अङ्ग्रेजीमा लेख्ने थोरै नेपाली लेखकको सूचीमा थपिएकी छन्― ऋचा भट्टराई। अरूका कृति समीक्षा गर्दै आएकी युवा साहित्यकार ऋचाको फिप्टिन एण्ड थ्री क्वार्टर्स कथा-सङ्ग्रह प्रकाशित भएको छ। १६ कथा सङ्ग्रहित पहिलो कृतिको शीर्षकलाई उनले कथा लेख्न शुरु गरेको आफ्नै उमेरसँग जोडेर जुराएकी छन्।
युवावस्थामा हरेक व्यक्तिले देख्ने रङ्गीन सपना ऋचाका कथाका विषयवस्तु हुन्। एपल म्याङ्गो इन राप्सबेरी, हर्ट अफ रेड, डेथ एण्ड बिफोर, इफ वन्ली यु निउ जस्ता कथामा यस्तै रोचक सपनाको वर्णन छ। कतिपय कथाले युवावस्थाको आकर्षण र प्रेमलाई जीवनको यथार्थसँग जोडेका छन्। कथाकारले कतिपय सा-साना कुरालाई पनि सुन्दर कथाको विषयवस्तु बनाएकी छन्। युवा मनका रोमान्स, त्रास र सम्बन्धप्रतिको उत्सुकतालाई मज्जैसँग खिच्न सफल ऋचाको कलम अङ्ग्रेजी भए पनि अनुभूति र विषयवस्तु शतप्रतिशत नेपाली छन्।
कक्षा ११ मा पढ्दै एउटा राष्ट्रिय अङ्ग्रेजी दैनिकमा पहिलो लेख छापिएपछि लेखनलाई निरन्तरता दिएकी ऋचा पत्रिकाको स्तम्भकार नै बनिन्। स्तम्भलेखनबाट पत्रकारितामा प्रवेश गरेकी ऋचाको पहिलो कथा सङ्ग्रहले आशावादी साहित्यिक भविष्यको सङ्केत पनि गरेको छ।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
