नेपाली पद्य साहित्यको उन्नयन तथा विकासको प्र्रश्नबारे यो भन्न सकिन्छ कि पृथ्वीनारायण शाहको समय अर्थात् विक्रमीय १७ औँ शताब्दीमै नेपाली काव्य साहित्यको पूर्णरूपमा विकास भैसकेको थियो । यस अघिका रचना प्रायः सानातिना हुन्थ्यो र यसको कारक तìवमा नेपालको त्यतिबेलाको समाजमा व्याप्त अराजकता, असमानता र अशान्तिलाई इङ्गित गर्ने गरिएको पाइन्थ्यो । तत्कालीन नेपाल स-साना राज्यहरूमा विभक्त थियो । पूर्वी नेपाल राई, लिम्बू, चेपाङ्ग, मेचे, तामाङ्ग, नेवार इत्यादि जातिको थलो र बाहुल्य भएको भू-भाग थियो भने पश्चिम नेपालमा मगर, गुरुङ, सुनवार, दनुवार इत्यादि जातिको प्रधानता थियो । पश्चिम नेपालमा बाइसे तथा चौबिसे राज्यहरू अवस्थित थिए भने पूर्वी नेपालमा किराँत, राजवंशीहरूको स-साना राज्यहरू विद्यमान थिए । मध्यनेपालस्थित काठमाडौँ उपत्यकामा तीन विभिन्न-कान्तिपुर, ललितपुर र भक्तपुर राज्यहरूको चकचकी थियो । यी राज्यका राजखलक मल्लवंशीय राजाहरू थिए । मकवानपुर सेन राजा अधिनस्थ राज्यहरूमा अग्रणी थियो ।
त्यतिबेलाका राजाहरूको अधिकांश समय लडाइँ-भिडाइँ अर्थात् आफ्नो शूरता-वीरता देखाउनमा व्यतीत हुन्थ्यो । आफ्नो शौर्यशक्तिद्वारा अरू राज्यलाई आफ्नो अधीनमा राखी त्यस राज्यमाथि शासन गर्नु उनीहरूको प्रमुख उद्देश्य हुन्थ्यो । परस्पर विरोधी धर्म-संस्कृति, आचार-विचार, भाषा-सङ्गति इत्यादिको सीमित घेराभित्र रहेर पनि उनीहरू आफूलाई गौरवशाली ठान्दथे । राजाहरूको यस्तो मिथ्या दर्प र घमण्डी चरित्रबाट जनसाधारण असन्तुष्ट थिए । यसमाथि निमुखा जनता बढी शोषित र पीडित हुन्थे । जनताको यस्तो असन्तुष्टि र क्षोभ बिस्तारै-बिस्तारै आक्रोश र विरोधमा परिवर्तन हुन लाग्यो । विरोधको तीव्र लहरले समाज र जन-जीवनमा अकर्मण्यता र बिदु्रपताको सञ्चार गर्यो । यस प्रकारको विदु्रपता र विषमताले आच्छादित नेपाली समाजमा पृथ्वीनारायण शाहको उदयले तिमीराच्छन्न जनमानसमा आशाको किरण फैलियो । पृथ्वीनारायणले नेपाली जनताबीच रहेर सम्पूर्ण नेपाललाई एक सूत्रमा बाँध्ने अठोट गरे । यसै उपक्रममा नेपाली जनताको आशा र अपेक्षा ध्यानमा राख्दै, नेपाल र नेपाली एकीकरणको अभियान सुरू गरे । उनको यो दूरदर्शी अठोट नेपालको इतिहासमा एक अविस्मरणीय घटनाको रूपमा अङ्कित छ ।
पृथ्वीनारायण शाहको यस अभूतपूर्व कार्यबाट नेपाली जनतामा हर्षोल्लास र उमङ्गको तरङ्ग सिर्जना गर्यो । नेपाली समाजमा परिदृशित यस प्रकारको हर्षोल्लासपूर्ण वैभवगाथाको प्रभाव समकालीन समाजमा मात्र होइन, त्यसको प्रभाव नेपाली साहित्यमा पनि दृष्टिगोचर हुन थाल्यो । कविहरूले आ-आफ्नो कलमलाई भावनाको मसीमा चोपेर वीरकाव्यका साथै अन्य रसयुक्त काव्यको समेत रचना गरे । त्यतिबेलाका कवि नेपाली हीन व्याकरणी विद्यापतिको कलम पनि अप्रभावित भएर रहन सकेन । कवि विद्यापतिले यस घटनाक्रमलाई राधा-कृष्णको नेपथ्यमा शृङ्गारपरक काव्यको रचना गरे । शृङ्गारिक छन्दहरूमा परिवेष्टित उनको यस काव्य सरिताले काव्यरचनाको रूपग्रहण गर्यो ।
धेरैले विद्यापतिलाई मैथिल कोकील विद्यापति मान्दछन् । नेपाली कवि हीन व्याकरणी विद्यापति गिरिराज हिमालय र नेपाली बसुन्धराका सुपुत्र हुन् । यिनीले विख्यात् कवि जयदेवको ‘गीतगोविन्द’को नेपाली भाषामा अनुवाद गरेका थिए । आफू व्याकरणको राम्रो ज्ञाता नभएको र व्याकरणिक शुद्धाशुद्धिमा उति पोख्त पनि नभएको हुनाले उनले आफ्नो नामको साथमा ‘हीन व्याकरणी’ प्रयुक्त गरेका हुनसक्छन् । यिनी नेपाली भाषाको अतिरिक्त संस्कृत र ब्रजभाषाको पनि ज्ञाता थिए । ‘गीतगोविन्द’ को निम्न पङ्क्तिबाट यो प्रष्ट हुन्छ ः-
श्री गणपति राधाकृष्णजीको करिकै बारबार प्रणाम शरण
बिनु वैयाकरण विद्यापति कठिन काव्य गीत गोविन्द भाषाकरण ।
ध्वन्यात्मक दृष्टिले नेपाली कवि विद्यापतिको भाषा सरल र गीतिपरक छ । त्यसैले होला पाठकको हृदयलाई यसले सोझै छुन्छ । जस्तै –
गोरो वर्ण नीलो पिछौरा बड्याकी
षचिद् रत्न सुन्का भूषणले जड्याकी
प्रिये पावमा छन् तपनि यी बस्याकी
सभैमा उची राम्म्ररी रागनामा
–४) सात राग योवन्मता कामशर्ले विहोसै भयाकी ती
पक्रन प्रियका पाउ लाजै नमान्या की
एकांत लताकुंजमा खसम्लाई पुत्याउँदी फेर
नायिकाभिसारिका भन्छिन् बहुतै बेर
–१) पाँच नायिका
विहरीजनको दुःख कारणै यो वसन्त
यमसरूपी चेष्टा मदन्भित्र भयाकी
युवतिजनको चित्त हेर्दो कामका गण सेनाली
फेरीफेरी नयन आउँछ कति लाजै नमानी
–४) गीतवाणी ः उपर्युक्त पङ्क्तिहरूबाट विद्यापतिले नेपाली भाषा कुन स्वरूपमा ग्रहण गरेका थिए भन्ने बुझिन्छ । समालोचक बालकृष्ण पोखरेलले कवि हीन व्याकरणी विद्यापतिलाई गीतिछन्दको प्रथम प्रभोक्ता एवं परिचायक भनेका छन् । कवि हीनव्याकरणी विद्यापतिका तीन रचनाहरू -१) सात राग
-२) पाँच नायिका तथा
-३) गीतवाणीमा प्रयोग भएको गीतिछन्दबाट यो उद्घोषणाको पुष्टि हुन्छ ।
नेपाली भाषाको अभिवृद्धिमा हीन व्याकरणी विद्यापतिको सह्रानीय योगदान रहेको छ । कवि विद्यापतिले आत्मप्रसारको उद्देश्यले कहिले पनि आफ्नो कलम चलाएनन् । उनको यो विशेषता सुरूदेखि नै कायम रहृयो । यही सद्उद्देश्यको कारण नै होला यिनी ओझलमा परे । डा. सूर्यनाथ गोपले आफ्नो पुस्तकमा कवि हीन व्याकरणीको समयावधि १८६३-१९१२ भनेका छन् तर ठोसरूपमा यिनको जन्म/मरणको तिथिमिति प्राप्त नभए तापनि यिनी पृथ्वीनारायण शाहका युगका समकालीन कवि थिए भन्ने चाँहि प्रष्ट बोध हुन्छ । यिनले महाकवि जयदेवको ‘गीत गोविन्द’ को नेपाली भाषामा अनुवाद संवत् १८८८ मा गरेको देखिन्छ र यसको आधारमा कवि हीन व्याकरणीको जन्म विक्रम संवत् १८५० ताक भएको हुनुपर्ने अनुमान हुन्छ ।
मधुपर्क २०६८ पुस
