कृष्णप्रसाद सिग्द्यालले राष्ट्रिय समाचार समितिमा काम गर्दाको अनुभव समेटेर एउटा पत्रकारको कानुनी दैनिकी प्रकाशित गरेका छन्। पत्रकारिताकै जस्तो समसामयिक लेखन शैली पछ्याइएको किताबको शीर्षकबाट यो पत्रकारिता र कानुनका विषयमा केन्द्रित होला भनेर अनुमान लगाउन सकिँदैन। २०३० को दशकमा सञ्चारकर्मीले भोग्नुपरेका समस्या, तत्कालीन राजनीतिक घटनाक्रम, न्यायालयको वास्तविकता र भ्रष्टाचारमा केन्द्रित पुस्तकमा भ्रष्टाचार निवारण कसरी गर्ने र राजनीतिक पूर्वाग्रह साँध्न भ्रष्टाचारको मुद्दालाई कसरी हतियार बनाइन्छ भन्ने यथार्थ चित्रण गरिएको छ।
पञ्चायतकालीन अख्तियार दुरुपयोग निवारण आयोगले ८ माघ २०३५ मा शुरु गरेको गलैंचा अधिक विजकीकरण घटनालाई लेखकले जनमत सङ्ग्रह घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थितिको पूर्व आकलन गरेर त्यस्तो सम्भावनालाई अन्तैतिर मोड्न तत्कालीन दरबारबाट सुनियोजित रूपमा उचालिएको प्रकरण भनेका छन्। उक्त समाचार सङ्कलन गर्ने पत्रकारको रूपमा लेखक आफैं अप्ठ्यारोमा परेको कुरा पुस्तकमा उल्लेख छ। यस्तो स्थितिबाट छुटकारा पाउन अख्तियारका सचिवलाई आफूले अप्रत्यक्ष धम्की समेत दिनु परेको रोचक प्रसङ्ग लेखकले कोट्याएका छन्। परिस्थितिको आकलन गरी अपनाएको निरोधका उपाय, शुद्ध कर्म र नियतिको चाहनाले आफूलाई गिरफ्तारीबाट बचाएको लेखकको निष्कर्ष छ।
१७ कात्तिक २०३६ मा काठमाडौंको टुँडिखेलमा भाषण गरेपछि डा. केआई सिंह पक्राउ परेको घटना, २०३० मङ्सिरमा तत्कालीन खाद्य कृषि सचिव सुरेन्द्रराज शर्मामाथिको मुद्दा र विशेष प्रहरी प्रभागका प्रमुख मनमोहनलाल सिंहमाथिको मुद्दालाई लेखकले नजिकबाट नियालेका छन्। यी घटनामार्फत एउटा पत्रकार तथा कानुन व्यवसायी, प्रशासक र राजनीतिकर्मीबीचको सम्बन्धका सजिला र अप्ठ्यारा पक्ष खोतल्ने प्रयास गरेका सिग्द्यालले पत्रकारिता गर्दागर्दै आफैँ कानुन व्यवसायी बन्न मन लागेको कुरा पनि लेखेका छन्।
हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६
