे । तर, अचानक बीचैमा म जोडले कसैसँग ठोक्किएँ र हामी दुवै जना भुइँखाटमाथि डङ्ग्रङ्ङ पछारियौँ । म यो कुरा थाहा पाएर आश्चर्यचकित भएँ कि म ठोक्किएको वस्तु अरू कोही नभएर मेरो आफ्नै लोग्ने थियो र सायद ऊ पनि अँध्योरामा नै छामछुम गर्दै भुइँखाटतिर बढिरहेको थियो । धेरै दिनपछि यति नजिकबाट उसको पुरुष गन्ध सँुघ्न पाएर म निस्सासिन थालेकी थिएँ । म सुतेको भुइँखाट अब भुइँखाटमा सीमित थिएन । हामी लोग्नेस्वास्नीको सशरीर उपस्थितिमा तीनफिटे भुइँखाट छफिटे डबल बेडको पलङभन्दा पनि लामो, चौडा, मुलायम र आनन्ददायक बनेको थियो । एक सप्ताहपश्चात् त्यो सानो भुइँखाटमा हामी जोईपोइ यसरी मच्चियौँ कि मानौँ भर्खर मात्र हामीहरू विवाहको पहिलो रात मनाइरहेका थियौँ ।

नेपाल साप्ताहिक
अंक १३८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *