Skip to content

दीप्सको ‘आगो’को लप्कासँग खेल्ने आँट

  • by


निक्कै पहिलादेखि नै साहित्य र सृजनामा लगनशील दीप्स शाहलाई कविता यात्रामा सिद्धहस्त नै मान्न सकिन्छ । नेपाल छँदादेखि नै पत्रकारितामा समर्पित दीप्सका संग्रहहरू मध्ये “आगो” कविता संग्रह दोश्रो हो ।”प्रसून” साहित्यिक सँगालो पछीको यो “आगो” संग्रह अहिले टाढै भए पनि कोशेली स्वरूप मेरो हातमा आएको छ । उसो त दीप्सले समय समयमा उनका कविताको स्वाद मेरो फेसबुकको आँगनमा नछरेकी होइनन् र मैले पनि उनका कविताहरूबाट आँत भरुन्जेल तिर्खा नमेटेकी भने होइन । म त्यही समयदेखि नै दीप्सका शब्दरुपी भावको अनुरागी बनिसकेकी थिएँ ।

मलाई उनको लेखकीय कला मन पर्छ । हुन त मैले मन पराउनुको अर्थ दीप्सको रचना सबै उत्कृष्ट नै हुन्छ भन्ने पनि होइन । सबैका बुझाई, हेराई र महसुश गराई भिन्ना भिन्नै हुन्छन् तर मेरो बुझाईमा भने उनका औसत कविताहरूले मलाई त्रिप्त पारेकै छन् । यो संग्रहमा पनि उनका हरेक कविताहरूले यथार्थता ओकलेको छ । यहाँ सबै कविताहरूको चित्रण गर्न त सकिन्न । तर केही मेरो मनलाई छोएका कविताहरूको म आफूले बुझे सम्म भावर्थ खोल्न चाहन्छु ।

दीप्सको अति चर्चा गर्नै पर्ने कविता मध्ये एक कविता हो “आगो” । हुन त यो कविता मैले रोजी हालेँ यसको बारेमा केही बोल्नलाई । तर मलाई नै हिम्मत छैन कि यो कविताको म कसरी ढोका उघारौं ? मेरो अर्थ यो हो कि उनको यो कविताका शब्दहरू क्लिष्ट नभएर सरल शब्दमा नै छन् तथापि कविताभाव नै गहन छन् जस्लाई मैले बुझेर पनि बुझ्न सकिरहेकी छैन र नबुझेर पनि यसको बिषयमा केही भन्न आतुर छु । कवयित्रीले आगोलाई यसरी अर्थ्याएकी छिन् कि आगो साँच्चै बिध्वँस हो जसले क्षणभरमा नै सबै ध्वस्त गर्छ त्यसैले उनी आफूले नै आगोलाई निलेर अर्थात यसको अस्तित्वलाई पलायन गरेर आफ्नी आमाको बर्बादी बँचाउँन चाहन्छिन् वा आगोको बिनाशकारी बन्न चाहन्छिन् । उता फेरि कवयित्री आगोलाई अर्को रूपमा हेर्छिन् र भन्छिन् । “आगो” चेतना, सभ्यता, शक्ति आदि आदि । यसैले उनी फेरि आगोलाई सकारात्मकताको रूप दिँदै भन्छिन् । म आगोलाई ह्वाल्ह्वाल्ती ओकल्न चाहन्छु । जो चेतना हो, साहस हो, शक्ति हो । जस्लाई ओकलेर उनी समस्त जनलाई आगोको परिचय दिन चाहन्छिन् र भन्न चाहन्छिन् कि आगो झैँ सबै शक्तिशाली, साहसी र चेतनशील बनुन् । यही कविताको अन्तमा उनी निरश बन्दै भन्छिन् – यति हुँदा हुँदै पनि आगो सबैसँग अल्पपरिचित छ। आगोको आशयबाट सबै अनभिज्ञ छ । यसको परिचय बिना नै यस्लाई सबैले परिभाषित गरिरहेका छन् । त्यसैले उनी आमालाई बिन्ती गर्दै भन्छिन् अब आगो म नै निल्छु। उद्दार संहार जे हुन् ताकि भविष्यमा आगो के हो ?भन्ने सबै सन्ततिले चिनुन् अर्थात कवयित्री आगोलाई निडरसँग निलेर वा प्रयोग गरेर सारा सन्ततिलाई आगोको प्रत्यक्षदर्शी बनेर देखाउँन चाहन्छिन् । यसरी कवयित्रीले “आगो”जस्तो बिषयलाई यसरी दर्शाएकी छिन् । त्यस्तै उनका अर्का कविता “हामीलाई पूर्ण बिराम चाहिन्न”बाट केही अंश ।

“पुर्ख्यौली अंशको पाखो
बाजेले रोपेका बर-पिपल, चौतारी
कानको दुलोमा
स्थिरताको तेल भरेर
निष्काम कुम्भकर्णहरू सुतिरहन्छन्
तर म देख्दैछु
छेवैबाट
एक हुल कलम किसानहरू
डोकोभरि कवि फूलका बेर्ना बोकी
बृक्षारोपणमा निस्केका छन्
युगका गर्‍हा र पाटोहरूमा
कलम जोत्न ।”

हुन त यो कविताको बर्णनमा कलमकर्मीहरूको मात्र बर्णन नभएर अन्य व्यक्तिहरूको पनि बर्णन छन् । तर यी माथिका हरफहरूले नै पूर्णताको आभास दिएको छ । माथिका हरफहरूमा कवयित्रीले पुर्खाको सम्पत्तिमा राज गरेर अल्छे आँग तान्दै खान पल्केका सन्तानहरूलाई उपहास गर्दै व्यङ्ग्यबाण गरेर कलमकर्मीहरूलाई कलमी किसानहरूको पर्याय बनाएर साँच्चै कवि लेखकलाई मज्जाले हौस्याएकी छिन् । यसरी उनका कविताहरूमा मिठासपूर्ण भाव र अर्थपूर्ण शैलीहरू पाईन्छन् । अन्त्यमा दीप्सका कविताहरूसँग रुमल्लिँदा म उनका सबै कविताहरूमा निर्लिप्तसँग डुबेँ । मलाई यस्तो भान भयो कि उनले कविता रच्न खर्लप्प नेपाली शब्दकोश खाईनन् न त उनले कवितालाई अझ गहन देखाउँन क्लिष्ट शब्दहरूको नै प्रयोग गरेकी छिन् । यसैले उनका रचनाहरूमा सहजता, सरलता र असली चित्रण पाईन्छ । अब एउटी पाठक र चिर्फारकर्ताको हिसाबले दीप्सको कलमी यात्रालाई नियाँल्दा मलाई यस्तो भान भयो कि कवयित्रीको भावना अति नै कोमल र सरल छ तथापि उनी अरु लेखक झैं शोक र बिव्हलतामा डुबेर त्यति रोएकी छैनन्, आफ्ना कविताहरूमा । अर्थात उनले अरु प्रवासी लेखक मनहरूले झैं परदेशिनुको पीडा पर्याप्त मात्रामा पोखेकी छैनन् ।

सबै रचनामा उनले आफ्नो बर्गतले भ्याएसम्म आफ्नो शब्द, चयन सृजनालाई भरपुर कसी लगाएकी छिन् ता पनि उनका कविता लेखनको बिषयमा “देशप्रतिको” बिषय बस्तु अलिक कम नै पाइयो । यसको अर्थ यो होइन कि उनमा देशभक्ति भाव नै छैन भन्ने । मलाई भने सबै प्रवासी कलमहरूको संग्रहमा “देश पीडा” नै औसत जस्तो बाचन गर्ने बानी परेकोले दीप्सको यो संग्रहमा यो बिषय नपाउँदा अलिकति खल्लो महसुश भने भयो । शायद अब आउँने संग्रहको लागि पो दीप्सले साँचेकी हुन् कि ? हुन त उनको एउटा कविता “मैले माटो बेचिन”मा भने देशप्रेम झल्किएको आभास छ तर मेरो नजरले त्यो मात्र पर्याप्त पाएन र मैले यसै भनें। यो मेरो मात्र जिद्दी भने होइन । अन्त्यमा सम्पूर्ण पाठकहरूले पढ्नै पर्ने कलम हो दीप्स शाह । “आगो” जसले पाए उस्को मन पग्ल्यो । जसले पाउँन बाँकी छ उस्को पनि मन पग्लिनेछ । जसले पाउँने चेष्टा गर्नेछ “आगो” उस्को निम्ति न्यानोपनको आभास बनेर कविता मुस्लो बनेर छाउँनेछ ।

“आगो”लाई झनै मुस्लो बनाएर तेजिलो पार्ने जिम्मा अर्का बहुप्रतिभावान चित्रकार खगेन्द्र पन्धाक (चुम)ले आफ्नो कलाद्वारा पुस्तकका छातीभरि अर्थपूर्ण रंगहरू पोतेर अँझ उच्च कोटीमा पुर्‍याएका छन् । दीप्सलाई आत्मिक भावले र ओजपूर्ण प्रेरणाले थुम्थुमाएर फेसबुककै मित्रहरूले अझै प्रेरणा दिएको पनि उनले उजागर गरेकी छन् । यसैले “आगो” सबैको प्रेरणा र उमङको उपज हो भन्नमा अत्युक्ति हुन्न । यसलाई सबैले एकपटक प्रेरणाको “आगो” सम्झेर ताप्ने प्रयास गरेमा कठ्याङ्रिएको मनमा अवश्य पनि न्यानोपनको आभास मिल्ने नै छ ।

अन्त्यमा म कुनै समिक्षक नभएर एउटी पाठक र दिदीको नाताले भविष्यमा अझै यो यात्रामा उर्जा मिलोस् भन्ने हेतुले यति लेखिदिने हिम्मत गरें । यो कुनै समिक्षा नभएर हौशलाका शब्दहरू हुन् वा हुनेछ । अस्तु : ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *